बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

तीन लघुकथा

शनिबार, ११ भदौ २०७९, ०८ : ०२
शनिबार, ११ भदौ २०७९

होटलको ढिंडो
टेबलमा खाना आयो । 
“कति सधैँ भात मात्र खाने, आज मुख फेरौं भनेर ।” छोराले आएको खानातर्फ हेरेर भन्यो । 
“ल आज त आफूलाई मनपरेको खाना खाने भइयो बरु घ्यू छ कि छैन ?” एक साँझ भए पनि जुठे धन्दा गर्नु नपरेर मख्ख थिइन् बुहारी । 
आज बाहिरै खाना खाने भनेर बुबा र आमासहित आएका थिए उनीहरू । बुबाले र आमाले एकापसमा हेराहेर गरे । 
आमाले छोरातर्फ हेर्दै भनिन्, “हामीलाई केही नौलो छैन बाबै । तिमीलाई पढ्न सहर बस्दा भएको सबै धान कुटेर चामल पठाइ सक्यौं । अब हामीले खाएर बचेको यही कालो ढिँडो त हो ।”

तालकी छोरी

हिजो  उ उन्मत्त थियो । 
सोच्यो, “यति धेरै बलबान छु ।  अब कसले छोरी नदेला । मान्छन् भने हात माग्छु, नभए भगाउँछु ।” 
सबै बाटो मेरो हो जस्तै गरेर बाटो ओगटेको थियो । कमजोर देखिनेलाई बाटोमा नै लडायो, पल्टायो  र मुन्ट्यायो । 
“लौ मलाई अब तिम्री छोरी दिने भए देउ, नत्र भगाइ दिन्छु ।” उसले रवाफ देखायो । 
“साँच्चिकै मेरी छोरीसँग विवाह गर्ने हो भने हिँउदमा आउनु ।” उसले जवाफ पायो । 
बिस्तारै आकाशको बादल शान्त हुन थाले । विजुली चम्काइ हट्न थाल्यो । आकाश नीलो हुन थाल्यो । माछापुच्छ्रेले मधुर मुस्कान फाल्न थाल्यो । सूर्यले मधुर कान्ति फैलाउन थाले ।
हिलो मैलो हटेर गयो । लडेका र बगेकाहरु उठ्न थाले । फेवा शान्त र सौम्य भएर बसिन् । उसकी छोरीको हात माग्न आउने फिर्केको ढाडमा भने कमिला दौडिरहेको छ ।

शैक्षिक वातावरण
हरिप्रसादजी कोठामा कसैसँग फोन वार्तामा थिए । नरेश भित्र पस्यो । उनले फोन वार्ता बन्द गरे । 
“ड्याडी म जान लागें,” नरेशले भन्यो । 
“ल ठिक छ । सबै डकुमेन्ट दुरुस्त त छ ? ढुक्कसँग देउ । भिसा लगाउँछ ।” हरिप्रसादले छोरालाई शान्त बनाए । 
“ड्याडी म ब्याचलर त नेपालमा नै पढ्छु भन्या हो ।” नरेशले भन्यो । 
“कहाँ हुन्छ यहाँ बसेर । पढाइ नै हुँदैन । यस्तो वातावरण छ । तिमीले पैसाको चिन्ता मान्नु पर्दैन, म छदैछु । आफ्नो क्यारियरको बारेमा मात्र सोचे पुग्छ ।” उनले भने । 
छोरो निस्कियो । उनले पुनः टेलिफोनवार्ता जारी राखे । “...हेर्नुहोस् तपाईं विद्यार्थी तथा युवाहरु नै हाम्रो पार्टीको आधार हो । ...हो त्यहाँ हाम्रो उपस्थिति कम छ, अलि मेहनत गर्नुपर्ने देखियो...। एक झट्का दिनैपर्छ होला । तपाईंहरु ढुक्क हुनुहोस्, सिँगो पार्टीपङ्क्ति नै तपाईंहरुको पछाडि छ । परिआए क्याम्पस जलाउन पनि पछि नपर्नु । जसरी हुन्छ, हाम्रो संगठन बिस्तार गर्नु ।”
पोखरा–७ मासबार,                                                         कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप