बागलुङ बजारमा सचेतना सप्ताहको शुभारम्भ
बागलुङ बजारमा सचेतना सप्ताहको शुभारम्भ गरिएको छ । शनिबार बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क क्षेत्रको बाटोमा झाडु लगाएर सचेतना सप्ताहको शुभारम्भ गरेका हुन् । अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कोन) नेपाल, बागलुङ शाखाको आयोजना भएको कार्यक्रम चिप्लेटी बसपार्कबाट शुरु भै बजारका विभिन्न ठाउँमा सरसफाई गरी सम्पन्न गर्ने तयारी छ ।
इस्कोन नेपाल, बागलुङ शाखाले वर्षेनी आयोजना गर्दै आएको सचेतना सप्ताह यस वर्ष पनि विशेष सन्देशमूलक कार्यक्रमहरु गरि सम्पन्न गर्ने आयोजक पक्षले जनाएको छ । भदौ ११ देखि १७ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रमको शुरुवात नगर सरसफाई कार्यक्रमबाट भएको हो । सप्ताहव्यापी कार्यक्रममा नगर सरसफाई , वृक्षरोपण, योगध्यान प्रशिक्षण, जपध्यान यज्ञ तथा विभिन्न सचेतनामूलक सेमिनारहरू चल्ने आयोजक पक्षले जानकारी दिएको छ । कार्यक्रमका अध्यक्ष ईस्कोन नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागलुङ शाखा प्रमुख परमेश्वर अच्युत दासले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । आध्यात्माको गुढ रहस्य नै सरसफाई भएको बताउँदै उनले सरसफाई केवल वातावरणीय र शारीरिक कुराको मात्र नभई मानसिक एवम् आध्यात्मिक किसिमको पनि हुने र नगर सफाई, योग, ध्यान, जप अदिजस्ता कार्यक्रमले वातावरण, शरीर, मन तथा आत्माको पनि एकैसाथ मार्जन् गर्ने धारणा व्यक्त गरे ।
न्यु ओएसीस एकेडेमी , न्यु एभरेष्ट एकेडेमी , सिद्धार्थ शिक्षा सदन, चिल्ड्रेन लाइफ आवासीय विद्यालय, फ्युचर ब्राईटर माध्यमिक विद्यालय, गरिमा आवासीय विद्यालय, अमर आदर्श माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, कालिगण्डकी आवासीय विद्यालय, धौलागिरी आवासीय विद्यालय, युनिभर्सल सब्लाईम एकेडेमी, गुँरास विद्या सदन लगायत दर्जन बढी शैक्षिक संस्थाका विद्यार्थी तथा शिक्षकहरु नगर सरसफाई कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, डिभिजन वन कार्यालय बागलुङ, नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा बागलुङ आदि संस्थाले आवश्यक सामाग्री सहयोग गरेका थिए । नगरप्रमुख श्रेष्ठले इस्कोन बागलुङका सबै कार्यक्रमहरु विगतमा पनि सचेतनामूलक र आकर्षक रहँदै आएको कुरा व्यक्त गर्दै यस सप्ताहव्यापी सचेतना कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन