बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाँचवटा सहकारी संस्थाबीच मर्जर घोषणा, सेयर पुँजी ३० करोड ८१ लाख पुग्ने

शनिबार, ११ भदौ २०७९, १९ : ५३
शनिबार, ११ भदौ २०७९

बैंक तथा वित्तीय संस्था मात्र होइन पछिल्लो समय बीमा कम्पनी समेत एकपछि अर्को गर्दै मर्जरमा गइरहेका छन् । यस्तैमा पछिल्लो समय ३० हजार हाराहारीमा रहेको सहकारी संघ, संस्थाहरू समेत एक आपसमा मर्जरमा जान थालेका छन् । 

यस्तैमा शनिबार मात्र पाँचवटा सहकारी संस्थाहरूले एउटै संस्था बन्ने गरी एकीकरणको घोषणा गरेका छन् । काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणको सम्झौता भएको हो । १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्नेगरि यी पाँच संस्थाबीच मर्जरको घोषणा भएको छ । 

एकीकरणपछि संस्थाको नाम 'नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ भने संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख, अन्य कोषहरू २ करोड २७ लाख, कुल बचत ५ अर्ब ६३ करोड, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड, वित्तीय लगानी ४ करोड २७ लाख, तरलता रकम १ अर्ब ३८ करोड रहनेछ भने ऋणी सदस्यहरूको सङ्ख्या ६ हजार ८ सय ५८ जना हुनेछ ।

मर्जरपछि सेयर सदस्य सङ्ख्या ३० हजार २० जना पुग्ने संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । एकीकरणपछि संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) हालको आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाले सम्हाल्नेछन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा एकीकरण सम्झौता भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप