शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा के गर्दै छन् प्रकाण्ड ?

मङ्गलबार, १४ भदौ २०७९, ११ : २९
मङ्गलबार, १४ भदौ २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । 

गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्तालाई हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै विश्वकर्मा चिनियाँ कम्युनिस्ट पार्टीका नेतालाई भेट छेन्दु पुग्नुलाई अर्थपूर्ण रुपमा लिएको छ । 

आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव हुन लागेकोले वाम सहकार्यका निम्ती समेत पुगेको हुन सक्ने आकलन गरिएको छ । तर, पार्टी केन्द्रीय सदस्य चिरन पुनले प्रवक्ता चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएपनि कुन कुन विषयमा छलफल गर्ने भन्ने विषयमा जानकारी नभएको बताए ।

 ‘प्रवक्ता कमरेड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जानु भएको छ । उहाँ राजनीतिक भेटघाटमै हुनुहुन्छ’ पुनले भने, ‘उहाँ कहिले फर्किनुहुन्छ भन्ने विषयमा यकिन जानकारी छैन । मलाई लाग्छ छिट्टै फर्किनुहुन्छ होला ।’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता पूर्व सांसद र मन्त्री समेत भइसकेकाले वाम सहकार्यका विषयमा अर्थपूर्ण भेटघाट हुन सक्ने बताइएको छ । तर कतिपय माओवादी खेमाका नेताहरुले विप्लव नेतृत्वको नेकपा नेताहरुको चीनसँग सम्बन्ध राम्रो नभएकाले सम्बन्ध विस्तारका लागि मात्रै गएको हुन सक्ने आकलन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप