मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

आइतबार, १२ भदौ २०७९, १० : २४
आइतबार, १२ भदौ २०७९

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका  बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई  यही भदौ ८ गते  चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले  बचाएकी थिइन् ।

गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि पत्रकार सुवास पण्डितले  समन्वयकारी भूमिका निर्वाह गरेका छन् । उनका अनुसार तत्काल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । 

अस्पतालका निर्देशक डा दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको जानकारी दिए । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । “श्वास नली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो” उनले भने “चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ , श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।”

अस्पतालमा कार्यरत चिकित्सक त्रय सुरेशराज शर्मा,  सुमित अधिकारी र नवीनकृष्ण यादव  शल्यक्रिया सम्लग्न थिए । उनीहरुका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ–ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।

बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकामा खुशी व्यक्त गरे ।  उनका अनुसार गत बुधबार साँझ ५:३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उनको भनाइ छ ।

चितुवाले ५० मिटर माथिसम्म पुर्याएको थियो । आमालगायतका परिवारका सदस्यले हारगुहार गरेपछि चितुवा बालकलाई छाडेर भागेको सुवासले बताए । अस्पतालले बालकको निःशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार औषधिलगायत अन्य लागत शुल्कमात्र लिइएको छ । बच्चालाई सघन उपचार कक्षबाट साधारण कक्षमा सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप