शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गीतमा ‘जमुनीको छोरो’ को कथा सुनाउँदै ‘ऐना झ्यालको पुतली’

मङ्गलबार, १४ भदौ २०७९, १२ : २७
मङ्गलबार, १४ भदौ २०७९

भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’ को  बाल गीत ‘मेरो गाउँ ज्यामिरे’ सार्वजनिक भएको छ । गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । 

रामबाबु सुवेदीको शब्द रहेको गीतमा रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर छ ।

रामबाबु सुवेदीका अनुसार गीत उनले २०४० सालमा लेखेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) को रुपमा सार्वजनिक गरेको हो । रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।

‘मैले फिल्म पनि हेरेँ । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो राम्रो फिल्म बनेको रहेछ । मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनून् भनेर बनाएको हो । अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि । हाम्रो उद्देश्य पनि मिल्यो ।’

लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भएपनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए ।

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ । यो बाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । 

केही दिनअघि विश्व ज्योति मलमा भएको स्पेसल स्क्रिनमा फिल्म हेर्नेले फिल्मलाई असाध्यै राम्रो फिल्म बनेको प्रतिक्रिया दिएका थिए । आफ्नै बाल्यकाल दुरुस्त प्रस्तुत गरेको अधिकांशको सामूहिक प्रतिक्रिया थियो । 

फिल्ममा सिरु बिष्ट को अलवा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप