आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपालका लागि भारतमात्र मुख्य चुनौती रहेन’

शनिबार, ११ भदौ २०७९, ११ : १२
शनिबार, ११ भदौ २०७९

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । 

यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली भारत हो । त्यसमा उप–विजेता नेपाल चार पटक भनेको छ भने बंगलादेश एक पटक बनेको छ । 
अहिलको संस्करणमा पनि नेपालका लागि भारत मुख्य चुनौतीको रुपमा रहँदा बंगलादेश पनि नेपालको लागि चुनौतीको पाटो हो । 

यसअघिको संस्करणमा पनि नेपाल घरेलु मैदानमा नै भारतसँग पराजित भएको थियो । विराटनगरमा भएको च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यो पटक पनि नेपाललाई घरेलु मैदानमा साफ च्याम्पियनसिपको उपाधि जित्ने मौका छ । नेपाल उक्त मौकालाई सदुपयोग गर्ने योजनामा छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । त्यसका लागि साफले समूह विभाजन पनि गरिसकेको छ । नेपाल साफको समूह ‘बी’ मा  छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपालले सहभागी सबै टोलीलाई चुनौतीका रुपमा हेरेको बताए । 

नेपाली टोलीलाई पहिलो खेलबाट नै चुनौती भएको बताए । भुटानले पनि पछिल्लो समय राम्रो तयारी गरिरहेको समयमा कुन अवस्थामा टिम हुने भन्ने कुरा अहिले नै भन्न नसकिने बताए । ‘सबै टिम बिलयो नै छन् । कुनै टोलीलाई हामीले कमजोर आँकेका छैनौं । हामीलाई समूह चरणको खेलबाट नै चुनौती छ । श्रीलंका र भुटान बलियो भइसकेका छन् । भुटान त अझै १० दिन पहिले देखि नै आएर तयारी गरि रहेको छ,’ थापाले रातोपाटीसँगको कुराकानीमा भने । 

साफले सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । बंगलादेश पनि पछिल्लो समय बलियो टोली हो । बंगलादेशले पनि यो पटक राम्रो तयारी गरेको छ ।

यता भारत पनि नेपालका लागि लगातार तगारो बन्दै आएको छ । भारतसँगको इतिहासलाई भने कुमार थापाले सहजै स्वीकार गरेर प्रतिस्पर्धामा उत्रने बताएका छन् । उनले आफूले भारत प्रतिबन्धमा परेको समयमा पनि कुनै खेलाडीलाई यो विषयमा जानकारी नगराएको र आफूहरु भारतसँग पनि यो पटक कडा प्रतिस्पर्धा गर्ने योजना रहेको बताए । 

‘भारत प्रतिबन्धमा परेको समयमा हामीले कुनै खेलाडीलाई भनेका थिएनौं । उनीहरुले समाचार मार्फत जानकारी पाए । भारत प्रतिबन्धबाट फुकुवा हुन्छ भन्ने मलाई लागेको थियो । भारत बिनाको साफ त्यति राम्रो हुन्न । अब भारत आउने भएपछि साफ निकै प्रतिस्पर्धात्मक हुनेछ,’ थापाले भने । 

फिफाको प्रतिबन्धमा परेको अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फिफाले फुकुवा गरेको छ । फुकुवासँगै भारतलाई महिला साफ खेल्न बाटो खुलेको हो । साविक विजेता भारत पनि अब उपाधिका लागि प्रतिस्पर्धामा छ । फिफाले शुक्रबार भारतमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । 

यता भुटान पनि साफको तयारीका लागि नेपालमा छ । साफ च्याम्पियनसिपका लागि भनेर भुटान नेपालमा १० दिन पहिले नै आएको थियो । नेपालले साफका लागि अन्तिम टोली तयार पारिसकेको छ । मुख्य प्रशिक्षक थापाले एन्फालाई साफ खेल्ने अन्तिम २३ जनाको नाम पठाइ सकेका छन् । उक्त अन्तिम टोलीलाई एन्फाले आज सार्वजनिक गर्ने तालिका रहेको रहेको छ । 

थापाले नेपाली टोली राम्रो बनेको बताए । साफका लागि भनेर हामीले ५६ बाट ३५ हुँदै २३ जनाको टोली तयार पारेका थियौ । टिम एकदमै राम्रो छ । एक–दुई जना खेलाडी डेब्यू गर्ने सम्भावना छ । बाँकी पुरानै खेलाडी हुनेछन् । 

नेपालमा नै दोस्रो पटक आयोजना हुन लागेको प्रतियोगितामा उपाधि जित्ने ठूलो अवसर रहेको थापाले बताए । उनले आफ्नो लागि पनि यो ठूलो अवसरका रुपमा रहेकाले त्यसलाई सहज रुपमा लिएको उनी बताउँछन् । 

‘टिम राम्रो भएको छ । नयाँ खेलाडीहरूको आगमन पनि भएको छ । दुई देखि तीन जना खेलाडी नयाँ अनुहारमा पर्नेछन् । अन्य अनुहार पुराना नै हुन् । पुराना अनुहारबाट पनि धेरै सफलताको आशा गरेका छौं । मेरो लागि पनि यो प्रतियोगिता ठूलो अवसरका रुपमा रहेको छ,’ थापाले भने । 

थापाले आफूले यो अवसरलाई सदुपयोग गर्न सके नेपाली महिला फुटबललाई नै अर्काे उचाइमा पुगाउन सकेको महसुस हुने बताए । उनले अहिलेसम्म नेपालको मुख्य चुनौती भनेको नै साफको उपाधि जित्ने भएकाले यो पटक आफूहरु सफल हुने विश्वास व्यक्त गरे । 

उनले अब यो पटक आफूहरु नचुक्ने बताए । घरेलु मैदान भएकाले पनि नेपाललाई उपाधि रक्षा गर्न थप सहयोग पुग्ने भएकाले त्यसलाई आफूहरुले साकार बनाउने बताए । ‘नेपालका लागि अहिले मुख्य चुनौती भनेको नै साफ च्याम्पियनसिपको उपाधि जित्नु हो । त्यो कुरालाई हामी अब साकार गर्छौ । नेपाली टोली नयाँ इतिहास कोर्नका लागि तयार छ,’ थापाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप