आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

सोमबार, १३ भदौ २०७९, १७ : ०१
सोमबार, १३ भदौ २०७९

इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।  

३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए । 

मन्त्रालयले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सन् २०२० को सेप्टेम्बरमा नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सन् २०२१ मा एक हजार १४७ जना नेपाली कामदार इजरायल गइरहेका छन् । 

केयर गिभरका लागि गएका नेपालीहरूको कामबाट इजरायल र इजरायली कम्पनीहरू सन्तुष्ट छन् । सोही आधारमा कृषि क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया अगाडि बढेको हो ।     
मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले मन्त्रालय आन्तरिक छलफलमा लागेको बताए । ‘आज पनि हाम्रो आन्तरिक बैठक बसेको छ । यसका लागि आवश्यक पर्ने कार्यविधि बनाउँछौं,’ भुसालले भने, ‘आन्तरिक छलफलपछि दुई देशका अधिकारीबीच छलफल भएपछि निष्कर्षमा पुग्छौं ।’

इजरायलले कामदार लैजाने विषयमा नेपाललाई जानकारी गराइसकेको छ । आफ्नो स्पष्ट धारणासहित इजरायलले नेपाली अधिकारीहरूलाई जानकारी गराएका हुन् । सोही आधारमा मन्त्रालयले तयारी थालेको हो । 
मन्त्रालयले आवश्यक कार्यविधि बनाएपछि कामदार लैजाने प्रक्रिया वैदेशिक रोजगार विभागले गर्नेछ । विभागले नै कार्यविधिलाई टेकेर आवेदन आह्वान, कामदार छनौट लगायतका प्रक्रिया अगाडि बढाउने छ । छनौटमा परेका कामदार इजरायल जान पाउनेछन् । 

मन्त्रालयले सन् २०२० को सम्झौताकै आधारमा कृषि क्षेत्रमा लैजाने कामदारको प्रक्रिया अगाडि बढाएको हो । त्यो सम्झौतालाई नेपाल सरकार एकदमै विस्तृत सम्झौता मान्छ । सहायक प्रवक्ता डा. भुसाल भन्छन्, ‘सन् २०२० मा इजरायलसँग गरेको सम्झौता एकदम ब्रड एग्रिमेन्ट थियो । अन्य देशसँग गरेको एग्रिमेन्ट भन्दा राम्रो थियो । दुवै देशका सरकारलाई एकाण्टबिलिटि बनाएको छ ।’  
सोही सम्झौताको आधारमा अहिले कृषि क्षेत्रमा कामदार लैजान लागिएको उनको भनाइ छ । 

‘त्यो सम्झौतामा मापदण्डअनुसार अघि बढ्दै जाने भन्ने थियो । पहिलो कोठा हामीले केयर गिभरको लागि बनाएका थियौं,’ उनले भने, ‘दोस्रो कोठा कृषि क्षेत्रका लागि बनाएका छौं । आवश्यक परेको खण्डमा त्यो कोठा थप्दै जान मिल्छ ।’ 

सुरुमा गरेको एग्रिमेन्टको आधारमा डिमान्ड अनुसार अगाडि बढिरहेको उनको भनाइ छ । सोही एग्रिमेन्टलाई आधार मानेर नेपालले कृषि क्षेत्रमा कामदार लैजाने विषयमा गृहकार्य थालेको हो । कामदार कसरी लैजाने ? योग्यता के हुने ? छनोट प्रक्रिया के हुने ? लगायतका विषयमा मन्त्रालयले कार्यविधि बनाउनेछ । उक्त कार्यविधि बनाएपछि इजरायली पक्षसँग समेत छलफल गरेर अगाडि बढिने उनको भनाइ छ । 

इजरायलले कृषि क्षेत्रमा कामदार लगेपछि निर्माण क्षेत्रमा पनि लैजाने बताएको छ । अहिले कृषि क्षेत्रको प्रक्रिया सकिएपछि निर्माण क्षेत्रका लागि कामदार लैजाने विषयमा प्रक्रिया अगाडि बढाइने छ ।  इजरायल र नेपाल सरकारबीच ‘जी टु जी’ मार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट नीजि क्षेत्रको सहभागिताबिना नै कामदार पठाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप