सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बिन्ती छ नेताज्यू, आगामी चुनाव गालीगलौजरहित बनाउनुहोस्

आइतबार, १२ भदौ २०७९, १५ : ०९
आइतबार, १२ भदौ २०७९

  विद्वान्हरुले महाभारतको बारेमा कुरा गर्दा भन्छन्, यस ग्रन्थभित्र संसार छ । समाजवादी चिन्तक स्व. प्रदीप गिरि भन्नु हुन्थ्यो, ‘यस भित्र के छैन ? महाभारतको व्याख्या र विश्लेषण गर्ने मेरो उद्देश्य होइन र म त्यो सामर्थ्य पनि राख्दिनँ । यस महाग्रन्थका केही सन्दर्भहरु उल्लेख गरेर लेखलाई अगाडि बढाउन मात्र चाहेको हो । खास गरी त्यसभित्र भएको शालीनता, शत्रु नै भए पनि एक अर्कालाई गर्ने आदर र सम्मान, बोली र वादविवादमा प्रयोग भएको सभ्य र सौम्य भाषाको बारेमा केही उदाहरण हेरौँ ।

कौरवसँगको जुवामा युधिष्ठिरले आफूलगायत सम्पूर्ण सम्पत्ति हार्छन् । आफू पनि हारिसकेपछि उनले द्रौपदीलाई जुवामा थाप्छन् र उनीलाई पनि हार्छन् । द्रौपदीलाई सभामा झिकाइन्छ, त्यसैबेला द्रौपदी प्रश्न गर्छिन्, के म जुवामा थापिने वस्तु हुँ ? ल थापिएँ मानौ, तर म जुवाको कुन चरणमा हारिएँ ?

द्रौपद्री पुरक प्रश्न गर्छिन्, जुवाडे आफै हारिएर विपक्षीको भैसकेपछि फेरि जुवामा अरु कसैलाई थाप्न पाइन्छ र ? यो गम्भीर प्रश्नपछि सभा शान्त हुन्छ र कसैले उत्तर दिँदैनन् । त्यसैवेला जुवा जित्ने दुर्योधन भन्छन्, ‘युधिष्ठिर जे भन्नु हुन्छ, हामी त्यही मान्छौँ ।’ यहाँ कतै एकापसमा गालीगलौज, जित्नेले गिज्याउने, हार्नेलाई हेप्ने आदि देखिँदैन ।

अर्काे प्रसङ्ग छ, जब कर्णको रथको पाङ्ग्रा पृथ्वीमा भासियो, त्यसलाई बाहिर निकाल्न सारथीले सकेनन् या भनौँ कर्णलाई सहयोग गरेनन् । त्यसपछि कर्ण आफँै हतियार रथमै राखेर रथको पाङ्ग्रा उचाल्न रथबाट ओर्लिए । कृष्णले यसैबेला अर्जुनलाई कर्णमाथि प्रहार गर्न उक्साए र अर्जुनले प्रहार पनि गरे । युद्वको नियम र अनुशासनलाई उलङ्घन गरेर अर्जुनले आफूमाथि प्रहार गर्दा पनि कर्णले दुर्वचन बोलेनन् र सहर्ष मृत्यु स्वीकारे । यस्ता धेरै सन्दर्भ र घटना महाभारतमा असरल्ल छन् । यी ग्रन्थहरुमा घोचपेच, ब्यङ्ग्य पटक्कै नभएको भने होइन, तर यिनमा छुद्र शब्द र निम्न स्तरको भाषाको प्रयोग भएको छैन ।

यहाँ महाभारतको सन्दर्भ किन जोडिएको हो भने नेपालका नेताहरु आफ्ना भाषणमा रामायण, महाभारत, गीता आदि पौराणिक ग्रन्थका सन्दर्भ र भनाइ पटक पटक दोहर्‍याउँछन् तर ती उदाहरणअनुसार आफू व्यवहार गर्नबाट किन चुकिरहेका छन् भन्नलाई हो । के हाम्रा नेताहरुले शालीन, सौम्य, सभ्य र प्रिय बोली बोल्न हुँदैन वा हामी जनता नै त्यस्तो किसिमको भाषा सुन्न चाहँदैनौ ? आगामी निर्वाचनको प्रचार, प्रसार, आमसभा, भाषण आदिमा यो प्रयोग गरेर हेरौँ न के हुँदोरहेछ ।

मैले २०३७ सालदेखि काँग्रेस र कम्युनिस्ट नेताहरुको भाषण सुन्दै आएको छु । २०३७ देखि २०४६ सालसम्म यस्ता भाषण कोठामा हुन्थे । ती कोठामा पनि एकले अर्काेलाई गाली गर्न बाँकी राखिदैनथ्यो । कोही प्रतिक्रियावादी, कोही राजावादी कोही गद्दार, कोही देशद्रोही, कोही भारतीय दलाल, कोही चिनिया दलाल आदि इत्यादि ।

२०४६ साल पछि त काँग्रेस र कम्युनिस्ट पनि खुला भए, आफ्ना विचार कोठामा मात्र होइन ठुला आमसभामा व्यक्त गर्ने अवसर पाए । आमनिर्वाचन आएपछि त प्रत्येक गाउँ, टोल र वस्तीमा नेताहरु भाषण गर्दै हिँड्छन् । एकले अर्काेलाई यस्तो सत्तोसराप गर्छन् कि तिनीहरु एकै ठाउँ बस्न त परै जाओस्, एकापसमा देखादेख पनि गर्न सक्दैनन् । जव निर्वाचन सकिन्छ, सत्ताको खेल सुरु हुन्छ । अनि जो जससँग जसरी मिलेर सत्तामा जान पाइन्छ वा सकिन्छ तयार हुन्छन् ।

मैले यहाँ बुझ्न नसकेको एउटा कुरा के हो भने आफूले राष्ट्रद्रोही र राष्ट्रघाती करार गरेको व्यक्तिसँग एउटै मन्त्रीमण्डलमा बसेर सत्ता साझेदार गर्न सकिन्छ वा हुन्छ ? के यो नैतिक कुरा हो ? आफैले गद्दार भनेका व्यक्तिहरु सत्ता स्वार्थकै लागि एउटै मोर्चा बनाउने, दल एकीकरण गर्ने वा उसैलाई प्रधानमन्त्री भनेर, मानेर मन्त्रीमण्डलमा बस्न कुन मूल्य मान्यता र नैतिकताले दिन्छ ?

यी र यस्ता हर्कत विगतमा पटक पटक भए तर दलका नेताले यो परिस्थितिको उपज हो वा राजनीतिमा कोही शत्रु र मित्रु हुँदैन भनेर उम्किए । हो, मान्न सकिन्छ, देश र जनताको लागि विषम् परिस्थितिमा भिन्न दृष्टिकोण हुने दलहरु एक ठाउँ उभिनुपर्ने बेला आउँछ, जुन २०४६ साल, २०६२/०६३ र संविधान निर्माण र घोषणाको समयमा थियो । राजनीतिमा प्रतिस्पर्धी दलहरुले शत्रुको व्यवहार गरे भने देश सञ्चालन नै गर्न सकिँदैन, यो पनि सत्य हो । जस्तो उदाहरणको लागि संवैधानिक परिषदमा प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्ष दलको नेतासम्म सदस्य हुन्छन् । त्यसो भए एकले अर्कालाई गाली नगरी, शत्रुको ब्यवहार नगरी, धारे हात नलगाई नेपालमा राजनीति गर्न, दलको नेता बन्न वा चुनाव प्रचार गर्न सकिँदैन त ?

म त भन्छु, अवश्य सकिन्छ । धेरै टाढा जानै पर्दैन, हाम्रो माझबाट भर्खरमात्र टाढा हुनु भएका स्व. प्रदीप गिरिले कसलाई भन्न बाँकी राखेका छन् र ? तर्क, तथ्य र विश्लेषणसहित बोल्ने हो भने त्यसलाई श्रोता र पाठक सबैले अत्यन्त मन पराउँछन् भन्ने ज्वलन्त उदाहरण हुन स्व. गिरि । उहाँले न प्रतिपक्ष दल, प्रतिपक्षी नेता न आफ्नै दलका नेता, प्रधानमन्त्री वा मन्त्रीलाई भन्न बाँकी राख्नु भयो । तर उहाँका भनाइमा न गाली हुन्थ्यो, न छुद्र शब्द नै । उहाँ त कतिपय कविता, गीतका सेरहरु, अन्तर्राष्ट्रिय उदाहरण दिएर सम्मानका साथ आफ्ना भनाई राख्नु हुन्थ्यो ।

मैले सुने र पढेसम्म विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइराला जस्ता नेताहरुले पनि आफ्नो प्रतिस्पर्धी दल, प्रतिस्पर्धी दलका नेता आदिलाई गालीगलौज गरेको, होच्याएको, धारे हात लगाएको पटक्कै पाएको छैन ।

यो गालीगलौज र आरोप प्रत्यारोप गर्ने बानी साँच्चै छातीमा हात राखेर भन्ने हो भने कम्युनिस्टहरुमा बढी पाइन्छ । थाहा छैन किन हो, यो विषयको अनुसन्धान गर्ने र कारण पत्ता लगाउने काम कम्युनिस्ट पार्टिका नेता वा कार्यकर्ताले नै गरुन् भन्ने चाहन्छु । दल त काँग्रेस पनि फुट्यो, राप्रपा र मधेशवादी दल त कति पटक फुटे कति पटक, गन्नै गाह्रो छ । तर यी दलका नेताहरुले कम्युनिस्टहरुको जस्तो रत्नपार्कबाट विना प्रमाण भ्रष्टाचारी र गद्दार करार गर्ने, एकले अर्काेलाई राष्ट्रघाती, देशद्रोही भन्ने गरेको पाइँदैन । दल फुटाएर प्रतिस्पर्धी दललाई सहयोग गर्न जाँदा रिस उठ्नु स्वभाविक हुन्छ ।

एउटा उदाहरण हेरौँ न, दाजुभाइ भिन्दा हुँदा पनि त यस्तै हुन्छ । तर भाइ वा दाइ भिन्दा भयो अथवा एकापसमा झगडा भयो भने आमाचाकरी गाली गरे त्यो भनाइ आफूतिर आएन र ? दल विभाजनको वेला वा निर्वाचन प्रचार प्रसारको बेलामा आरोप प्रत्यारोपले पनि धेरै त माथितिर फर्केर थुके जस्तो भएको छैन र ? एकछिन कार्यकर्ताले ताली त पिट्छन् तर आफूले बोलेको भाषणको भिडियो शान्त मनले कुनै रिसराग नराखी, शान्त वातावरणमा सुन्ने हो भने ती नेताहरु पक्कै पनि सोच्दा हुन्, मैले यी शब्द चाहिँ प्रयोग नगरेको वा उनलाई त्यसरी नभनेको भए पनि हुन्थ्यो ।

कतिसम्म झर्छौँ हामी, कसैले कसैको नाम लियो भने मुख खोकल्नु पर्ने, कसैले कसैको नकारात्मकदेखि अरु कुरा गर्नै नहुने भनेर कार्यकर्तालाई निर्देशन दिन्छौँ । एकछिन सबैले सोचौ न, नेताहरु टेलिभिजनमा बहसमा बस्नुहुन्छ, एकापसमा कुटौँला जस्तो गर्नुहुन्छ । तँ तँ र म म गर्नुहुन्छ । यति तल्लो स्तरमा झरेर बोल्नुहुन्छ कि टिभी नै बन्द गर्न मन लाग्छ । हामीले नेपाली समाजलाई कस्तो बनाउँदैछाँै ? आखिर समाजका सदस्य यिनै दलका कार्यकर्ता त हुन् । अहिले त कम्युनिस्ट मात्र होइन, अरु दलका नेता पनि यो प्रतिस्पर्धामा ओर्लिए जस्तो लाग्छ ।

आज भन्दा अगाडि जे भयो भयो, अब आइन्दा त्यसो नगरे हुन्न र ? मलाई लाग्छ, निर्वाचन जित्नको लागि एकले अर्काेलाई अझ भनाँै व्यक्तिगत तहमा ओर्लेर गाली गर्नु पर्दैन । हालै सम्पन्न स्थानीय निर्वाचनमा त्यस्ता धेरै उदाहरण छन्, जहाँ प्रतिस्पर्धी उम्मेदवारहरु विकास, निर्माण, गाउँको समृद्धि आदि विषय लिएर निर्वाचन प्रचार प्रसारमा हिँड्दै, एकापसमा मित्रतापूर्ण व्यवहार गरेको ।

मैले नजिकबाट हेरेको काभ्रेको बेथाञ्चोक गाउँपालिकाको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भगवान अधिकारी र एमालेका अध्यक्षका उम्मेद्वार कमलप्रसाद तिमल्सिनाको सौहार्दपूर्ण व्यबहार थियो र त्यस्तैमा निर्वाचन सकियो । आगामी निर्वाचनलाई पनि उच्छृङ्खल गाली, अनावश्यक आरोप प्रत्यारोप, मनगढन्ते र मिथ्या लाञ्छनामुक्त निर्वाचन बनाऔँ ।

मेरो त निर्वाचन आयोगलाई पनि अनुरोध छ कि नेताको बोली र भाषणमा पनि आचारसंहिताले बोलोस् । बिना प्रमाण वा बिना तथ्य यो त राजनीतिक भाषण हो भनेर कसैलाई चोर भन्न पाइन्छ ? मान्छेलाई गधा भन्न पाइन्छ र ?

नेताज्यू, आउँदो निर्वाचनमा आफ्नो दलको नीति, कार्यक्रम, कार्ययोजना आदिको बारेमा बोल्नुहोस् । प्रतिस्पर्धी दलको नीति, कार्यक्रम, कार्ययोजनालाई तर्क र तथ्यसहित पराल चुटे झैँ चुट्नुहोस् । आफ्नो दलको अर्थ नीति, शिक्षा नीति, परराष्ट्र नीति, जलस्रोत नीति आदिको बारेमा फँुदा गाँसी गाँसी बोल्नुहोस् । उदाहरण र उखानटुक्का प्रयोग गरी गरी प्रस्ट पार्नुहोस् ।

तर विन्ती छ नेताज्यू, तपाईंको समकक्षी उम्मेदवारलाई वा दललाई बिना प्रमाण र तथ्य बिभिन्न किसिमका नकारात्मक विशेषण नभिराउनुहोस् । चुनावी प्रतिस्पर्धामा होमिएका सबै साथीहरुलाई सम्मान गर्नुहोस्, आदरार्थी शब्द प्रयोग गर्नुहोस् । व्यक्तिगत चरित्रहत्या गर्ने गरी बोल्दै नबोल्नुहोस्  ।

दश औला जोडी बिन्ती छ नेताज्यू, मंसीर ४ यो निर्वाचन, गालीगलौजरहित, छुद्र र असभ्य भाषाको प्रयोगरहित, घृणा र द्वेषरहित बनाउनुहोस् । आखिर जित्ने त तपाईं उम्मेद्वारहरुमध्ये एकले त हो । हामी त केवल दर्शक, श्रोता, पाठक र एक इमान्दार मतदाता न हौँ । मेरो त अनुरोध मात्र हो, आगे विचार हजुरहरुकै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप