शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकोसी तेस्रो जलविद्युत आयोजना : १९ हजार जनसंख्या प्रभावित बन्ने

आइतबार, १२ भदौ २०७९, १३ : ०२
आइतबार, १२ भदौ २०७९

सुनकोसी तेस्रो जलविद्युत आयोजना बनाउँदा १९ हजार जनसंख्या प्रभावित बन्ने भएका छन् । जुन आयोजना नेपाल र बंगलादेशले संयुक्तरूपमा बनाउने तयारी गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार ६८३ मेगावाटको जलाशययुक्त आयोजना बनाउँदा उक्त जनसंख्या प्रभावित बन्ने भएको हो ।

आयोजनाको ईआईए प्रतिवेदन हाल वन तथा वातावरण मन्त्रालयमा विचाराधीन अवस्थामा छन् । उक्त प्रतिवेदनअनुसार बागमती प्रदेशको रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोकका करिब ३५ सय घरधुरी प्रभावित बन्ने छन् । उक्त घरधुरीमा बसोबास गर्दै आएका ११ हजार जनसंख्या आयोजनाबाट प्रभावित बन्ने जलविद्युत इञ्जिनियर सभास थपलियाले बताए ।
‘यसअघि तयार पारिएको पुरानो ईआईए प्रतिवेदनअनुसार १६ सय घरधुरी प्रभावित बन्ने देखिएको थियो,’ उनले भने, ‘तर, नयाँ प्रतिवेदनले ३५ सय घरधुरी आयोजनाबाट प्रभावित बन्ने देखिएको छ ।’ आयोजना बनाउँदा ४ जिल्लाका १३

स्थानीय तहका ४५ वटा वडा प्रभावित बन्ने देखिएको छ ।

यो आयोजना बनेपछि नेपालको वर्षायाममा हुने विद्युत अभावलाई समेत पूर्ति गर्ने बताइएको छ । यस्तै, ६८३ मेगावाट क्षमताको यषे जलाशययुक्त आयोजनाको बाँध बायाँतर्फ रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र दायाँतर्फ काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा प्रस्ताव गरिएको छ ।

उक्त जलाशय बाँध स्थलबाट ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसको अधिकांश क्षेत्रमा पुष्पलाल राजमार्ग र अरनिको राजमार्गको सडक खण्ड पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना प्रभावित वडाहरूको जनसंख्या १ लाख २० हजार ६२ जना छ । आयोजनास्थलमा साना–ठूला गरेर कुल ४६८ वस्ती छन् ।

यस्तै, त्यस क्षेत्रमा २१४ वटा विद्यालय छन भने ५ वटा कलेज छन् । आयोजनास्थलमा कूल ६५ वटा स्वास्थ्यसेवा प्रदायक संस्था रहेका छन् । घरधुरी सर्वेक्षण अनुसार आयोजनाबाट प्रभावित परिवारहरूको कूल जनसंख्यामध्ये ४८.९ प्रतिशत महिना र ५१.१ प्रतिशत जनसंख्या पुरुषको छ । आयोजनाबाट १२ विभिन्न जात÷जातिका परिवार प्रभावित हुनेछन् ।

जसमध्ये सबैभन्दा बढी तामाङ २४.२ प्रतिशत, ब्राम्हण २१.७ प्रतिशत, माझी १८.३ प्रतिशत, क्षेत्री १२.९ प्रतिशत तथा नेवार ९.८ प्रतिशत छन् । सर्वेक्षण गरिएका कूल घरधुरीमध्ये ९८.३४ प्रतिशत जनसंख्या आफ्नै घरमा बस्छन् । आयोजना निर्माणका लागि २ खर्बभन्दा बढीको लगानी लाग्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप