वैदिक कथा : कण्वको पश्चाताप

person explore access_timeभदौ १३, २०७९ chat_bubble_outline0

नेपालीमा एउटा भनाइ छ हतपतको काम लतपत । यस्तो भनाइ त्यत्तिकै प्रचलनमा आएको पक्कै होइन । निकै सुझबुझ गरी व्यवहारमा प्रयोग गरेर मात्र प्रयोगमा ल्याएका हुन् पूर्वजहरूले । उनीहरू भन्ने गर्थे– ‘कुनै पनि काम गर्नुभन्दा अघि तीन पटक सोच्नुपर्छ यस्तो काम गर्न हुन्छ कि हुन्न भनेर । त्यस्तै कुनै पनि बोली बोल्नुभन्दा अघि तीन पटक सोच्नुपर्छ यस्तो कुरा गर्न हुन्छ कि हुन्न भनेर । अन्यथा कुनै पनि बेला ठूलै विपत्तीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’


वैदिक ग्रन्थमा एउटा कथा छ । बृहद्देवता नामक ग्रन्थमा उल्लेख भएको । महर्षि घोरका दुई भाइ छोरा थिए कण्व र प्रगाथ । उनीहरू विद्या अध्ययन गरी भरखरै गुरुकुलबाट फर्केका थिए । दुई भाइबीच घनिष्ट प्रेम थियो ।  प्रगाथ दाजुलाई बाबुलाई जस्तै सम्मान गर्थे । कण्व प्रगाथलाई आफ्नै छोराछोरीलाई जस्तै माया गर्थे । उनीहरूकै कारण आश्रम परिसर पूरै प्रेममय बनेको थियो ।



एक दिनको कुरा हो दाजु कण्व समिधा (यज्ञ गर्दा प्रयोग गरिने दाउरा) लिन जङ्गलतिर गएका थिए । भाइ प्रगाथ आश्रममा बसेर सामवेदका मन्त्र गान गरिरहेका थिए । कण्वकी पत्नी नजिकै बसेर यज्ञका लागि सामग्री तयार गर्दै थिइन् । वैदिक मन्त्र गाउँदागाउँदै थकानका कारण आँखा ललाउन लागेकाले प्रगाथले भाउजूको काखमा शरण लिए । कण्वपत्नी काममा व्यस्थ थिइन्, काखमा देवरले टाउको राखेर सुतेको पत्तै पाइनन् ।



एकैछिनैपछि दाजु कण्व समिधा लिएर आइपुगे । आफ्नो पत्नीको काखमा भाइ प्रगाथले टाउको राखेर सुतेको देखेर कण्व रिसले चूर भए । आँखा रातो भयो, ओठ फरफराउन थाल्यो । रिसको झोकमा आँखाले काम गर्दैन भन्छन् । सायद उनलाई पनि त्यस्तै भयो । रिसले मुरमुरिँदै भने–

‘अरे ए निच ! यस्तो दुष्कर्म ? अलिकति पनि सर्म लाग्दैन । धिक्कार छ तलाई ।’

पतिको स्वर सुनेर उनकी पत्नीको ध्यान भङ्ग भयो । काखतिर हेरिन् देवर प्रगाथ टाउको अड्याएर निदाइरहेछन् । त्यसपछि पतितर्फ फर्कँदै भनिन्–

‘पति देव ! यी त पुत्र समान हुन् । जतिबेला यस आश्रममा तपाईँकी अर्धाङ्गिनी बनेर आएँ त्यसै दिनदेखि मैले यिनलाई पुत्र समान ठानेकी छु र यिनले पनि मलाई आमा समान मानेर सम्मान गर्दै आएका छन्....।’

उनी थप केही भन्न खोज्दै थिइन् कण्वलाई सुन्ने धैर्य भएन । प्रगाथलाई लात्तीले हुत्याउँदै भने–

‘तँ जस्तो कुकर्मीलाई यस पवित्र आश्रममा स्थान छैन । निस्किहाल अहिले नै । यति बुझ तेरा निम्ति आजदेखि आश्रमका ढोका सदाका लागि बन्द भएका छन् ।’

दाजुको कुरा सुनेर प्रगाथले आँखा मिच्दै भने–

‘दाजु ! हजुर पिता समान हुनुहुन्छ । भाउजु माता समान । मैले अहिलेसम्म भाउजुलाई आमाभन्दा भिन्न ठानेको छैन । यो कुरा हजुराई पनि थाहा छ । तैपनि किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ । आफ्नो भनाइ फिर्ता लिएर यस अनाथलाई दया गर्नुहोस् ।’

यति भन्दै प्रगाथले भाउजुको गोडामा ढोगे । उनको विनम्रता देखेर भाउजुको आँखा रसायो । विना कारण देवरले त्यति ठूलो दण्ड पाएको सहन सकिनन् र पति कण्वसित दुई हात जोर्दै भनिन्–

‘स्वामिन् ! प्रगाथ ठीकै भनिरहेका छन् । विना कारण रिसाएर आफ्नै पुत्र समान भाइलाई यति ठूलो दण्ड दिनु उचित होइन । यसै पनि रिसले आफैँलाई खान्छ । त्यसमाथि यहाँ त भएकै के छ र । देवरलाई सदा पुत्र समान ठान्नुपर्छ भन्ने तपार्ईँ नै हो । मैले पनि यिनलाई पुत्रभावमा हेरेकी छु । यिनले पनि यही सिकेका छन् र मलाई आमा मान्दै आएका छन् । होसमा आउनुहोस् र आफ्नो निर्णयमा पुनर्विचार गर्नुहोस् ।’

पत्नी र भाइको कुरा सुनेर कण्वको क्रोध शान्त भयो । कारण नबुझी पुत्र समान भाइमाथि दुर्वचन बोलिएकोमा मन ग्लानी र पश्चात्तापले भरियो । त्यसैले भाइसित माफी माग्दै भने–

‘भाइ ! माफ गर । आज म बाट ठूलो भूल भयो । वास्तविकता बुझ्दैनबुझी, बुझ्ने प्रयासै नगरी तिमीमाथि लान्छना लगाएँ । यसका निम्ति दुःखी छु ।’

दाजुको कुरा सुनेर भाइको आँखाबाट पनि आसु चुहियो । भाउजु विचरीको त पहिलेदेखि नै आँखा भरिएकै थियो ।

प्रगाथले उठेर दाजुको चरणस्पर्श गरे । दाजुले अङ्कमाल गरेर । त्यसपछि उनीहरूबीचका प्रेम थप प्रगाढ भयो । आपसमा मिलेर आश्रमको गरिमालाई बढाए ।

यस वैदिक कथामा के कति सत्यता छ थाहा छैन तर कुनै पनि काम हठात गर्नु हुँदैन अन्यथा पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने कुराको राम्रै दिग्दर्शन गरेको छ । कण्वलाई भाइ पुत्र समान हुन्छ भन्ने थाहा नभएको होइन तर हतपतमा निर्णय गर्दा आफैँलाई पश्चाताप गर्नुपर्ने अवस्था आयो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।