बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जापान सरकारले पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टीमा १८.३ लाख डलर खर्च गर्दैछ

शनिबार, ११ भदौ २०७९, १७ : ०६
शनिबार, ११ भदौ २०७९

जापानको सरकारले केही समयअघि मारिएका नेता शिन्जो आबेको सम्मानमा सेप्टेम्बर २७ मा राजकीय अन्त्येष्टि आयोजना गर्दैछ । यसका लागि १८.३ लाख डलर खर्च छुट्टयाइएको हुने सरकारले बताएको छ ।  जापानमा सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री आबे जुलाई ८ मा एक चुनावी र्‍यालीमा मारिएका थिए ।

आबेको भौतिक शरीरको दाहसंस्कार यसअघि नै भइसकेको छ । सेप्टेम्बर २७ मा सरकारले सांकेतिक अन्त्येष्टि गर्न लागेको हो । आबेका राजनीतिक चेला मानिने वर्तमान प्रधानमन्त्री सुमियो किशिदाले शुक्रबार राजकीय अन्त्येष्टिको सम्पूर्ण खर्च राज्य–कोषको हुने बताए । 

किशिदाले सोही अवसरमा पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टिमा लाग्ने खर्चको अनुमान पनि सार्वजनिक गरेका थिए ।  आइतबार प्रकाशित पछिल्लो मत सर्वेक्षणमा ५३ प्रतिशत नागरिकहरु राजकीय अन्त्येष्टिको विपक्षमा रहेको देखाएको छ ।  

आम मानिसहरु सत्तारुढ दल र युनिफिकेसन चर्च बीचको सम्बन्ध खुलासा भएपछि आक्रोशित बनेका छन् । मत सर्वेक्षणमा सहभागी धेरैले सत्तारुढ दल र चर्च बीचको सम्बन्ध लुकाइएको प्रति आक्रोश व्यक्त गरेका थिए ।  आम नागरिकको असन्तुष्टिका बावजुद राजकीय अन्त्येष्टि गराउने तयारीमा लागेकाले वर्तमान सरकारको लोकप्रियता मै असर परेको छ ।

 सन् १९५० को दशकमा दक्षिण कोरियामा स्थापना भएको युनिफिकेसन चर्च, उसले गराउने सामूहिक विवाहको लागि परिचित छ । पछिल्लो समय भने चर्चले हासिल गर्ने दानमाथि प्रश्न उठ्न थालेको छ ।  सिन्जो आबेका हत्यारा युनिफिकेसन चर्चप्रति निक्कै रुष्ट रहेको र उसले चर्चसँग आबेको सम्बन्ध रहेको विश्वासमा गोली हानेको अनुसन्धानबाट खुलेको छ । 

युनिफिकेसन चर्चको कारण आफ्नी आमा कंगाल बनेको उनको बुझाई पाइएको छ । तिनको सामाजिक सञ्जाल पोस्टहरुमा उनले आबे युनिफिकेसन चर्चको प्रवर्द्धक रहेको भन्दै आरोप लगाएको भेटिएको छ । 
मिडिया रिपोर्टअनुसार अहिले आबेका हत्याराको मानसिक स्थितिको परीक्षण भइरहेको छ ।  

जापानमा दिवंगत प्रधानमन्त्रीको राजकीय अन्त्येष्टि विरलै मात्र हुन्छ । यसअघि राज्यको सम्पूर्ण खर्चमा गरिएको पछिल्लो प्रधानमन्त्रीको अन्त्येष्टि सन् १९६७ मा (शिगेरु योशिदाको) भएको थियो ।  त्यसपछि भएको अन्त्येष्टिहरूमा राज्य र सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले मिलेर खर्च बेहोर्छन् । 

आबेको राजकीय अन्त्येष्टिमा कयौं वर्तमान तथा पूर्व विश्व नेताले सहभागिता जनाउँदैछन् ।  समारोहमा सहभागी नहुने उल्लेखनीय नेतामध्ये एक जना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हुनेछन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जुलाईमा पुटिन जापान नजाने जानकारी गराएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप