मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदर्शनले भने–मेकरभन्दा कलाकार प्राथमिकतामा पर्दा फिल्म चुक्यो

आइतबार, १२ भदौ २०७९, १८ : २३
आइतबार, १२ भदौ २०७९

निर्देशक सुदर्शन थापाले फिल्मको मेकरलाई भन्दा कलाकारलाई प्राथमिकता दिन थालेको कारण नेपाली फिल्म चुकेको बताएका छन् । ‘हामीले कलाकारलाई प्राथमिकतामा राखेर फिल्मको भारी बोकाउन थालेका छौं । वास्तवमा फिल्मको सबै भारी बोक्ने मेकर हो (निर्देशक) हो,’ थापाले भने, ‘कहिले कलाकारको पछि लाग्छौं । कहिले कथावस्तुको । यो गलत हो ।’

निर्देशक थापाले​ मेकरलाई प्राथमिकता दिन नसक्दा फिल्महरु राम्रो हुन नसकेको बताए । आइतबार आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को एक कार्यक्रममा थापाले नेपाली फिल्मका कन्टेन्टलाई अर्गानिक, नेपाली र नक्कल लगायतको गरिएको वर्गीकरणमा पनि चित्त नबुझेको बताए । ‘दर्शकलाई कथा अर्गानीक कि अन्य केही मतलब छैन, न सन्देशसँग,’ उनले थपे, ‘उनीहरुलाई फिल्म मनोरञ्जनात्मक चाहिन्छ । त्यसपछि सन्देश भए पनि राम्रो ।’ उनले चलेका फिल्म राम्रो र नचलेका फिल्मलाई नराम्रो भन्नुपर्ने धारणा समेत राखे ।

कार्यक्रममा निर्देशक थापाले ‘सम्हालिन्छ कहिले मन’ राम्रो बनेको दाबी गरे । ‘मेरो फिल्म ‘सम्हालिन्छ कहिले मन’ को कथा प्रेमकथा हो । जुन नौलो र फरक त होइन’ उनले अगाडि भने ‘प्रेम कथालाई पस्कने ट्रिटमेन्ट भने फिल्ममा भिन्न छ । यो नौलो र फरक लाग्छ ।’ थापाले फिल्मले दर्शकको मन छुने अनुमान लगाए । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र गायक सोनम तोप्देनको समेत अभिनय छ ।

अभिनेत्री पूजा शर्माले आफ्नो वास्तविक जीवनसँग ‘सम्हालिन्छ कहिले मन’ को कथावस्तु निकट रहेको बताइन् । ‘फिल्म कथावस्तु र मेरो जीवनको यथार्थ समेत मिलेको छ’ पूजाले भनिन् । उनले कथावस्तुभन्दा पनि सुदर्शनप्रतिको विश्वासले फिल्म गरेको खुलाइन् । अभिनेता आकाशले पनि फिल्ममा आफ्नो यस अगाडिको भन्दा भिन्न भूमिका रहेको बताए । गायक​ सोनमको भने यो डेब्यु फिल्म हो । सोनमले फिल्मको भूमिका मन परेकोले अभिनय गरेको बताए । ‘यो फिल्म अभिनयपछि मलाई केही फिल्मको अफर आएका थिए’ उनले भने ‘यो फिल्मको रिजल्ट हेरेर मात्र अन्य फिल्म खेल्ने सोचका कारण अभिनय गरिन ।’ सोनमले अब फिल्म अभिनयमा निरन्तर रहने सुनाए ।

लण्डन, दुबई र नेपालको उपल्लो मुस्ताङमा छायांकन भएको फिल्मको नाम गायक सुगम पोखरेलले करिब १२ वर्षअघि गाएको हिट गीतबाट राखिएको हो । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म एबी इन्टरनेसनलको ब्यानरमा बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप