मेयर नै फिल्डमा आउनुपर्ने हाम्रो नगरको नियति
समाचारमा आइरहन्छन्, कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फोहोरको कन्टेनरसंगै बन्चरे डाँडा पुगेको त कहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग खानेपानीको पाइप काँधमा बोकेर सर्दु खोलाको मुहानतिर पुगेको । मन्दिरै मन्दिरको शहरबाट कंक्रिटको शहर भनेर चिनिन थालेको काठमाडौँ केहि दिनदेखि फेरि तात्तिएको देखिन्छ। अहिले तात्तातो समाचार बनेको छ– मेयर बालेन शाहले डोजर लिएर राजधानी काठमाडौैं सहरको मुटुमा नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काएको ।
यसै प्रसंगमा काठमाडौं महानगर पालिकामा कार्यरत एकजना अधिकृतले मेयर बालेन शाहको अभियानको समर्थन गर्दै अष्ट्रेलियाको सिड्नीमा रहेका आफ्ना आफन्तलाई सोधेछन्, ‘के सिड्नीका मेयर पनि यसरी नै डोजर लिएर हिँड्नु पर्छ ?’ ती अधिकृतका आफन्तले जवाफमा भनेछन्, ‘यहाँ सबै कुरा सिष्टममा चल्छ । त्यसैले मेयर यसरी हिँड्नुपर्ने स्थिति नै हुँदैन ।’’
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लण्डनको मेयर हुँदा सहरको हालखबर बुझ्न बेलाबखत निस्कन्थे तर डोजर लिएर हैन साइकल लिएर । हाम्रो देशका मेयरहरुको नियति भने उही अढाई सय बर्ष अगाडी गोरखाका राजा पृथ्वीनारायण शाह लडाइँमा आफै तरबार बोकेर युद्धको मैदानमा भिडेको नियतिभन्दा भिन्न छैन । नीतिमा भन्दा पनि नेतामा निर्भर हुने हाम्रो देशको नियतिबाट त्यति सजिलै पार पाउने लक्षण पनि देखिदैन । अहिले काठमाडौंको यस्तो नीतिहिनताको स्थिति हुनुमा पनि यस अघिका नगरका नेतृत्व नेतामुखी हुनुको परिणति मानिन्छ ।
भनिन्छ, स्वतन्त्र हैसियतमा निर्वाचित भएकाले मेयर बालेन शाह र हर्क साम्पाङ्गले यतिसम्म हिम्मत गर्न सकेका हुन् । यदि कुनै पार्टीमा आबद्ध भएका भए, यो स्तरको हिम्मत गर्न सक्ने कुरामा शंका नै रहन्थ्यो । किनकि उ दलभित्र र दल बाहिरको दलदलमा राम्रैसंग परिसकेको हुन्छ ।
यस प्रसंगमा एउटा दृष्टान्त स्मरणमा आउँछ– २०५६ सालमा जब म जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत थिएँ । प्रहरी कार्यालय र जिल्ला विकास समितिसंगै जोडिएको थियो । जोडिएको कम्पाउण्डको पर्खालमा जिविसमा काम परेर आएका एकजना स्थानीयले खुल्ला ठाउँमा पिसाब गरेको देखेर मेरो आदेशमा प्रहरीले उनलाई समातेर प्रहरी कार्यालयमा ल्याएर राखेको थियो ।
एकैछिनमा तत्कालीन जिविस सभापतिको फोन आएको छ भनेर ड्युटी अफिसरले मलाई फोन दियो । मैले सोचेको थिए, आफ्नो सरकारी कम्पाउण्डमा अनैतिक रुपमा पिसाब फेर्नेलाई समातेकोमा प्रहरीलाई धन्यबाद दिनलाई होला । तर, फोन त उल्टो प्रहरीलाई थर्काउन पो रहेछ ।
तपाईं हाम्रै सरकारी कार्यालयको कम्पाउण्डमा पिसाब गर्ने धृष्टता गर्यो भन्दा त सभापतिले उल्टै भने, ‘अब सार्वजनिक शौचालय नभएपछि सरकारी कार्यालयको पर्खालमा पिसाब नगरेर कहाँ गरुन् त मेरा मान्छेहरुले ? कि त शौचालय बनाइदिनोस् ।’ अब यसको जवाफ कसरी दिने ? अनि स्थानीय सभापतिको मान्छेको लागि शौचालय कसले बनाइदिने ? प्रहरीले कि उनै सभापति सहितका स्थानीय जनप्रतिनिधिले ?
अहिले यस्तै प्रश्न राजधानी काठमाडौँमा देखिने छाँट छ l नक्सा पास गरे अनुसारको संरचना हुनुपर्छ भनेर भन्दा अनि सपिङ्ग कम्प्लेक्स बनाउँदा सुविधा लिए बमोजिम कबुल गरेअनुसार अन्डरग्राउण्ड पार्किङलाई पार्किङकै लागि प्रयोग नगरी, आफ्नो फाइदा मात्रै हेरेर जथाभावी अनेकथरि पसल राखेकोमा सो कुरा हटाउन खोज्दा साना व्यवसायीलाई मार पर्यो भन्दै ब्यवसायीहरुको छाता संगठनले अनेक बखेडा निकाल्ने सम्भावना देखिएको छ ।
सायद अब ब्यवसायीहरुले यसैलाई मुद्धा बनाएर बन्द आह्वान नगर्लान् भन्न सकिदैन । यस्तोमा ब्यवसायीहरुले सोच्ने पर्ने कुरा, सबै सिस्टममा चल्दा वा चलाउँदा कसलाई बढी फाइदा हुन्छ ? बिग्रिएको सिस्टम वा जवाफदेहिताहीन एवम् भद्रगोलको स्थितिबाट थोरै भएपनि ट्रयाकमा ल्याउन खोज्ने एउटा जनप्रतिनिधिलाई साथ दिनुपर्ने होइन र ?
अहिले मेयरको अभियानमा उपत्यका ट्राफिक प्रहरीको समेत साथ देखिएको छ । वास्तवमा काठमाडौंको ट्राफिक ब्यवस्थापनमा पार्किङको अभावले गर्दा ट्राफिक प्रहरीलाई ब्यापक चुनौती देखिएको छ । त्यसैले तत्कालीन सरकारले सपिङ्ग कम्प्लेक्स बनाउँदा अन्डर ग्राउण्ड पार्किङको नियम ल्याउँदै सो बापत घरधनीलाई सहुलियत समेतको ब्यवस्था गरेको थियो ।
सहुलियत लिने तर सो बमोजिम नगरेको देखिदा कोही न कोहीले केही न केही कदम चाल्नैपर्ने थियो । अब त्यो सरकारी कर्मचारीबाट सम्भावना कमै छ । जो सरकारको एउटै आदेशमा जहींको तहीं रोकिनुपर्ने नियतिबाट गुज्रिरहेको छ । त्यहि पनि उपत्यका ट्राफिक प्रहरी र यसका प्रमुख डिआइजी मिरा चौधरी आफै फिल्डमा उत्रिन हिम्मत गरेको अवस्था छ । यस अघि पनि यस्तै सडक मिचेर अर्थात् नक्सा पास गरेभन्दा विपरित बनाइएका संरचना भत्काउन लागि परेका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभियानमा तत्कालीन उपत्यका ट्राफिक प्रहरी प्रमुख गणेशराज राई दिलोज्यानले लागेका थिए ।
अहिले चर्चामा आएअनुसार अल्फा बिटा ग्रुपको भवनमा पुगेका मेयर बालेन शाह र त्यसका प्रतिनिधिबीच चर्काचर्की परेपछि जब मेयर फर्केर कार्यालय आइ नक्सा र डोजर लिएर फेरि उही ठाउँ पुगे । नक्सा देखेपछि झस्किएका सो अल्फा बिटाका प्रतिनिधिले तत्कालै एक्सन नलिइ केही समय माग्दा मेयरले पहिले नै ३५ दिन समय दिइसकेको भन्दै समय नदिइ तत्कालै डोजरले भत्काउन थाले ।
केही समयअघि यसरी नै नक्सा पासभन्दा मिचेर संरचना बनाएकोमा मेयर स्वयम् नर्भिक हस्पिटलमा पुगेर भत्काउन निर्देशन दिएका थिए । तर नर्भिक हस्पिटलले अवैध संरचना भत्काउन हैन, अदालतमा मुद्धा हाल्न त्यो दिइएको समय प्रयोग गरेबाट झस्किएर मेयर बालेन शाहले तुरुन्तै एक्सन लिएको हुनुपर्छ । नियम संगत सरकारी कारवाहीका विरुद्धमा पनि आफ्नो स्वार्थको लागि अदालतलाई प्रयोग गर्ने परिपाटीले गर्दा मेयर बालेन शाहले तत्काल एक्सन लिएको यो कदम सामयिक र साहसिक मान्नु पर्छ ।
तर मेयर बालेन शाहले ख्याल राख्नुपर्ने कुरा, महानगरपालिकाले यसअघि चालेका निम्न आय हुने गरिब ब्यवसायीहरुको फुटपाथ पसल हटाउने जस्ता कदम चाल्दा भने अलिक धैर्यता अनि सम्वेदनशीलता देखाउनु पर्ने पनि देखिन्छ ।
सानो नाङ्ले पसल, त्यसैको भरमा आफू र आफ्ना परिवारको जीविकोपार्जन गर्दै आएका साना ब्यवसायीहरुको व्यवसायमा हात हाल्दा भने नगरपालिका विवादमा परेको देखिन्छ । केही समय अघि फुटपाथमा बसेर हरियो मकै पोलेर बेच्दै गरेका गरिब ब्यापारीहरुको मकै नगर प्रहरीहरुले खोसेर उठाउँदै गरेका दुःखी ब्यापारीहरुको पीडा मार्मिक थियो। यसरी कुनै विकल्प बिना यस्ता ठाउँमा हात हाल्दा भने मेयर शाह र महानगरपालिकाले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
यस प्रसंगमा एउटा घटना स्मरण गर्न चाहन्छु । २०५५ सालमा जब म इलाका प्रहरी कार्यालय, बेलबारीको प्रमुख थिएँ । प्रहरी कार्यालयकै अगाडि बस स्टप थियो । सोही बस स्टपमा सुकुम्बासी महिलाहरुबाट लहरै घरेलु रक्सीका ड्रम ल्याई बसमा राखेर विराटनगर लगेर बेचिदो रहेछ ।
देख्दा पनि प्रहरीलाई लाज लाग्ने अवस्थामा पुर्याउने सो दृश्य हेर्न नसकेर मैले आफ्नो सइलाई सो काम रोक्न आदेश दिएँ । ती सइ सा’ब हच्किएको देखेर म आफै रक्सी नियन्त्रण गर्न तयार हुँदै गर्दा संगसंगै पछि पछि आएका सइ सा’बले मलाई अनुरोध गरे, ‘सर, म हजुरलाई एउटा घटना सुनाउछु अनि मात्रै हजुरले निर्णय गरेर रक्सी रोक्न जानु ठिक होला कि ?’
सइले सुनाउन थाले, ‘हजुरभन्दा अगाडिको इन्स्पेक्टर सा’बले पनि यसरी नै रक्सी रोक्न आफै जानु भो । उहाँले रक्सीको ड्रम बोकेर प्रहरी कार्यालय भित्र छिर्दै गर्दा एउटी सुकुम्बासी महिलाले उहाँको युनिफर्म समात्दै ‘ओइ इन्स्पेक्टर, मेरो परिवारको पेट पाल्ने बाटो त लगिस् । अब मलाई पनि लैजा’ भन्दै तानिछिन्, तब इन्स्पेक्टर सा’ब अक्क न बक्क हुनुभयो र त्यो रक्सी तिनै महिलालाई दिएर अफिस छिर्नु भयो l’ सइ सा’बको कुरा सुनेर मेरो पनि कदम अगाडी बढेन, म अफिस फर्किएँ ।
त्यसैले मेयर सा’ब, कुनै विकल्प नदेखेर आफू र आफ्ना परिवार बाँच्नका लागि सडकमा मकै पोल्दै गरेका वा नाङ्लोमा ससाना ब्यापार गर्दै गरेकाहरुलाई विकल्प नदिइकन जबर्जस्ती उठाउने काम गर्नु अगाडि आफै र आफ्ना नगर प्रहरीलाई दुइपटक सोच्न लगाउनु होला ।
आफूसँग भएको शक्तिको प्रयोग गर्नुअघि आफूलाई हात जोड्नेहरुको अवस्थाप्रति संवेदनशील हुनुहोला । तपाईंले सुन्नु भएकै होला, जब हामी विद्यार्थी नै थियौ, पञ्चायत कालको अन्ततिर अर्थात् २०४२–४३ सालतिर दक्षिण एशियाली सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुँदै थियो । त्यसबखत दरबारको इच्छामा सरकारले दरबार अगाडिका घरहरु भत्काएर सडक बिस्तार गर्ने काम गर्यो । बिना मुआब्जा भकाभक घरहरु भत्काउन थाल्दा जयनेपाल सिनेमा हल छेउमा घर भएका एक बृद्धा रुँदै कराउँदै भन्दै थिए, ‘बुढापाकाहरुले भन्थे राजाको अगाडि, घोडाको पछाडि नबस्नु भनेर, हो रहेछ,’ म त्यो दृश्य अझै पनि सम्झन्छु ।
त्यसैले तपाईंले अहिले प्रयोग गरेको साहस ठीक ठाउँमा परोस् । कुनै उपाय नभएर फुटपाथतिर मकै पोल्दै गरेका वा नाङ्ले व्यापारीमा भन्दा पनि यस्तै धेरै विकल्प हुँदाहुँदै अनेक उपाय लगाएर सरकार र सरकारी मापदण्ड लत्याउनेहरु माथि केन्द्रीत रहोस् !
तपाईं लगायतका मेयर या जनप्रतिनिधिहरुले ख्याल गर्नुपर्ने कुरा- कहिलेसम्म र कति ठाउँमा तपाईं आफै पुग्न सक्नु हुन्छ ? मलाई अझै पनि एउटा घटना याद आउँछ, जब म धरान प्रहरीको इन्चार्ज थिएँ, एकदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बोलचालको भाषामा घोपा क्याम्प अस्पताल) मा उपचारको क्रममा डाक्टरसँग विवाद भएपछि केही युवाहरुले अस्पतालमा तोडफोड गर्दै विवाद गरेको खबर आयो ।
लगत्तै केही युवाहरुलाई पक्राउ गरेर ल्याइयो । त्यसपछि प्रहरी कार्यालयमा नेताहरुको भीड हुन थाल्यो । ती युवाहरुलाई छुटाउन अनुरोध, दवाब, फोन दनादन आउन थाल्यो । जब मैले अस्पतालको सम्वेदनशीलता र सुरक्षाको कुरालाई लिएर ती युवाहरुलाई तत्काल छाड्न नसक्ने बताएँ, एकजना नेताले ठुलो स्वरमा प्रहरीलाई चुनौती दिएको सम्झन्छु ।
ती नेताले चुनौती दिएका थिए, ‘हेल्लो इन्स्पेक्टर सा’ब, तपाईंसँग कति वटा गाडी र फोन छ ? त्यही दुइटा फोन हैन ? हामीले ती दुबै फोन र प्रहरीको त्यही एउटा गाडी व्यस्त बनाइदियौ र अस्पतालमा जस्तै घटना गरायौँ भने के गर्नुहुन्छ ? कति ठाउँमा तपाईं अनि तपाईंको प्रहरी पुग्न सक्छ ?’
मेयर सा’ब, यस्ता कानुनको धज्जी उडाउनेहरुसँग यस्ता धेरै बाटो हुन सक्छ । उनीहरुले मलाई जस्तै तपाईंलाई यस्तै प्रश्नहरु सोध्न सक्छन् ।
तसर्थ, आफु पुग्न सक्ने ठाउँमा त तपाईं पुग्नु होला । तर, यस्ता कानुनको धज्जी उडाउने विशाल जमात भएको नगरका पिता यस्तैमा अलमलिनु पर्ने अवस्था रहिरह्यो भने तपाईंको कार्यावधि यसैमा सकिनेछ ।
त्यति मात्र हैन, सधैँ सधैँ तपाईंमा यो तदारुकता रही रहँदैन । एकदिन तपाईंलाई थकाउनेछ कि त तपाईं थाक्नु हुनेछ । तसर्थ अब तपाईं पुग्ने ठाउँमा प्रणाली पुर्याउनु होस्, अहिलेको आवश्यकता पनि यही हो । नेता कुद्ने कार्य क्षणिक हुन्छ । तर, नीति पुग्ने ठाउँ चीरस्थायी र दिगो हुन्छ । तसर्थ नीतिलाई सर्वत्र पुर्याउन सक्नुहोस् । शुभकामना छ मेयर बालेन शाह, तपाईंको कदम सही ठाउँमा परोस् अनि सफल होस् !
लेखक बेलायतस्थित सत्तारुढ पार्टीका सांसदका सल्लाहकार समूहमा आवद्ध छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पको धक्का
-
मदन भण्डारी राजमार्गको पश्चिम सुर्खेत खण्डमा विलम्ब
-
माझीदाइका गुनासा : दिनभरि काम गर्यो, फर्कँदा रित्तै !
-
कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?
-
आजको राशिफल : कुन राशिको लागि राम्रो ?
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !