आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएले नागरिकता पाउने सुनिश्चित भएको छ : श्रममन्त्री

शनिबार, ११ भदौ २०७९, २२ : २९
शनिबार, ११ भदौ २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गरिएको बताए । 

नागरिकता विधेयक संसदबाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको उनले बताए । आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने उनले बताए । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एशिया क्षेत्रीय बैठकलाई शनिबार थाइल्याण्डको राजधानी बैंककमा सम्बोधन गर्दै मन्त्री कुँवरले देशलाई आपत–विपद् परेको अवस्थामा पनि गैरआवासीय नेपालीले आर्थिक, भौतिक र मानवीय सहयोग गरेर अविस्मरणीय योगदान गरेको स्मरण गरे । 

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल शर्माले विश्वमा अवैतनिक पर्यटन दूतको रूपमा रहेका एनआरएनका प्रतिनिधिहरूले बढीभन्दा बढी पर्यटक नेपाल पठाउन पहल गर्नुपर्ने बताए । 

यस्तै सांसद डा.सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने विषयमा राजनीतिक दलबीच मतभिन्नता नभएकाले छिट्टै नागरिकता ऐन पारित हुने उल्लेख गरे । उनले मुलुकमा लगानीको प्रशस्त सम्भावना रहेकाले एनआरएनएको भूमिका अग्रणी रहेको सो क्रममा बताए । 

सो क्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, माओवादी नेता ओम शर्मा, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, व्यवसायी राजेन्द्र खेतान लगायतले समृद्ध राष्ट्रका लागि एनआरएनएको भूमिकाका बारेमा प्रकाश पारेका थिए । 

सम्मेलनमा सङ्घका अध्यक्ष कुल आचार्यले संविधानमै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर उल्लेख गरिएको सन्दर्भमा ढिलै भए पनि संसद्ले नागरिकता विधेयक पारित गरेर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकामा सरकारलाई धन्यवाद ब्यक्त गरे । 

अर्का अध्यक्ष रविना थापाले सङ्घको १० औँ महाधिवेशनपछि आयोजना हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने दाबी गरिन् । यस्तै अर्का अध्यक्ष डा. बद्री केसीले भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणानुरुप यो भेला आयोजना गरिएको बताए । 

‘मिलाप’ नाम दिइएको सो सम्मेलनमा महिला, युवालगायत सङ्घका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले बताए ।   सम्मेलनका विभिन्न सत्रमा ५० भन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली सङ्घका मुख्य मुद्दा नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला युवाका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रित हुने गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप