के हो तीजको इतिहास, के छ महत्त्व ?

person explore access_timeभदौ १४, २०७९ chat_bubble_outline0

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । 


यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । 



आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन्छ ।



त्यसै गरी तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । बर्सभरि जान अनजानमा भए गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दाँत र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ । 

उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए, आपसी आत्मीयता एवं सद्भाव बढ्ने धार्मिक विश्वास छ । 

तीज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो । नारीहरू त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायुको कामना गर्नु नै यस तीज पर्वको सन्देश मानिन्छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ  । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ । 

तीजको दिन घरको कामकाज चटक्कै छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यी तीजको सकारात्मक पक्ष हुन् । 

नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । विदेशमा रहेका नेपाली महिलाहरूले समेत यो चाड मनाउन थालेका छन् । 

तीजमा महिलाहरूले उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । यसरी हेर्दा हिन्दु धर्मले महिलालाई पुरुषको अन्धभक्त वा पुरुषभक्त बनाउन खोजेको देखिन्छ । त्यसैले प्रगतिशील तथा क्रान्तिकारी महिलाहरूले यसको विरोध पनि गर्दै आइरहेका छन् । 

बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो, तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । 

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे ।

विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई डम्फु, मादल, थपडी र मुर्चुङ्गामा नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । 

गाउँको त्यो मौलिक तीज

मलाई अहिले पनि सम्झना छ, हाम्रो हजुरआमाको पालामा कामको निकै चाप हुन्थ्यो । दिनमा कामले नभ्याएर रातीमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख दुःखका गीत गाएर नाच्नुहुन्थ्यो । हामी पनि गाउँगाउँमा खुबै हिँड्थ्यो । प्रत्येक गीतमा कथा हुन्थे, त्यसका अर्थ हुन्थे । केटाकेटी भएकोले हामीले राम्रोसँग बुझिँदैनथ्यो तर निकै रमाइलो लाग्थ्यो ।

आहा, हाम्रो गाउँको बेलडाँडा स्कुलमा तीजमा कति रमाइलो हुन्थ्यो । साथमा चर्खे पिङ्गको मजाको त के कुरा गरुँ । त्यसै गरी सिद्धेश्वरमा मोहरेको तोसायपोखरी, साउनेको साँझ पोखरा, देवलेको पोखरा, सोमादीको भवानी स्कुल, ख्याहाको जोगीथुम, गुल्मीको अगाहा बजारमा तीज र पञ्चमीको दिन दर्जन समूहमा प्रतियोगिता हुन्थ्यो । जसमा महिला अधिकार र महिला मुक्तिका गीत सुन्न पाइन्थे । पहिलो पुरस्कार कसले हात पार्ला भनेर निकै चासोका साथ हेरिन्थ्यो । 

प्रकृतिसँग तीजको सम्बन्ध

सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विकृति, विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौँ हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । हामी माता पार्वतीलाई नारी जातिको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौँ ।

हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृति तत्त्वसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्त्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । तात्त्विक रूपमा प्रकृति (धर्ती) र पुरुष –आत्मा) तत्त्वको मिलनको चाड हो यो । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्मा मानेका छन् । 

तीजमा पश्चिमेली शैली

पहिले चुल्हो चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले त टोल टोलमा समूह बनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनका कार्यक्रम गरिन्छ । यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । हिजोआज तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप मौलिकता हराउन थालेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । 

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आर्थिक भार बढिरहेको छ भने गरिबहरुलाई पर्व कसरी मनाउने भनेर चिन्ता पनि थपिदैछ । यो निकै नराम्रो पक्ष हो ।

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अहिले पनि यसको आस्था र महत्त्व उत्तिकै छ ।  त्यसैले यसलाई संरक्षण र सम्वर्द्धन गर्दै अगाडि बढ्नुपर्ने आजको पुस्ताको जिम्मेवारी र दायित्व हो ।

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।