सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सम्मेलन केन्द्र उद्घाटन : खाँण र पौडेलको रोचक चुनावी भाषण

शनिबार, ११ भदौ २०७९, १६ : १२
शनिबार, ११ भदौ २०७९

बुटवलमा बनेको आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शनिबार प्रधानमन्त्री देउवाले गरे । उद्घाटनमा देउवाले सहरी विकासका कुरा सामान्य रूपमा राखे । उनले सीमित लिखित भाषण छोटो समयमै सके । 

तर आफ्नो निर्वाचन क्षेत्र यही भएका रुपन्देहीका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री वालकृष्ण खाँण र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भाषण भने निकै रोचक थियो । दुई जना नेताले बुटवल तथा रुपन्देहीको समग्र विकास सन्तोषजनक रहेको बताए । तर यी दुई वक्ताको भाषणमा चुनावी सभाको झझल्को आउँथ्यो । 

आगामी मङ्सिर ४ गतेको निर्वाचन लक्षित भाषण दुवै जनाको रोचक थियो । खाँणले नेपाली कांग्रेसको पहलमा बुटवलमा बुटवल मण्डप हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन सफल भएको बताए । उनले बुटवल उद्योग वाणिज्य संघले पहिलो पहल गरेको दाबी गरे, जहाँ कांग्रेस निकट उद्योगी व्यापारी बढी छन् । खाँणले भने, ‘बुटवल उद्योग वाणिज्य संघले पहिले मेला महोत्सव गर्ने ठाउँ नपाएर शान्ति माविमा गर्थ्यो, पछि यो ठाउँ पहिचान गरेर बुटवल मण्डप हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत यही ठाउँमा बनाउन सफल भयौँ ।’ उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा बुटवल मण्डपको रूपमा जग्गा प्राप्त भएको बताए । भैरहवाको गौतमबद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको पहल पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा भएको उल्लेख गरे । 

कांगे्रस नेता खाँणले रुपन्देहीको समग्र विकासमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नवलपरासीको दाउन्नेमा सरकारले सुरुङमार्ग बनाउने तयारी गरेको बताए । त्यस्तै मझिमटारबाट चितवनसम्म पनि सुरुङ मार्गको परिकल्पना गरिएको उल्लेख गरे । उनले बुटवलको मोतीपुरमा निर्माण गर्ने भनिएको अलपत्र अवस्थामा रहेको मोतीपुर औद्योगिक करिडोरको काम बिना अवरोध अघि बढाउन आफूले पहल गरेको बताए । लुम्बिनीमा  गुरुयोजना अनुरूप काम भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा ०७४ सालमा बुटवललाई लुम्बिनी प्रदेशको अस्थायी राजधानी तोकिएको भन्दै देउवाको प्रशंसा गरे । खाँणको भाषण चुनावी सभाको जस्तो थियो । उनको निर्वाचन क्षेत्र पनि रुपन्देही क्षेत्र नं. ३ हो । त्यसैले पनि यस क्षेत्रका जनतालाई प्रभावित पार्न आफूले गरेका योगदानको चर्चा गर्न पछि परेनन् ।

त्यस्तै बुटवलका अर्का प्रभावशाली नेता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि फ्लोरलाई चुनावी भाषणकै शैलीमा प्रयोग गरे । उनले आफ्नो अथक प्रयासले बुटवलवासीको सपना पुरा भएको उल्लेख गरे । नेता पौडेलले औपचारिक कार्यक्रम सुरु नहुँदै आफ्नो फेसबुक स्ट्याटसमा आफ्नो अथक प्रयास र सबैको सहयोगले सम्मेलन केन्द्र बनाउने सपना पुरा भएको उल्लेख गरेका थिए । उनले कार्यक्रममा पनि भने, ‘कोभिड १९ र अन्य विविध कारणले सम्मेलन केन्द्र बन्न केही ढिला भए पनि बुटवलवासीको चाहना पुरा भएको छ, यो समृद्ध विकसित बुटवलको एक नमुना हो, रुपन्देहीको विकास हेर्न अब बुटवल जानुपर्छ भन्ने हामीले बनाएका छौँ ।’ रुपन्देहीलाई विकासको नमुना जिल्ला बनाउन आफूले हरपल प्रयास गरेको भन्दै बुटवल मोतीपुर औद्योगिक कोरिडोर निर्माण, बुटवल ज्योतिनगरको पहिरो नियन्त्रण तथा अन्य विकासका काममा आफूले ठूलो योगदान गरेको चर्चा गरे । 

नेता पौडेलले बुटवलको तिनाउ नदीको वारि र पारिबाट दुई ठुला केबलकार निर्माणको चरणमा रहेको, बुटवल—नारायणगढ तथा बुटवल—भालुवाङ सडक स्तरोन्नतिको काम थालनी भएको, दानव तिनाउ नदी डाईवर्सन, शिद्धबाबा सुरुङमार्ग जस्ता विकासका काम आफ्नो पहलमा भएको दाबी गर्दै उनले अप्रत्यक्ष रूपमा भोट मागे । पौडेलको निर्वाचन क्षेत्र नै बुटवल भएकाले उनले चुनावी भाषणमै धेरै समय खर्चे । पौडेल र खाँणको भाषणलाई बाक्लो सङ्ख्यामा उपस्थित भएका बुटवलवासीले रोचकतापूर्वक सुने । प्रधानमन्त्रीको भाषण भन्दा रोचक खाँण र पौडेलले गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले भने संघीय सरकारको १ अर्ब ११ करोडमा बनेको सम्मेलन केन्द्रले सोही अनुरूप प्रतिफल दिनुपर्ने धारणा राखे । ९.६ विघा क्षेत्रफलमा बनेको बहुउद्देश्यीय यो सम्मेलन केन्द्रलाई बुटवलको एक गहनाको रूपमा लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप