संसदको भूमिकाप्रति पूर्व प्रधानन्यायाधीश श्रेष्ठ असन्तुष्ट
पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले संसद र सांसदहरुको भूमिकामाथि प्रश्न उठाएका छन् । सरकारका सबै अंगहरु र संवैधानिक निकायहरूका काममाथि जनताले प्रश्न उठाउँदा समेत संसद र सांसदहरुले कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको तर्फबाट सम्पूर्ण राजनीतिक गतिविधिहरूको निगरानी गर्ने, त्यसलाई पृष्ठपोषण गर्ने, त्यसलाई भरथेग गर्ने, त्यसलाई नियमित गर्ने यावत कर्महरु गर्नुपर्ने अपेक्षा गरिएको संसदले त्यो भूमिका निर्वाह गर्न नसकेको प्रतिक्रिया दिए ।
सांसदहरु जनताप्रति जवाफदेही नभएको, उनीहरुले सरकार र संवैधानिक निकायका कामहरूमाथि उठाएका प्रश्नहरुको जवाफ दिन नसकेर रक्षात्मक अवस्था रहेको पूर्व प्रधानन्यायाधीश श्रेष्ठले टिप्पणीसमेत गरे । संसद र सांसदहरुकै कारण जनआस्थामा विचलन आएको र राज्यका सबै अंगहरु क्षतविक्षत अवस्थामा पुग्न लागेको उनको निष्कर्ष थियो ।
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने– ‘संविधानले के भन्छ भने– संसदीय सुनुवाई अनिवार्य छ । र, संसदले नियम बनाउनु अनिवार्य छ भनेकोलाई ४५ दिन पछि नगरे पनि हुन्छ भनिदिन्छ । त्यो संसदको नियमावलीले बनाउने हो र ? त्यो प्रयास पनि संसदबाट भएको हेर्न पाइन्छ । यसरी हेर्दाखेरि जनताको तर्फबाट सम्पूर्ण राजनीतिक गतिविधिहरूको निगरानी गर्ने, त्यसलाई पृष्ठपोषण गर्ने, त्यसलाई भरथेग गर्ने, त्यसलाई नियमित गर्ने यावत कर्महरु गर्नुपर्ने अपेक्षा गरिएको संसदले त्यो भूमिका निर्वाह गर्यो कि गरेन ? सांसदहरुले त्यो भूमिका निर्वाह गरेकी गरेनन् ? उहाँहरुको एकाउन्ट के हो ? परफमेन्सहरुका अर्डिट के हो ? चुनौतिहरुको अर्डिट के हो ? त्यसकारण हामीले यावत विषयहरुमा छलफल गर्नुपर्ने हुन्छ ।’
उनले भने, ‘आजको विन्दुमा फर्केर हेर्यौं भने सरकारका सबै अंगहरु र संवैधानिक निकायहरु सबैको परफमेन्सको बारेमा जनताका प्रश्नहरु छन् । जनताको जनआस्था विचलित रहेको अवस्था हेर्न पाइन्छ । र, संघीयता पनि जुन ढंगले कार्यान्वयन हुनुपर्ने हो, त्यो नभइरहेको अनुभूति रहेको छ । संविधानले हुने गरेका सबै अंगप्रत्यंग, क्षतविक्षत हुने अवस्थामा छन् र तिनले केही गर्न सक्दैनन् भने त्यसलाई सुधार्ने अभिभारा संसदको हो । त्यो भूमिकामा सांसदहरु र संसद प्रतिरक्षात्मक देखिए ।’
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराले वैदेशिक मुद्राको समेत संकट आउन सक्ने अवस्था मुलुकमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे । सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले अब आउने निर्वाचनमा भने ती समस्याहरु समाधान गर्नसक्ने जनप्रतिनिधि जनताले निर्वाचित गराउनुपर्ने आवश्यकता औंल्याए ।
जबराले मुलुकमा आर्थिक संकट आउनसक्ने पनि बताए । उनले भने, ‘देशको परिस्थिति राम्रो छैन । गभर्मेन्टको परफमेन्स सन्तोषजनक छैन । फरेन करेन्सीको क्राइसिस आउला जस्तो छ । यस विषय परिस्थितिको गम्भिर छलफल गरेर मुलुकलाई निकास दिन सक्नेगरी आगामी संसद बन्नुपर्छ ।’
कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण खनालले मुलुकमा परिवर्तन चाहने हो भने पटक पटक प्रधानमन्त्री हुने खालको पात्रहरूलाई अबको निर्वाचनबाट जनताले विदाई गर्नुपर्ने बताए । उनले पार्टीगत आस्थाको दासत्वबाट मुक्त भएर सांसदहरु नबनेसम्म मुलुक अघि बढन नसक्ने दावी समेत गरे ।
खनालले भने– ‘यदि संसदबाट मुलुकको परिवर्तनको आशा राख्ने हो भने लिडरसिपहरु अवको संसदीय निर्वाचनबाट अनिवार्य रुपमा हट्नुपर्छ । दोहोर्याउने, तेहर्याउने काम छैन । पटकपटक प्रधानमन्त्री भएकालाई अब जनताले भोट हाल्नुपर्ने जरुरी छैन ।
त्यसकारण हामीले कठोर भएर निर्णय गर्ने बेला आएको छ । पार्टीगत आस्थाको दासत्वबाट मुक्त भएर हामीले आगामी निर्वाचनमा जनप्रतिनिधिहरु छान्न सक्नुपर्छ ।’ खनालले नेताहरुको दासत्वले मुलुकलाई अघि बढन नदिएको जिकिर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
-
सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन
-
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका