गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू
![गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू](https://rpcdn.ratopati.com/media/albums/kargo-2-2048x804.jpg_J7Qi0dEh9u.jpg)
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू भएको छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालि मार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो ।
व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।
पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँच पश्चात राजस्व दाखिला गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया भई शनिबार जजिरा एयर मार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए ।
हालसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रियस्तरमा कार्गो जाने गरेको थियो । दोस्रो विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलको प्रवर्द्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेको हो ।
गौतमबुद्धबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन दिन उडान गर्दै आएको छ । यहाँबाट कार्गो सञ्चालनका लागि उसले निजी क्षेत्रसँग छलफल गरिरहेको छ । विमानस्थलमा छुट सुविधा पाएका कारण पनि काठमाडौंभन्दा भैरहवाबाट भाडादर सस्तो तोकिएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले बताए ।
राइजिङ स्टार कार्गो प्रालिका व्यवस्थापक जीवन पन्तले गौतमबुद्ध विमानस्थलको प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताए । यसै कारण पनि ‘रिक्स’ मोलेर काठमाडौंबाट ट्रकमा सामान लोड गरेर भैरहवा ल्याएर निकासी गर्न लागेको जनाए ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पनि यस क्षेत्रका व्यवसायीलाई आयातनिर्यात गर्दा गौतम बुद्धलाई प्रयोग गर्न आग्रह गरे । उनले निकासीमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो पकड जमाउन सक्ने जनाए ।
गौतम बुद्धमा नयाँ कार्गो भवन निर्माण अन्तिम चरणमा छ । तत्कालका लागि अस्थायी रुपमा दैनिक चार–पाँच सय टन सामाग्री आयात–निर्यात गर्न सकिने संरचना बनाइएको छ । विमानस्थलका अधिकारीहरूले केही कानूनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै वाह्य मुलुक पठाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैँसीबाख्रा उद्धार गर्न जाँदा २ जना बेपत्ता
-
प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित भयो : सभामुख घिमिरे
-
मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
-
सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने होडमा ‘अरेन्जी’ र टर्की
-
रास्वपा संसदीय दलको बैठक आइतबार