बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए

आइतबार, १२ भदौ २०७९, २१ : ३२
आइतबार, १२ भदौ २०७९

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतदाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । 

स्थानीय तहको निर्वाचन पश्चात नयाँ मतदाताहरूका लागि यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति  तोकेपछि २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो । 

असार १ गतेदेखि साउन २० गतेसम्ममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । थप भएकासहित आउँदो निर्वाचनका लागि सिन्धुपाल्चोकमा कूल मतदाताको सङ्ख्या दुई लाख ६१ हजार छ सय १७ पुगेको निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुईवटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र चार वटा रहेको छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ६७ हजार एक सय ७६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा ६४ हजार दुई सय ५९ जना मतदाता रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा ६३ हजार तीन सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा  ६६ हजार आठ सय दुई मतदाता रहेका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरूले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।

मतदाता नामावली प्रति दावी विरोध भएमा त्यसको छानबिन गरिने उनको भनाइ छ । मतदाता नामावली अद्यावधिक पश्चात हाल कायम भएका मतदाता सङ्ख्यामा थपघट हुने उनले जानकारी दिए  । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा हाल एक सय ४४ मतदान स्थल र तीन सय १६ वटा मतदान केन्द्र रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप