सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बर्किमार लोकमहाकाव्य, अट्वारी पर्व र भीमसेनको अन्तरसम्बन्ध

आइतबार, १२ भदौ २०७९, ११ : ४८
आइतबार, १२ भदौ २०७९

थारू लोकमहाभारत अर्थात् बर्किमार लोकनाटकको कथा महाभारत कथासंग मेल खाने लोकगाथा हो । तर थारू लोक महाभारत (बर्किमार) मा पात्रहरुको प्रस्तुति जसरी भागवत गीतामा कृष्ण भगवानलाई पाण्डव सेनाको सारथीका रुपमा महत्वका साथ प्रस्तुत गरिन्छ, बर्किमारमा अर्जुन संगै अति महत्व पाउने पात्र भेँवा (भीम) हुन् । अटवारीमा उनको विशेष पूजा पनि गरिन्छ । 
बर्किमार लोकनाटकमा बाह्र वटा पर्वहरुमा सूचीकृत गरिएको छ । जसमा सम्ह्रौटी गीतबाट कथावाचन र प्रस्तुती सुरु गरिन्छ । 
सम्ह्रौटी गीतः
बेबुरि बिनायक झमकि उरावै, बिना बुद्धिक टुम्हारो पाउ । 
ढनपटि ढन रे कुबेर टोर, हिरडा बइस मोटि डेहो र सिखाइ ।।
भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा । 
पुरुब मै समिरौ सुरुज भरार, पछिउ मै समिरौ डेवि अउटार ।।
उटर मै समिरौं हरिबविलास, डखिन मै समिरौ श्री जगन्नाठ । 
भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा ।। 

पहिलो पैढार (पर्व) मा लखागीर रहेको छ । यस पैढारमा गुरु डौनागीर अर्थात् गुरु द्रोर्णाचार्यले गुरुकुलमा दर्शन, कला, साहित्य, संस्कार संस्कृति, युद्धकला आदि समग्र शिक्षित गर्ने क्रममा पाण्डव र कौरव पक्षका बीच जहिले पनि प्रतिस्पर्धा भएको वर्णन छ । 

पाण्डुका छोरा जुढिष्ठिल अर्थात् युधिष्ठिर हस्तिनापुरको राजा बन्ने कुरा थाहा पाएपछि जिरिजोढन (दुर्याेधन) लाई उकुसमुकुस हुन्छ । अनेक जालझेल, तिकडम गरेर भएपनि आफू राजा हुनुपर्ने सोचको भूत उनमा सवार हुन्छ । त्यसै क्रममा मामा शकुनीसंग पाँच पाण्डुको सर्वनाशको कुनै न कुनै उपाय निकाल मामा, भन्छन् । त्यसै क्रममा लाख (लाहाको घर) मा लगी झुक्याएर मार्ने षड्यन्त्र रचिन्छ । तर पाँच भाई पाण्डव बाँच्न सफल हुन्छन् । यसको गीति वर्णन लखागीर पैढारमा छ । 
श्लोक संवादः
राजा जिरिजोढन कह जब लाग, सकुनी मामा जोरो र उपाय । 
सौ कुछु मामा जोरो र उपाय, कोन विढि मारुँ पञ्चो भाइ ।।
राजा जुढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार । 
सकुनी मन्त्री मन्त्रा एक जोर, राजा जिरिजोढन सरस लै बोल ।।
पण्डो मारी ठोर उपाय, पाण्डौ मारी लखागीर घर डार । 
राजा जेढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार ।।

बर्किमारमा दोस्रो पर्व जटियक पैढार छ । यस पैढारमा लखागीर घरबाट बल्लतल्ल बँचेर आएका भोक, पियास र थकानले ब्याकुल पाण्डवहरुले खानपीनको व्यवस्था गर्न खोज्दा तलाउमा पानी लिन जाँदा डानु भन्ने डुँरुवा डैटुरवा (राक्षस) ले खान खोज्छ । पाँच भाईमा कसलाई आहार हुन दिने त भन्दा भीम (भेँवा) को कर्म डोरिन्छ । तर आफ्नो बल र बुद्धिले त्यस राक्षसलाई मारेर फर्कन्छन् वीर भीम । आमा कोटारिन माई (कुन्ती) ले समेत आफ्नो माइलो छोरालाई परीक्षा लिएर चिन्न सक्छिन् । 
श्लोक संवादः
कैस नगरिया लगाउँ किर्टनीया, घर घर पण्डौ डुवारी ठाह्र । 
डिहट दाता भिछिया नह ले, डिहट दाता भिछिया नहि ले ।।
राजा जेढिष्ठिल धर्ममा चल, पाँचै पाण्डव राज अवतार । 
सै किरा खयनुँ डरनु पचाइ, यिह किरा खयनुँ पेट रे पिराइ ।।
डेढ उन्जरिया पानी पिइ, किरा एक डारुँ र पचा । 
राजा जेढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।।

लोकमहाभारत बर्किमारको तेस्रो पर्वमा राउवेढ पैढार छ । यस पैढारमा बनवास त्यसमा पनि गुप्तवासमा रहेका पाण्डवले पाञ्चाल देशको डुर्पट राजाका छोरी डुर्पटी (द्रौपदी) को स्वयंवरमा अर्जुनले राउ माछाको शीर धनुषले छेदन गरेर द्रौपदीलाई प्राप्त गरेको प्रसंग बडो लोभलाग्दो ढंगले व्याख्या गरिएको छ । धनुर्धार्य अर्जुनको सर्वश्रेष्ठ धुन चलाउने कलाको व्याख्या मोहित गराउने शब्द र शैलीमा उतारिएको छ । 
श्लोक संवादः
राजा डुर्पटक बेटी भए सम्ह्रौटि, सिकह्रि टुटल जैस मैजल हाँठि । 
डुढि रि बघिन छेंक कोपिला गाइ, डुढि रि बाघिन छेंक कोपिला गाइ ।। 
राउबेढ डुरपटि लैआन, जेकर नाउँ ढनरजि हो । 
बेढल बेढल डुर्पटी र सुन, पेल पैठ ओहि रठ माझ ।। 
बहिँया पकरि भिया रह घसिया, आब डुर्पटी र हुइलो हमार ।। 
राउबेढ डुरपटी लैआन, जेकर नाउँ ढनरजि हो ।।।‘ 

बर्किमारको चौथो पर्व पसावर पैढारमा पाण्डव र कौरवको पासा खेल, शकुनीको कुचाल, राज्य र द्रौपदीलाई पासाको खालमा युधिष्ठिरले हार्नु र किंकर्तव्यविमुढ बन्नु, अप्ठ्यारो अवस्थामा पुग्नु जस्ता परिवेश यस पैढारमा बेलिविस्तार लगाइएको छ । 
श्लोक संवादः
पहिला पासा जिरिजोढन डार, टो डार जुढिष्ठिल राजा । 
परल डाउ जिरिजोढन कहि, हारिगैल जुजिष्ठिल राज ।।
राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डो राजा अउटार ।।।

पाँचौ पर्वका रुपमा बनवासक पैढार छ । यस पैढारमा पाण्डवहरुले बनवासको जीवन कसरी व्यतित गरे, के कस्तो दुःख पाए, के कस्ता करामत गरे र कसरी आफूलाई सकुशल राख्न सफल भए भन्ने कथावस्तु समेटिएको छ । 
श्लोक संवादः
पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ । 
पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ ।।
राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।।।

घरवासक पैढार छैठौ पर्व हो, बर्किमारको । यस पैढारमा पाँच पाण्डव परिवारहरु बैराठ राजा (विराट राजा) को दरवारमा काम रोजगारीका लागि आफ्नो हातहतियार लुकाएर जान्छन् । जुढिष्ठिल (युधिष्ठिर) ले लेख्न पढ्न सिकाउने काम लिन्छन् । भीमले भान्साको जिम्मा लिन्छन् । अर्जुनले आफूलाई तेस्रोलिंगी भएको र नाम बृन्नहला रहेको गीत संगीत सिकाउन सक्ने बताउँछन् । साहिडेउ (सहदेव) ले आफू घोडाको तवेला हेर्ने घोडा चराउने र दौडाउन जान्ने बताउँदै काम सम्हाल्छन् । त्यसै गरी नकुरा (नकुल)ले आफू गोठालो काम गर्न तयार रहेको बताउँछन् । डुरपटि (द्रौपदी) ले केशविन्याशमा पारंगत भएकोले रानीको सुसारे हुन सक्ने योग्यता पेश गर्छिन् । सबैले कुशलताका साथ काम गरेर बैराठ राजालाई खुशी पार्छन् । 
श्लोक संवादः
एह डेखो भइया राज फूलवारी, उहाँ डेखो भैया राजा घनवारी । 
एह डेखो भैया राजा नखनौर, कौन कोनम बोल पनिहार ।।
राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।।।

त्यसपछि, सातौं पर्वमा हँठियक पैढार छ । यस पैढारमा विराट राजाको मैमत्त हात्तीको चर्तिकला र त्यस डरलाग्दो हात्तीले गरेको बालीनालीको नोक्सान र त्यसलाई भीमले सहजै नियन्त्रणमा लिन सफल भएको कुरा बडा विचित्र शैलीमा प्रस्तुत गरिन्छ । 

बर्किमार पैढारको हँठियक पैढार धेरैले गाउने पैढार हो । थारू समुदायमा विशेष प्रभाव भीमको चरित्र रहेको छ । त्यसैले अट्वारी पर्व भेँवा (भीम)को शक्तिप्रति समर्पित भएर मनाउने चलन छ । भेवाको सहयोग दंगीशरण राजाले पनि लिएको एक मिथकमा पाइन्छ । 
श्लोक संवादः
राजक छेगरि भल खेट खावे, मोर बुटा छेगरि हाँकि रे नहि जा । 
एक ढेला मारु छेगरिया मरि जा, बाल चह्रि चह्रि खेट खा ।। 
राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।।

किचकक् पैढार बर्किमारको आठौ पैढार हो । यो पैढार पनि अति लोकप्रिय पैढारमध्ये एक हो । विराट राजाको दरवारमा विभिन्न भेषमा काम गरिरहेका पाण्डव परिवारमध्ये सैनन्द्री नामले रानीको सुसार गर्ने द्रौपदीलाई विराट राजाको साला किचकले आँखा लाउन थाल्छ । अनेक हरकत गर्छ, भीम किचकाका ती दुव्र्यवहार देखेर रिसले चुर हुन्छ । 
तर दाजु युधिष्ठिरको आज्ञाअनुसार गुप्तवासमा रहेकोले असली रुप नदेखाउन र बलले भन्दा बुद्धिले काम लिन पर्ने भएपछि त्यहीअनुरुप जालमा फँसाएर भीमले किचकको बध गरेको कुरा श्लोकहरुमा भनिएको छ । बर्किमार नाच नाटक मञ्चन हुँदा अर्जुनको प्रतीकको रुपमा रहेका गायन कलाकारहरुले रोचक शैली र भावभंगीमा बर्किमार गाउँछन् । 
श्लोक संवादः
कात्तिक मास जमजुटिया र लाग, पिटा परोज निउटि बलाउँ । 
निउटी बलाउँ अरबेलि कुवाँरु, आडर भाउ भैन रे कहि होइ ।। 
किचका मरन डिन पुगल बा, सौ कि सौ विढि मेटि नहि जा ।।।

बर्किमारको नवौं पर्वमा सुसर्मक पैढार छ । यस पैढारमा त्रिगर्त देशमा सुसर्मा नाउँका राजाको राज्य हुन्छ । किचका विराट राज्यको सेनापति पनि भएकोले बेलाबेलामा सुसर्माको राज्यसंग युद्ध हुने गरेकोले किचका मरेपछि सुसर्मा खुशी हुन्छ । विराट राजा कमजोर भएको पनि महसुस गर्छ । 

फेरि अर्को मनले सोच्दछ कि किचकालाई मार्न सक्ने को होला ? पक्कै पनि भीमले हुन सक्छ । सैनन्द्रीके भेषमा रहेकी सुन्दरी द्रौपदी हुनुपर्छ भन्ने अनुमान लगाउँछ । अनुमान सही निस्कन्छ । आफ्नो साथी जिरिजोढन (दुर्योधन)लाई विराट राज्यलाई आक्रमण गर्ने योजना सुनाउँछ । यसबाट पुरानो बदला पनि लिन सकिने र पाण्डवको गुप्तवासको गोपनीयता भंग गरेमा पुनः उनीहरुलाई बनवास पठाउन सकिने जुक्ति पनि सुझाउँछ । 
विराट राजाका गाईको बथान कब्जा गर्ने रणनीति ल्याइएकोमा पाण्डवले कुशलतापूर्वक विफल तुल्याइदिन्छन् । सत्यवादी युधिष्ठिरको सत्यवादिता डगाउन सुसर्मा र दुर्योधन असफल हुन्छन् । 

श्लोक संवादः
राजा सुसर्मा कह जब लाग, सकुनी मामा जोरो र उपाइ । 
सौ कुछु मामा जोरो र उपाइ, कौन कौनके बेहरबि गाई ।।
भलि र भिवाँ अरजुन ढनुर्ढर कौरो मारि बेहरल गाई ।।। 

बर्किमारको मुख्य र महत्वपूर्ण पैढार बर्किमार पैढार हो, जुन दसौ पर्वमा रहेको छ । बनवास सकेर पाण्डव परिवार घर फर्केपछि पनि दुर्योधनले पाँच गाउँ त के सियो बराबर पनि जमीन नदिने अड्डी लिएपछि न्याय र समानताका लागि सगोत्री लडाई गर्नुपर्ने परिस्थिति आइलाग्छ । लोकमहाभारतको अठार दिनको भीषण लडाईको व्याख्या यस पैढारमा कथिएको छ । 
श्लोक संवादः
सपरि सपरिक बजना बजाओ, कुल हसनापुर हाँक पराओ । 
सपरहो रे भैया, नन्डा डुलार, उटरा कुवाँर कही बेहरबी गाई।। 
भलि र भिवा अरजुन ढनुर्ढर, कौरो मारि बेहरबि गाई ।।। 

कुरु क्षेत्रको लडाइँमा लाखौ लाख सेना मारिए, यस्तो परिवार बाँकी रहेनन्, जसको परिवारबाट कोही नमारिएका होऊन् । युद्धमा भएको क्षति, दुःख, वेदना, चित्कार समानुभूतिका लागि आत्मसमीक्षा गर्ने मन बुझाउनका लागि आत्मचित्त शुद्ध गर्न तथा ग्लानी र पश्चातापका लागि मनसाँढक पैढार कथिएको छ । यस पर्वमा कारुणिक दृश्यको व्याख्या गरिएको छ । यो पैढारमा एक किसिमको आत्मलाप र स्वमूल्याङ्कन पनि अनुभूत गर्न सकिन्छ । 
श्लोक संवादः
कौरक दल सब भए सौलान, ओहि कुरुखेट रकटा रुहान । 
गिढ, चिल कौवा सब मेरराय, कुकुर सियार ब्वाँसा फोहवाय ।।
राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डौ राज अउटार ।।।

थारू लोक महाभारत बर्किमारको अन्तिम तथा बाह्रौ पर्व स्वर्गारोहण पैढार हो । कुरु क्षेत्रको लडाई जितेका पाण्डवले हस्तिनापुर र राज्यका सबै सेवाभोग गरेर पनि उनीहरुलाई शान्ति महसुस भएन । के गर्ने कसो गर्ने भन्दै गुरुजनसंग सल्लाह मस्यौदा गरेर हिमालतर्फको हरिकविलास प्रस्थान गर्न सुझाव पाउँछन् । स्वर्गको बाटो हिँडेका उनीहरुमध्ये युधिष्ठिरमात्र सिधै स्वर्ग पुग्दछन् । यस कुराबाट ससानो कमजोरीको पनि फल भोग्नुपर्छ भन्ने कुरा सम्झाउन खोजिएको छ । 

यसरी थारू समुदायको अटवारी पर्वमा भेँवा अर्थात् भीमसेनको पूजा गरिने त भनिन्छ । तर भेँवाको पराक्रम समेटिएको बर्किमारको विशेषताबारे धेरैलाई थाहा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील चौधरी
सुशील चौधरी
लेखकबाट थप