सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

'यही वर्ष भारतबाट आयात हुनेभन्दा निर्यात हुने बिजुलीको मात्रा बढी हुनेछ'

आइतबार, १२ भदौ २०७९, १९ : १८
आइतबार, १२ भदौ २०७९

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् । आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका हुन् । 

घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको जानकारी दिए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए । उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए । घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए ।

उनले भने,‘विद्युत प्राधिकरणले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत गरेका छौं । अहिले विद्युतको माग अत्याधिक बढेको छ । यसरी विद्युत माग बढ्दा निर्यातको लागि २०० मेगावाट मात्रै निर्यात गरेर घटाउनुपरेको अवस्था छ । जेठको १७ गतेबाट निर्यात शुरु गरेको हो । करिव ८२/८५ दिनमा करिब ६ अर्बको विद्युत निर्यात गरेका छौं । साउन महिनामा मात्रै करिव २ अर्बको विद्युत निर्यात गर्‍यौँ । यदी छोटो समय विद्युत निर्यात गर्दा पनि राम्रो आम्दानी गरेका छौं । विद्युत निर्यातलाई प्राथमिकता दिनुपर्छ । यो सरकारको ठूलो उपलब्धी हो । विद्युत अहिलेको अवस्थामा राम्रोसँग बेच्नसक्दा हामीलाई रिजर्भ आयोजना नहुँदा पनि रिजर्भ आयोजना लामो समयको लागि आवश्यक छ । अहिले  हामीले भने पनि अबको ७ वर्ष भन्दा अगाडि त्यो आयोजना आउँदैन । हामीले शुरु गर्न खोजेका छौं । चालु आर्थिक वर्षमा नै हामी ‘नेट एक्सपोर्टर’ हुन्छौं । अहिले हामीले जुन ट्रेन्डमा निर्यात गरिरहेका छौं । यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौँ, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं । कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्छौं । आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गर्छौं । सुख्खा आममा विद्युत आयात गर्नु पर्ने होला । अहिले हाम्रो विद्युत खपत २५ प्रतिशतले बढेको छ । अब अर्को वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्छ ।’

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताए । उनले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महसुल तिर्नुपर्ने बताए । घिसिङले तत्कालको लागि उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गरे । उनले सरकारले कोभिड लगायतका कारणले छुट दिएको बताए । 

उनले अहिलेसम्म करिव ९३ प्रतिशत  विद्युतको पहुँच पुगेको बताउँदै आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पु¥याउन लक्ष्य सरकारले लिएको जिकिर गरे । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको बताए । घिसिङले गत आर्थिक वर्षमा विद्युत महसुल बढाएर नभई घटाएर भएपनि १६ अर्ब रुपैयाँ नाफा गरेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप