शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा  वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

शनिबार, ११ भदौ २०७९, १८ : १४
शनिबार, ११ भदौ २०७९

पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।   वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् । पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ । 

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो । यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् । 

त्यसैगरी छ लाख ८२ हजार एक सय ३९ घर क्षतिग्रस्त भएका छन् भने १४९ पुल भत्किएका छन् । प्राधिकरणका अनुसार १२२ पसल तथा व्यवसायीका प्रतिष्ठानका भवनहरूमा पनि क्षति पुगेको छ । 

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।  सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । 

पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरूले जनाएका छन् ।  बाढी पहिरोका कारण हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ । 

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप