शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्रीद्वय गगन र विश्वप्रकाशलाई खुलापत्र

आइतबार, १२ भदौ २०७९, १४ : ५३
आइतबार, १२ भदौ २०७९

महामन्त्रीद्वयलाई 
जय नेपालसहित न्यानो नमस्कार !
दाइहरु (गगन थापा र विश्वप्रकाश शर्मा) सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु । यहाँहरुको राजनीतिक दौडधुपले पनि सन्चै हुनुहन्छ भन्नेमा विश्वस्त छु । युवाको बाहुल्यता भएको केन्द्रीय कार्यसमिति र दाइहरुप्रति आशा १४ औं महाधिवेशनको नतिजा पश्चातको जस्तो छैन । १४ औं महाधिवेशनमा दाइहरु महामन्त्रीमा निर्वाचित हुँदा नेपाली काँग्रेसप्रति आशा राख्ने, खट्ने कार्यकर्ता जस्तै नेविसंघमा आवद्ध म एक युवाको मनमा पनि पार्टीको आगामी भविष्यप्रति विश्वास जागेको थियो ।

मैले आफै प्रतिनिधि भएर मत हाल्ने मौका त पाइनँ तर पक्कै पनि चोक चोकमा नयाँ–पुराना प्रतिनिधि साथीभाइ भेट्दा दाइहरुको प्रशंसा तथा रक्षात्मक जवाफ फर्काउनेमध्ये म पनि एक थिएँ ।
मलाई वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र पुराना पुस्ताका नेताप्रति न कुनै आशा थियो, न अहिले ।  किनकि मैले देखेको, सुनेको र प्रभावित भएको पुस्ता दाहहरु हो । यहाँहरुलाई राजनीतिक आदर्श मानेर नेविसंघमा लागेका हामीहरुलाई महसुस हुने गरी काम नभएको तथ्य लुकेको छैन । तर मलाई यो पनि अवगत छ कि दाइहरु निरन्तर काँग्रेसमा युवाहरुलाई जिम्मेवारी दिलाउन प्रयासरत हुनुहुन्छ ।

सोही कारण प्रमुख भ्रातृसंस्थाहरु नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, आदिवासी जनजाति संघले तदर्थ नै भए पनि नेतृत्व पाएका छन् । बाँकी भ्रातृसंस्थाको गठन र गठन भएका भ्रातृ संस्थाको केन्द्रीय कमिटीलाई पूर्णता दिने कुरा पार्टी सभापतिकै अधिकार हो भन्नेमा म जानकार छु ।

सभापतिको कलम समयमा नचल्दा काँग्रेसमा काम गर्ने रहर भएका म जस्ता हजारौँ युवा जिम्मेवारीविहीन भएको पनि मलाई अवगत नै छ । पार्टीभित्रको यो अवस्तव्यस्त अवस्थाको अन्त्यका लागि दाइहरुको जोडबल भएकै छैन पनि म भन्दिनँ । तर महामन्त्रीद्वयको दबाब र सुझावले मात्र सभापतिमा पार्टीलाई व्यवस्थित बनाउन गति बढाउने संकेत देखिएको छैन । यसका विरुद्ध दाइहरुले केन्द्रीय समितिको युवा उपस्थितिलाई साथमा लिनुपर्थ्यो ।
आफ्नो पुरानै शैली र सोचबाट ग्रसित नेतृत्वलाई बदल्न युवालाई साथमा लिएर सशक्त दबाब नबढाएकोप्रति दाइहरुसँग मेरो गुनासो हो । 

अहिले १५८ जना पार्टीको केन्द्रीय कार्यसमिति छ । केन्द्रीय समितिमा युवा नेताहरुको बुहमत छ । त्यसमा पनि अधिकांश नेता नेविसंघ, तरुण दल र महिला संघबाट उदाएकाहरु छन् । पदाधिकारीमा त भ्रातृसंस्थाबाट गएका नेताहरुको बर्चश्व छ । पार्टीमा यस्तो अनुकुल परिस्थिति हुँदाहुदै पनि भ्रातृसंस्थाले पूर्णता नपाउनुमा दाइहरुको जोडमा कतै कमी भयो कि भन्ने एउटा प्रश्न खडा भएको छ ।

किन भ्रातृसंस्थाको ‘प्यालेटफार्म’बाट नेतृत्व तहमा पुगेका नेताहरुको सोही संस्थाप्रतिको उदासीनता र अकर्मण्यता उदेकलाग्दो छ । दाइहरु नेतृत्वमा पुग्दा पनि यो उदेकलाग्दो परिस्थितिको अन्त्य हुने संकेत समेत नदेखिनु थप लाजमर्दो हो भन्नु आइतबार कुर्नु पर्दैन अब । 

हामीले पुराना पुस्ताबाट त आश मारिसकेको अवस्था थियो र छ । उहाँहरुलाई उर्जाशील युवा पार्टीपंक्ति होइन, चुनावताका झन्डा र फोटो समाउने कार्यकर्ता चाइएको देखिन्छ । अर्को कुरा पुराना पुस्ताका नेतासम्म न नयाँ आएका युवाको पहुँच पुगेको छ, न नै आवाज सुन्ने अवस्थामा हुनुहुन्छ उहाँहरु ।

यस्तै विभिन्न कारणले हेर्ने हो भने पनि पुराना पुस्ताका आदरणीय नेताहरुबाट हामीलाई आश छैन । तर, दाइहरुबाट ठूलो आश बोकेका थियौं र छौं । नेपाली राजनीतिमा गौरवपूर्ण इतिहास बोकेका पार्टी भ्रातृथालाई दाइहरुले पुनर्ताजगी दिनुहुन्छ भन्ने आशा अझै जीवितै छ । 

२००७ सालको राणा शासन विरुद्धको लडाइँ, पञ्चायत विरुद्धका लडाइँ र २०४६ सालको आन्दोलन वा ०६२–६३ को आन्दोलनलाई मूर्तरुप दिनमा भातृसंस्था जहिले अग्रपंक्तिमा छाती थापेको थिए । सोही क्रममा कैयौं मान्छे देश र जनताका लागि  सहिद भएको सर्वविदितै छ । त्यो छाती थाप्नेमा दाइहरु पनि हुनुहुन्छ ।

युवालाई आन्दोलनको अग्रमोर्चामा उभ्याउन संगठित गर्ने नेविसंघ, तरुण दल, महिलासंघ लगायतका भ्रातृसंस्था कोमामा छन् । लोकतान्त्रिक व्यवस्थाका लागि लडेका नेपाली काँग्रेसका भ्रातृसंस्थामाथि आज अलोकतान्त्रिक विधि लाद्ने काम नेतृत्वबाट भएको छ । लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाका लागि स्थापना भएको लोकतान्त्रिक पार्टीका भ्रातृसंस्था आज अलोकतान्त्रिक कदमका शिकार भएका छन् । भ्रातृ संस्थामा अधिवेशनबाट नेतृत्व चयन हुन जुग कुर्नपर्छ । सबैजसो भ्रातृसंस्थामा टीके प्रथा मौलाएको छ ।

टीका लगाएर नेतृत्व चयन गरिएपनि कमिटीले पूर्णता नपाउँदै भंग हुने परिपाटी बनेको छ । राजीव ढुंगाना नेतृत्वको तदर्थ समिति दुई वर्षसम्म पनि पूर्णता नपाएर भंग भयो । अहिले नेविसंघले नेतृत्व पाएको ६ महिना भइसक्यो । दुजाङ शेर्पा नेतृत्वमा आएपनि कमिटीले पूर्णता पाउन सकेको छैन ।

कुनै विशेष परिस्थिति उत्पन्न हुँदा त केन्द्रीय कमिटीले भ्रातृसंस्थाहरुको नेतृत्व चयन गर्नु ठिक हो । तर जहिले त्यहीँ वातावरण कतिको जायज छ, दाइहरु आफै भन्नुस् त ?
टीके प्रथाले यति जडा गाडिसक्यो कि भ्रातृसंस्था न आफै चल्न सकेको छ, न त राष्ट्रिय एजेन्डामा बहस चलाउन सकेको छ । टीके प्रथाले उल्टै नेताको चाकडी गर्ने प्रतिस्पर्धा चलेको छ । युवा–विद्यार्थी नेताहरुबाट कहिले कुनै दाइलाई बिना एजेन्डा भेट्न जाने त कहिले दाइको दैलोमा गएर खुट्टा मुसार्ने काम भइरहेको छ ।

जसले न त राम्रो नेतृत्व उत्पादन गर्छ, न त पार्टीको मूल्यमान्यता स्थापित गर्नमा मद्दत गर्छ । अन्तिममा तीनै नेतृत्वमा पुग्दै जान्छन् र उनले पनि भोलिका दिनमा आफ्ना कार्यकर्ताबाट त्यही अपेक्षा राख्छन् ।
अहिले देशभरि स्वतन्त्रका नाममा युवाको राम्रै जमात बन्दै गएको छ ।  क्षमता हुँदा हुँदै पनि युवाहरुले पार्टीमा ‘स्पेस’ पाउने कुनै आधार नरहेपछि स्वतन्त्र रुपमा युवा संगठित भएको देखिन्छ ।

कयौं बालेन शाह, हर्क साम्पाङको जस्तो क्षमता रहेका नेविसंघमा काम गर्ने युवा यतिकै विलाउदै गए शिथिल भएका छन् । देशमा भर्खरै स्थानीय तहको चुनाव भयो । त्यहाँ पनि काँग्रेसले भ्रातृसंस्थामा रहेका बालेन र हर्कहरुको खोजी गरेन । अब आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा चुनाव हुँदैछ । यो आमचुनावमा पनि भ्रातृसंस्थाको उतिकै महत्त्व हुनेछ ।

हामी पार्टी जिताउन कुनै कसुर छाड्ने छैनौं, दाइहरु पनि एकदिन भए नि यो गम्भीर समयमा हाम्रो बारेमा सोचिदिनु होला । यहाँ त कुर्दा कुर्दै समय गयो ।
अस्ति साउनमा त भ्रातृसंस्थाले पूर्णता पाउने पक्का भएको भन्दै हिँडियो । तर हात्ती आयो हात्ती आयो फुस्साको भएको अवस्था छ । जे भए नि, मैले हार मानेको छैन  । गगन र विश्व दाइ हार नमान्नुस् । गगन दाइले भन्ने गरेकै शैली सापटी लिएर भन्छ चाहन्छु, ‘खुट्टा नकमाउनुस् । राम्राका लागि अघि बढ्नुस् । हामी छौँ दाइहरुको साथमा ।’

पार्टी र मुलुकको बागडोर एकदिन दाइहरुले सम्हाल्ने मौका पक्कै पाउनु हुनेछ । आशा छ, यो सपना पनि छिटै पूरा हुनेछ । दाइहरु हाम्रो सपनालाई पनि मर्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु ।
केयु मेडिकल विद्यार्थी कल्याण परिषद्का पूर्व अध्यक्ष तथा चिकित्सा विद्यार्थी आन्दोलन संयोजक डा. भट्ट नेविसंघमा आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप