बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनको अभियानलाई सफल पार्नुछ : सभापति यादव

आइतबार, १२ भदौ २०७९, ०७ : १३
आइतबार, १२ भदौ २०७९

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले गठबन्धनको अभियानलाई सफल पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्वारा गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान सम्बोधन गर्दै सभापति यादवले गठबन्धन भए आफूहरुले जिम्मेवारीबाट वञ्चित हुनुपर्ने चिन्ता स्वभाविक रहेको भन्दै देशमा लोकतन्त्र बलियो पार्न गठबन्धन आवश्यक रहेको बताए ।

‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ,’ उनले भने, ‘यदि यसपटक गठबन्धन सफल भएमा नेपाली कांग्रेसले यो देशमा पचासौं वर्षसम्म राज गर्नेछ ।’

उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भनेर चिन्तन गर्दै जनतामाझ जान नेता कार्यकर्तालाई सुझाए । यस्तै उनले नेपाली कांग्रेस एक्लै आफ्नो दममा चुनाव लड्न सक्षम भएको जिकिर गर्दै गठबन्धनलाई आफूले मजबुरी रुपमा लिएको बताए ।

स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पनि एक्लै लडेपनि नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित देखिएको भन्दै कार्यकर्ताहरूलाई एकढिक्का भएर पार्टी र गठबन्धनलाई विजयी गराउन गाउँगाउँमा अभियान छेड्न निर्देशन दिए ।

 ‘गत निर्वाचनमा हामी एक्लै चुनाव लडेका थियौं, एमाले तथा माओवादीको गठबन्धन थियो । नेपाली कांग्रेस बलियो भएको ठाउँमा सबै दलहरु एक भएर कांग्रेसलाई हराए । अहिले हामीले गठबन्धन नगरे यिनीहरु फेरि हामी विरुद्ध एक हुनेछन्,’ उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप