सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा किन मनाइन्छ अट्वारी पर्व ?
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका जिल्लामा अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले यसअघि भदौ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर तिथि अनुसार अट्वारी पर्व भदौ १२ गते पर्ने भएकाले सोही दिन सार्वजनिक बिदा दिनुपर्ने थारु कल्याणकारिणी सभा (थाकस)ले माग गरेपछि सो मितिलाई संशोधन गरी प्रदेश सरकारले भदौ १२ गते पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको हो ।
अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले अट्वारी पर्व मनाउँदै आएका छन् । यसैबीच थारु बस्तीमा पर्वको उल्लास बढेको छ । अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
ऐतिहासिक पक्ष
थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो ।
अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपदीसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्ठता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।
मनाउने विधि र अग्रसनको महत्त्व
सामान्यतया अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको आइतबार हुन आउँछ । आइतबार भन्दा अघिल्लो राती (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार बिहानै पूजापाठ अर्थात् ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरूलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।
उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मान सम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।