अन्तरवार्ता

‘बेसमेन्ट पार्किङ खुलाउने अभियान रोकिँदैन’

पिक आवरमा ट्राफिक लाइट निभाएर काम गर्न बाध्य छौँ : डीआईजी चौधरी

person explore access_timeभदौ १३, २०७९ chat_bubble_outline0
(फोटोः कृष्ण खड्का)

कमर्सियल भवनको बेसमेन्ट पार्किङबाट व्यापार हटाउन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह आक्रामक शैलीमा लागिपरेका छन् । शाह नेतृत्वको टिमले नक्सा पास गर्दा ‘पार्किङ गर्छु’ भने पनि बेसमेन्टमा बैंक, ल्याब र क्यान्टिन चलाएर बाटोमा पार्किङ गरिने प्रवृत्तिलाई तोड्दै छ । सो अभियानमा सधैँ सँगै हुन्छिन्, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरी । 


‘सडकबाट पार्किङ हटाएपछि राजधानीको जाम हटाउन सकिन्छ’ भन्ने अठोटसँगै महानगरका नवनिर्वाचित मेयरलाई चौधरीले अनुरोध गरिन् । अनि, सुरु भयो बेसमेन्ट पार्किङको अवरोध फुटाउने र खुलाउने अभियान । ट्राफिक प्रहरीका अधिकृतहरू सो अपरेशनलाई ‘अपरेशन डाङडुङ’ भन्छन् । महानगरभित्र दैनिकजसो सो अपरेशन चलिरहेको हुन्छ । अपरेशनको लिड बालेन्द्र शाहले गरेका छन् । ब्याक सपोर्टमा हुन्छिन् डीआईजी चौधरी । 



‘तपाईंले यो अभियानको इम्प्याक्ट छिट्टै नै देख्नुहुन्छ’ डीआईजी चौधरीले रातोपाटीसँग भनिन्–‘अव्यवस्थित पार्किङ चैं व्यवस्थित बिस्तारै हुँदै जान्छ तर, त्यसको निम्ति समुदायले आफ्नो माइन्डसेट चेन्ज गर्नु जसरी छ ।’ 



डीआईजीमा बढुवा हुनासाथ गृहमन्त्री बालकृष्ण खाणले उनलाई उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी दिए । प्रहरी बरिष्ठ उपरीक्षकको दरबन्दी भएपनि कहालीलाग्दो जाम नियन्त्रणका लागी गृहमन्त्रीले काज सरुवा गरेर मीरालाई ट्राफिकमा पठाएका हुन् । 

अहिले काठमाडौँ महानगर भित्र २ सय ७७ ठाउँमा बेसमेन्ट पार्किङ ओगटेर अन्य काममा प्रयोग गरेको भेटिएको छ । बालेन्द्र र मीराले नेतृत्व गरेको टिमको अठोट छ –‘काठमाडौँ महानगर भित्रका २७७ वटा भवनको बेसमेन्टमा पार्किङ सुचारु गराउने ।’

ट्राफिक व्यवस्थापनबारे डीआईजी मीरा चौधरीसँग रातोपाटीले गरेको संवाद । 

काठमाडौँ उपत्यकामा सवारी–साधनको चाप अत्यधिक भएको बेलामा तपाई आउनुभएको छ, जामको समस्या दैनिक बढ्दै छ, यस्तोमा ट्राफिक व्यवस्थापनको काम कसरी हुँदै छ ? 

रेगुलर हुने व्यवस्थापनको निम्ति हामीले धेरै कुराहरूलाई सँगसँगै लगे पनि अहिले विशेष गरी  समुदायको तर्फबाट विभिन्न पेटीहरू, चोक र गल्लीमा अव्यवस्थित पार्किङ भयो भन्ने गुनासो धेरै छ । त्यो कम्प्लेनलाई आधार मानेर हामीले रेगुलर कारबाहीतिर पनि क्रियाशील छौँ । कारबाहीको कुरा गर्दा प्रत्येक दिन ३ हजार देखी ३५ सय सवारी चालकलाई कारबाही गरिरहेका छौँ । 

कारबाहीमा पनि फरक विषय समेटिएका छन् । हाम्रो प्राथमिकतामा  नो हर्न, लेन अनुशासन र मापसे गरेर चलाउने पर्छन् । पछिल्लो समय तपाईंहरूलाई पनि थाहा छ, हामीले स्कुल बसहरूलाई पनि कारबाही गरिरहेका छौँ । मादक पदार्थ सेवन गरेर स्कुल बस चलाएको भेटिएको छ । त्यसैले, काठमाडौँलाई सडक दुर्घटनाको हिसाबले सेफर सिटी कसरी बनाउन सकिन्छ भनेर हेर्दै छौँ । पानी ट्याङ्कर, एम्बुलेन्सहरूलाई पनि चेकजाँच गर्दै छौँ । 

दुर्घटनाको तथ्याङ्क हेर्दा १७ देखी ३५ वर्ष उमेर समूहका विशेष गरी दुईपांग्रे बढी दुर्घटनामा परेका छन् । त्यसलाई पनि सुरक्षित गर्नको निमित्त हामीले ‘क ख ग घ’ अभियान सुरु गरेका छौँ । सो अभियानमा  टिनेजर्सलाई केन्द्रित गरेर कारबाही अघि बढाएका छौँ । यो कानुन कार्यान्वयनको विषय भयो ।

बेसमेन्ट पार्किङहरू जुन जुन ठाउँमा छ ज–जसले थाहा पाएर पनि व्यापार गरिराख्नुभएको  छ त्यसमा  चाहिँ अलिकति आफ्नो जिम्मेवारी पनि देखाउनु पर्छ । समुदायले गरिरहेको कुरामा त समुदाय आफैँ पनि सचेत हुनुपर्छ । 

पार्किङ व्यवस्थापनमा फुटपाथ  र सडकको पार्किङ हटाउन काठमाडौँ महानगरपालिकाको अगुवाइमा बेसमेन्ट पार्किङ जहाँ छ त्यसलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । हामी सँगै मिलेर महानगरपालिकाले नै लिड लिई रहेको छ । किनभने, नीतिगत हिसाबले नक्सापास लगायतका कुराहरू महानगरपालिकाले हेर्छ । हामी उहाँहरुलाई एउटा सहयोगीको भूमिकामा काम गर्दै छौँ । तपाईंले यसको इम्प्याक्ट छिट्टै नै देख्नुहुन्छ । अव्यवस्थित पार्किङ चाहिँ व्यवस्थित बिस्तारै हुँदै जान्छ । 

तर, त्यसको निम्ति यहाँ रहेको समुदायले आफ्नो माइन्डसेट पनि चेन्ज गर्नु जसरी छ । त्यो कुन मानेमा की जस्तो बेसमेन्ट पार्किङ भनेर तोकिएको थाहा छ तर, त्यहाँ विभिन्न व्यापारिक प्रयोजनको निम्ति काम भइरहेको छ । बेसमेन्टमा ल्याब र बैंकहरु सञ्चालन गरिएको अवस्था छ । 

बेसमेन्ट पार्किङहरू जुन जुन ठाउँमा छ ज–जसले थाहा पाएर पनि व्यापार गरिराख्नुभएको  छ त्यसमा  चाहिँ अलिकति आफ्नो जिम्मेवारी पनि देखाउनु पर्छ । समुदायले गरिरहेको कुरामा त समुदाय आफैँ पनि सचेत हुनुपर्छ । 

बेसमेन्ट पार्किङ व्यवस्थापन गरेपछि चाहिँ ट्राफिक जाम हट्छ ?

बाटोमा रहने अव्यवस्थित पार्किङलाई पक्कै पनि बेसमेन्ट पार्किङले मेनेज गर्छ । सँगसँगै हामीले इन्फोर्समेन्ट र सचेतनाका कुराहरू अगाडी ल्याउनुपर्छ । सचेतना अगाडी ल्याउँदा एकजना सवारी चालकले ‘मेरो यो लेन हो’ भन्ने थाहा पाएर चलाउँछ । नो हर्नको अभियान सञ्चालन गरेका छौँ त्यो अभियानलाई व्यवस्थित गर्दा ध्वनि प्रदूषण कम हुँदै जान्छ । मोटरसाइकलले ध्वनि प्रदूषण गरेको गुनासोका आधारमा हामीले विभिन्न खालका अपरेशन चलाइरहेका छौँ । 

बेसमेन्ट पार्किङ खुलाउन महानगर र ट्राफिक प्रहरीले जसरी काम गरेको छ । जस्तै, सुन्धारा बानेश्वरमा जुन गतिमा काम भयो, त्यस्तोमा दबाब चाहिँ कत्तिको आउँदो रहेछ ?

दबाब त नीतिगत हिसाबले आउने भयो भने महानगरपालिकालाई आउने भयो । हामीलाई चाहिँ त्यस्तो केही पनि छैन । मैले अघि भनेँ नि, नीतिगत हिसाबले कुरा गर्ने र कानुनलाई मान्ने हो भने ‘मैले नक्सा पास गर्दा यत्ति ठाउँचाहिँ बेसमेन्ट पार्किङको निम्ति छुट्याएको छु’ भनेर जसले नक्सा पास गराउनुभएको छ उहाँहरू आफैँलाई थाहा छ । त्यसैले यसमा दबाब दिने कुरा हुँदैन । त्यो सँगसँगै कार्यविधिहरू पनि छ । भवन मापदण्डको कार्यविधि के छ भने व्यापारिक ठाउँहरूमा कति प्रतिशत छाड्ने अथवा आवासीय भवनमा कत्ति प्रतिशत छाड्ने भन्ने मापदण्ड छ । त्यसलाई हामीले पछ्यायो भने त्यो दबाब दिने अवस्था आउँदै र रहँदैन पनि ।

मैले यहाँ आएपछि एउटा तथ्याङ्कलाई विश्लेषण गर्दा बढी दुर्घटना हुने कारण मध्ये लापरबाही एक नम्बरमा पर्छ ।

त्यो समस्या बानेश्वर भन्दा धेरै दरबारमार्ग र ठमेल तिर छ । न्यूरोड र असनमा पनि पस्नुहुन्छ ?

डेफिनेट्ली । मैले यो कामको सुरुवात गर्दा नै महानगरपलिकालाई अनुरोध गरेको हुँ, हाम्रो सूचना जसरी हामीले प्राप्त गर्छौ त्यो सूचनालाई म उहाँहरुसँग सेयर गर्छु । डेफिनेट्ली कुनै पनि काम सबै ठाउँमा एकैचोटी हुन सक्दैन त्यसलाई हामी साइड बाई साई चाहिँ लैजान्छौँ । साइड बाई साइड लैजान महानगरपालिकालाई अनुरोध पनि गर्छु ।

जाम र दुर्घटना बढ्नुमा चालकको भूमिका के देख्नुहुन्छ, चालकको लापरबाही अथवा कमजोरीले जाम बढ्न भूमिका खेल्छ ?

मैले यहाँ आएपछि एउटा तथ्याङ्कलाई विश्लेषण गर्दा बढी दुर्घटना हुने कारण मध्ये लापरबाही एक नम्बरमा पर्छ । एक नम्बरमा परेको हिसाबले चालकको लापरबाही दुर्घटनाको मुख्य कारण हो । फेरि पनि म लेनको कुरा गर्छु,  होला अब हाम्रा काठमाडौँका सबै सडकमा लेनहरू नकोरिएको होला अथवा मेटिएको अवस्थाहरू पनि होला । तर, एउटा सचेत सवारी चालकले मेरो जिम्मेवारी यो हो भनेर चलाइदियो भने त्यो समस्याको सुधार चाहिँ हुनसक्छ । सवारी दुर्घटना हुनु अथवा जाम हुनुको सबैभन्दा मुख्य कारक तत्त्वचाहिँ लापरबाही नै देखिन्छ ।

चालक जिम्मेवार हुँदा पनि, मानौँ न ट्राफिक लाइट छ त्यो लाइट ट्राफिकले कहिले निभाएको हुन्छ कहिले लाइटले डिरेक्सन गरेको बेलामा ट्राफिकले हातले रोक्ने अथवा पठाउने गरेका हुन्छ, यो अवस्थामा चाहिँ पब्लिककै गल्ती देखाउने गरिन्छ, यसमा चालकको गुनासो छ नि ?

लाइट बालेको बेलामा ट्राफिकले कहिल्यै पनि हातले इशारा गर्दैन । सडक बत्तीको सम्बन्धमा बुझ्नुपर्ने कुरा के हो भने जत्ति ठाउँमा काठमाडौँमा ट्राफिक लाइटहरू इन्स्टल भएका छन् त्यो ट्राफिक लाइटको फिक्स टाइम छ । जस्तै १ मिनेट ८० सेकेन्ड दुवैतर्फ । 

तर, अलिकति वैज्ञानिक हिसाबले हेर्नुभयो भने बिहानको समयमा बाहिरबाट मान्छे शहर भित्र आउँछ बेलुका  बाहिर निस्कन्छ । त्यस्तोमा जुन लाइटको टाइमिङ छ त्यो टाइमिङ १ मिनेट ८० भन्दा बढ्दै बढ्दैन । त्यो चाहिँ हाम्रो बाध्यता हो । जस्तो, त्रिपुरेश्वरमा लाइट बालेर हामीले कालीमाटी र टेकुको एरियाको सवारी साधनलाई पास गराउने जुन क्रम हुन्छ  १ मिनेट ८० सेकेन्ड भित्र सम्भव नै हुँदैन । त्यस कारण बाध्यता हुन्छ । इन हुने सवारी साधन बढी हुन्छ आउट हुने कम हुन्छ । तर, दुवै टाइमिङ १ मिनेट ८० सेकेन्डमा छ । यसको निम्ति हामीले ट्राफिक लाइटको जसले काम गरिरहनु भएको छ उहाँहरुसँग समन्वय गर्दै छु । भोलिका दिनमा हामी यो समस्याको निराकरण तर्फ  जान्छौँ ।

टाइमिङ मिलाउन नसक्दा निभाएर हातले नै इशारा गर्ने ?

हो, त्यसको बाध्यता नै त्यही हो । प्रेसर बढी भएपछि १ सय ८० लाई तपाईंले कायम गरेर बस्नुभयो भने त्यसको प्रेसर चाहिँ उता कलङ्की पुग्छ । अथवा, कोटेश्वरको हेर्नुभयो भने धेरै पछाडि पुगेको हुन्छ । त्यो बाध्यताको कारणचाहिँ हामीले पिक आवरमा ट्राफिक लाइट निभाएर काम गर्छौँ । अन्य त्यस्तै समस्या परेमा हामी ट्राफिक लाइट निभाएर काम गरिरहेका छौँ । 

अर्को चाहिँ, पानी परेको बेलामा धेरै जाम हुन्छ त्यसको कारण चाहिँ के हो ?

निश्चित ठाउँहरूमा बाटोको जुन अवस्था छ पानीको निकास जसरी हुनुपर्ने हो त्यसरी नहुँदा  सडकमा पानी जम्छ । चालकले खाल्डोको पानी छल्न खोज्छ । यो विषयमा पनि काठमाडौँ महानगरपालिकाको लिडमा प्रत्येक महिना एउटा समन्वय बैठक बस्छ । हामीले आएका यस्ता इस्यूहरुलाई त्यहाँ राखेर त्यो समाधानको प्रयास पनि गरिरहेका छौँ ।

त्यसमा चाहिँ बाटो निर्माण र मर्मत गर्ने एजेन्सीको पनि दायित्व हुँदैन ? 

सबै पर्छन् । खानेपानी, विद्युत्, ढल, सडक विभाग । अरू युनिटहरूको सपोर्टको सवालमा महानगर भित्रको लिड महानगरपालिकाले लिएको छ । प्रत्येक महिना बसेर आएको समस्यालाई चाहिँ समाधानको बाटोमा लग्दैछौं । 

मुख्य हाइवे मर्मतको जिम्मेवारी सडकको हुन्छ, समस्या पर्दा हामी सडक विभागसँग पनि कुरा गर्छौँ । 

लाइटको विषयमा पनि हामीले सडकसँग समन्वय गरिरहेका छौँ । जो उपत्यका हेर्ने जिम्मेवारी सडकको युनिट छ सो युनिटसँग समन्वय गरिरहेका छौँ । काठमाडौँमा इन्स्टल भएका लाइटहरूलाई पनि उहाँको सिस्टममा कसरी जान सक्छ भन्नेबारे छलफल गर्दै छौँ । 

अब कहिलेदेखि उपत्यकामा चोकको ट्राफिक लाइटमा एक छिन ब्रेक लगाएपछि सरर गाडी चलाउन सकिन्छ भन्ने अवस्था आउँछ ? 

लाइटको त मैले ठ्याक्कै भन्न सक्दिनँ । मैले किन भन्न सक्दिन भने यसको एजेन्सी फरक हो, त्यो एजेन्सीले कसरी काम गरेको छ भनेर मैले जवाफ दिन उपयुक्त पनि हुँदैन र मलाई त्यसबारेमा ज्ञान पनि छैन । त्यसबारे मैले उहाँहरुसँग समन्वय गर्नुपर्छ । 

बेसमेन्ट पार्किङ खुलाउने अभियान चाहिँ रोकिन्छ कि रोकिँदैन ?

जारी रहन्छ । रोकिँदैन । मैले महानगरपालिका लाई अनुरोध गरिरहन्छु । उहाँहरूले लिड लिएर अगाडी बढ्नुहुन्छ र त्यो सँगसँगै मैले के भन्न चाहन्छु भने मान्छेले बिस्तारै त्यसको त्यसको असर देख्दै गएपछि आफै पनि बुझ्दै जानुपर्छ र बुझ्नुहुन्छ । हामीसँग यति धेरै स्पेसहरू छन् त्यो व्यवस्थापन मात्रै नभएको हो । मान्छेले बेसमेन्ट पार्किङ बनाएको छ अनि, पसल भाडामा राख्न दिइरहेको छ । हामीलाई चाहिनेभन्दा बढी स्पेस छ, व्यवस्थित गर्न सक्यौँ भने । 

लाइट पनि व्यवस्थित छैन नि, अनावश्यक ठाउँमा पनि ट्राफिक लाइट राखेको अवस्था छ नि ? 

लाइटको विषयमा पनि हामीले सडकसँग समन्वय गरिरहेका छौँ । जो उपत्यका हेर्ने जिम्मेवारी सडकको युनिट छ सो युनिटसँग समन्वय गरिरहेका छौँ । काठमाडौँमा इन्स्टल भएका लाइटहरूलाई पनि उहाँको सिस्टममा कसरी जान सक्छ भन्नेबारे छलफल गर्दै छौँ । 

लागु पदार्थ सेवन गर्नेहरु माथिको कारबाही तपाई आएपछि सुरु गरिएको थियो, तर त्यो कारबाही अहिले किन रोकियो ? 

छैन । रोकिएको छैन । त्यो निरन्तर प्रक्रिया हो । यसमा चाहिँ उपत्यका ट्राफिक प्रहरीले मात्र गरेर हुँदैन, ल्याब टेक्निसियन चाहिन्छ ।  हामी उहाँहरुलाई रेगुलर बेसिसमा कसरी लान सक्छौँ भन्ने प्रयास गर्दैछौ । 

हामीले अर्को प्रयास पनि सुरु गर्न लागेका छौँ । सवारी साधनको अवस्थाबारे ‘सवारी तथा यातायात व्यवस्था ऐन’ले हेर्नु भनेको छ । अब, सवारी साधनका अवस्था कस्तो छ भनेर चेक जाँचको पहल पनि गर्दै छौँ । जस्तै– गाडी चलाइरहेका छ तर, ब्रेक लाग्दैन । अथवा के मिलेको छैन स्टेरिङ मिले छैन कि ? त्यो यान्त्रिक परीक्षणको कारबाहीलाई पनि हामी अगाडी बढाउँछौँ । 

विद्यार्थी केन्द्रित कारबाही र स्कुल बसका चालकहरूलाई गरिने मापसे जाँचबाट चाहिँ के देखियो ? 

विशेष गरी कलेजका विद्यार्थीहरूको चेकजाँचमा सवारी चालक अनुमति पत्र नभएको सँगसँगै अन्य कागजात पनि नभएको अवस्था हो ।स्कुल बसका चालकहरूको अवस्थामा चाहिँ मापसे र अन्य कागजात बिना चलाउँदै आएको भेटिएको छ । जत्ति स्कुलका बस चालकहरू कारबाहीमा परेका छन्, हामीले सम्बन्धी स्कुलका प्रिन्सिपललाई जानकारी गराएका छौँ । उहाँहरूले पनि सचेत भएर हामीसँग मिलेर काम गर्नुपर्छ भनेर तपाईंहरुमार्फत अनुरोध गर्छु । 

ट्राफिकमा चाहिँ के हुन्छ भने, हरेक पटक इन्चार्ज फेरिनासाथ नयाँ नयाँ कार्यक्रम ल्याउने र छाड्ने । अहिले जे सुरु गर्नुभएको छ  ती कार्यक्रम निरन्तर जान्छ ? 

यसलाई चाहिँ हामीले क्यालेन्डरमा राखेका छौँ । प्रत्येक हप्ता वा प्रत्येक दिन हामी के काम गर्ने भनेर क्यालेन्डरमा राखेका छौँ । तपाईंले पर्टिकुलर मलाई सोध्नुभएको हो भने म यहाँ रहेसम्म त्यो चाहिँ छाड्दिनँ । 

जस्तो, जहाँ कारबाही हुन्छ त्यहाँ स्पटबाट नै पैसा तिरेर कागजात लिन पाउने भनेर सुरु भएको कार्यक्रम अहिले त्यसै हरायो ? 

त्यसको चाहिँ के रहेछ भने, ३० ठाउँमा मोबाइल दिएका छौँ । १० ठाउँमा मेशिन पनि राखेका छौँ, पैसा तिर्न मिल्ने गरी । सबै मानिसहरू बग्गीखानामा आउन परेन, मेशिनबाट पे गर्न सकिन्छ । मलाई तत्काल कागजात चाहिन्छ भन्ने मान्छे खासै आएनन् । कारबाही गरेको ठाउँबाट ५ मिनेटको दुरीमा प्रहरी युनिट हुने हुनाले ई सेवा वा वालेटबाट पे गरेर नजिकैको युनिटमा गएर कागजात लिन सकिन्छ । 

अरू केही भन्नु छ चालकहरूलाई ? 

सार्वजनिक सवारीका चालकले मापसे गरेको अवस्थामा हामीले उहाँहरुलाई कारबाहीको दायरामा ल्याइरहेका छौँ । यातायात व्यवसायसँग जोड्नुभएका जो प्रतिनिधिहरू हुनुहुन्छ जो मालिकहरू हुनुहुन्छ  उहाँले आफ्नो गाडी कसलाई चलाउन दिँदै हुनुहुन्छ र उहाँले के गर्नुपर्छ भन्नेतिर पनि सचेत हुन आवश्यक छ । त्यो सचेतना सँगसँगै  उपत्यका ट्राफिक प्रहरीले कारबाहीको  सिलसिला पनि अगाडी बढाइरहेको छ । 

अहिले मालवाहक ट्रकहरूका चालक, सार्वजनिक बस चालक र सार्वजनिक सवारीसँग जोडिएको चालकले मापसे गरेको अवस्था छ भने हामीले त्यसलाई मुद्दामा लिएर गएका छौँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।