सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मिटर ब्याजले उठिबास

ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो
सोमबार, १३ भदौ २०७९, १४ : १९
सोमबार, १३ भदौ २०७९

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी पवित्रा नेपालीलाई यतिबेला छोरा पढाउन लिएको ऋण गलपासो बनेको छ । उनले छोरालाई जापान अध्ययनका लागि पठाउन २२ लाख रुपैयाँ ऋण साहुसँग लिएकी थिइन् तर ८० लाख रुपैयाँ तिर्दासमेत चुक्ता भएको छैन ।

‘ ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्,’ उनले भनिन्, ‘२२ लाख ऋण लिएको तर ८० लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’

साहुले अझै साँवा र ब्याज गरेर ३१ लाख बाँकी रहेको भन्दै आफूलाई सो रकम तिर्न ताकेता गरिरहेको उनको गुनासो छ ।

उनी २०७२ सालमा छोराछोरीको पढाइका लागि सल्यानबाट दाङ झरेकी हुन् । एकल महिला भएकाले छोराछोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो ।

छोराले जापान अध्ययनका लागि तयारी गरेपछि उनी ऋणको भारी बोक्न बाध्य भइन् । चलनचल्तीको ऋण भनेर साहुसँगै रकम लिएकी उनले अहिले बल्ल आफू ‘मिटर ब्याज’को जालोमा जेलिएको थाहा पाइन् ।

‘साहुले ऋण दिएको प्रमाण राखे तर मैले तिरेको प्रमाण राखेनन् । हामीले राखेको प्रमाणलाई कहिले मानेनन् । एकलाख दिए दुई लाखको तमसुक गराए,’ उनले भनिन् ।

सावित्रा डाँगीको अवस्था पनि उस्तै छ । घर व्यवहार टार्न चिनजानकै एक महिलासँग उनले दुई लाख रुपैयाँ ऋण लिइन् ।

ऋण लिँदा पनि दुई लाख मध्ये २० हजार रुपैयाँ कमिसनबापत दिएर आफ्नो हातमा १ लाख ८० हजार रुपैयाँमात्र परेको उनले बताइन् । २२ महिना लगाएर आफूले मासिक किस्ताबन्दीसरह आफूले जम्मा ३ लाख ८ हजार रुपैयाँ तिरेको तर साहुले ४ लाख रुपैयाँको तमसुक देखाएर ऋण चुक्ताका लागि दबाब दिइरहेको उनको भनाइ छ ।

आफूले तिरेको रकमको कुनैै हिसावकिताव नै नराखी एकोहोरो साहुले रकम असुली गरिरहेको उनको गुनासो छ ।

अर्की पीडित कौशिला परियार पनि ऋण चुक्ता हुने बेलासम्म पनि साहुले ४०/५० प्रतिशत हिस्सा अझै बाँकी रहेको भन्दै असुलका लागि ताकेता गर्ने गरेको सुनाइन् ।

‘लेख्ने लेखनदास पनि उनीहरु आफैले ल्याउँछन्, कागजमा के, कस्तो, कति लेखेको छ, हामीलाई थाहा हुँदैन,’ उनले भनिन्, ‘तमसुक गराउँछन् । अब ऋण सकियोे भन्ने बेलामा दोब्बर रकमको कागज देखाउँछन् ।’

पीडितभन्दा पीडक बलियो

पीडित जानकी भण्डारीका अनुसार आफूले ऋण तिरेको रकम हिसाब गर्ने गरे पनि साहुले किस्ताबापत लिएको रकमको हिसाब नै गर्दैनन् । स्थानीय प्रशासनमा पनि उनीहरुकै पहुँच भएका कारण यसबारे कतै उजुर गर्न पनि नसकेको उनको गुनासो छ । ‘हामीलाई कागजमा सहीछाप गराएका हुन्छन्,’ उनले भनिन्, ‘ऋण लिएको देखिन्छ तर तिरेको कतै देखिँदैन । जसले गर्दा प्रशासनले पनि हाम्रो कुरा सुन्दैन ।’

मिटर ब्याजीको निशानामा विपन्न परिवार

मिटर ब्याजमा पैसा लगाउने एउटा गिरोह नै छ । सो गिरोहका कुनै सदस्यले पैसा खाँचो भएको व्यक्ति खोज्ने, अर्काले कमिसनको खेलो गर्ने पैसा खोजेको नाटक गर्ने, अर्काे साहु बन्ने र पैसा दिने ।

धेरै लेखपढ नगरेको, सम्पत्तिको नाममा घरबास मात्रै भएको परिवार मिटर ब्याजीको निशानामा पर्छन् । भूमिहीन, सुकुमवासी अभियन्ता देउमन दमाईले भने, ‘अधिकांश विपन्न परिवार मिटरको ब्याजको सिकार बनेका छन् । ऐलानी बसोबास पनि उठिबास लागेका छन् ।’

प्रहरी प्रशासनले पीडितको उजुरीहरुको आधारमा सुक्ष्म अध्ययन गरी मिटरको ब्याजको धन्दालाई नियन्त्रण गरी गरिवलाई मिटर ब्याजको पासोबाट मुक्त गराउनुपर्ने उनको भनाइ छ ।

पाउलान् त पीडितले न्याय ?

जिल्ला प्रहरी कार्यालय दाङमा ४६ जना मिटर ब्याज पीडितले उजुरी दिएका छन् । मिटर ब्याजको कानुनी उपचारका लागि कुनै मुर्त कानुन छैन । राज्यले पीडितको न्याय र कानुनी उपचारका लागि वैधानिक कानुन निर्माण गर्न सकेको छैन ।

पीडितले न्यायका लागि उजुरी दिए पनि उजुरी कार्यान्वयन अलमलमा छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजन कुमार गौतमले भने, ‘कानुनी रुपमा हेर्ने हो भने पीडितभन्दा पीडक बलिया छन् । उनीहरुसँग प्रमाण छ । पीडितहरुसँग छैन । राज्यले ठोस कानुन पनि निर्माण गरेको छैन । आशा गरौं, कार्यविधि निर्माण गरेर भए पनि राज्यले पीडितलाई न्याय दिलाउला ।’

जिल्लामा संकलित निवेदन गृह मन्त्रालय पठाउने तयारी भइरहेको उनले बताए । यसबारे मन्त्रालयले दिने निर्देशन अनुसार कारवाही हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप