बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मोतीराम भट्टको जतिसुकै सम्मान गरे पनि कम हुन्छ: कृष्णहरि बराल

शनिबार, ११ भदौ २०७९, ०६ : १८
शनिबार, ११ भदौ २०७९

आज मोती जयन्ती । तिथिअनुसार मोतीराम भट्टको जन्मदिन अर्थात् नेपालकै दरबारबाट पनि उपेक्षित रहेको नेपाली गीत, गजल, नाटकलाई नेपाल र नेपालीमाझ स्थापित गराउने व्यक्तित्वको सम्झने दिन । 

तत्कालीन समयमा नेपालकै दरबारभित्र हिन्दी, उर्दूका नाटकहरूको बोलबाला हुँदा नेपाली भाषामा शकुन्तला, प्रियदर्शिका र पद्मावती जस्ता नेपाली नाटक मोतीरामले लेखेका थिए । उनकै प्रयासले दरबारभित्र नेपाली भाषाको नाटकले प्रवेश पाएको देखिन्छ । मोतीरामकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो ।

विसं १९२३ कुशेऔँसीका दिन (भदौ २५ गते) शनिबार काठमाडौँको भोसीको टोलमा जन्मिएका उनले भानुभक्तलगायत थुप्रै पुराना कवि र तिनका कृतिहरूको खोज अनुसन्धान गरी प्रकाशमा ल्याए । विशेष गरी भानुभक्तलाई नेपालीमाझ चिनाउने र उनका कृति प्रकाशन प्रसारण गर्ने काम गरे । 

पेसाका दृष्टिले मोतीमण्डलीको स्थापना, समस्यापूर्तिका आरम्भकर्ता, भारत जीवन प्रेसका संस्थापक, मोतीकृष्ण धीरेन्द्र कम्पनीका संस्थापक, पाशुपत छापाखानाका संस्थापक भनेर चिनिने उनी देव शमशेरका नजिकका साथी पनि थिए । प्रस्तुत छ, नेपाली साहित्यका यिनै विशिष्ट प्रतिभा मोतीराम भट्टले नेपाली वाङ्मयमा पुर्‍याएको योगदानका बारेमा केन्द्रित रही प्राडा कृष्णहरि बरालसँग शिखर मोहनले गरेको साहित्यिक कुराकानी :

–तपाईं प्रतिष्ठित गीत तथा गजलकार । तपाईंका नजरमा नेपाली गजलका शीर्ष व्यक्तित्व मोतीराम भट्ट कस्ता साहित्यकार हुन् ? 

मोतीराम भट्ट बहुमुखी प्रतिभा हुन् । ३० वर्षकै उमेरमा बित्ते पनि जति काम मोतीराम भट्टले गरेका छन्, त्यो चाहिँ असाध्यै लोभलाग्दो, रहरलाग्दो छ । नेपाली साहित्यका लागि अत्यन्त प्रेरणादायी छ । उनबाट हरेक साहित्यकारले प्रेरणा लिन सक्छन् । 

कारण के भने, मोतीराम भट्टकै प्रयासबाट नेपालीमा गजल लेखन प्रारम्भ भयो । अहिलेसम्मको अनुसन्धान अनुसार उनले नै नेपालीमा गजल लेख्न सुरु गरे । आफूले पनि लेखे, बनारसमा बस्दा र काठमाडौँमा बस्दा पनि विभिन्न व्यक्तिहरू जम्मा गरेर मोतीमण्डली पनि गठन गरेर समस्यापूर्ति गर्ने काम गरे भने गजललाई मलजल गरे । उनले सङ्गीत चन्द्रोदय पनि प्रकाशन गरे । 

त्यसपछि उनले वीरहरूको बयान गरेर लेखिने वीर धाराका कविता कविता लेखे । भगवान् राम, कृष्णलगायतको भक्तिभाव गरेर भक्तिधाराका कविता लेखे । सन्त ज्ञान दिलदासका जस्ता कविताहरू पनि लेखे भक्तिधारामा । यी सबै धारालाई परिवर्तन गरेर मूल धाराका रूपमा शृङ्गारलाई ल्याइदिए । वीर धारा र भक्ति धारामा मात्र अल्झिएको कवितालाई शृङ्गार धारालाई प्रमुख बनाएर अगाडि ल्याइदिने काम मोतीराम भट्टले नै गरे । 

अर्कोतर्फ नेपाली साहित्य सिर्जनाको खोजअनुसन्धान गर्ने काम पनि उनैले गरे । सुरुमा भानुभक्तको रामायणको बालकाण्ड छपाएर प्रकाशनमा ल्याए । त्यसपछि अरू रामायण छपाए । अनि भानुभक्त आचार्यको जीवनी पनि लेखे । त्यसको समालोचना गरे । 

यसरी हेर्दा गजलको प्रारम्भ गर्ने, नेपाली कविता वीर र भक्ति धारामा रहेको कवितालाई शृङ्गारिक धारामा मूल बनाउने, सोध, खोज अनुसन्धान गर्ने, रामायण छपाउने काम मात्रै गरेनन्, भानुभक्तको जीवनचरित्र बारेमा सिङ्गै किताब लेखे । त्यसमा भानुभक्तको कविताको समालोचना पनि गरे । नाटक पनि  प्रारम्भमा मोतीराम भट्टले लेखे । त्यसका अतिरिक्त प्रेस स्थापना गरेर कृतिहरूको प्रकाशन गर्ने काम गरे । त्यसैले मोतीराम भट्टको जीवनी बहुआयामिक छ । उनले नेपाली साहित्यका लागि एकदमै धेरै काम गरेका छन् । 

–मोती मण्डलीमा चाहिँ को को थिए ?

बनारसमा हुँदा एकथरी र काठमाडौँमा हुँदा अर्का थरी थिए । काठमाडौँमा आएर खोलेका मोती मण्डलीमा लक्ष्मीदत्त पन्त इन्दु, गोपीनाथ लोहनी, नरदेव शर्मालगायत थिए । उनीहरूले लेखेको सङ्गीत चन्द्रोदयमा थुप्रै गजल र अन्यका कृतिहरू छन् । 

बनारसमा पनि उनले मोती मण्डली गठन गरेका थिए । नेपालीहरूले पनि राम्रा कविता लेख्छन् भनेर मोतीरामले बनारसमा बसेर पनि देखाए । बनारसमा बस्दा उनी भारतेन्दु हरिशचन्दबाट सबैभन्दा धेरै प्रभावित भए । 

के भनिन्छ भने भारतेन्दु हरिशचन्दले कविताको पहिलो हरफ भनिदिन्थे अनि त्यो समस्या पूर्ति गर्ने अर्को लाइन सबैभन्दा पहिले उनैले पूरा गर्थे रे । १४, १५ वर्षका बच्चै थिए त्यतिबेला उनी  । सपना जलाके अपने लगा आग तापने  भन्ने समस्या दिइएकोमा उनले ऐसा भी बेहतर देखा हे कोही आपने भनेर थपिदिए रे । अनि उनले १० रुपियाँ पनि पुरस्कार पाए रे । त्यसबाट निकटता बढ्यो अनि नेपाली साहित्यकार कस्तो, के हो भन्दा उनले त्यो बताउन थाले । उनीसँग नजिक हुन थाले । पन्नालालसँग उनले सङ्गीत सिके । उनका साथीहरूले  उनलाई कोइलीको जस्तो स्वर भएका भनेका छन् । त्यति मीठो गाउँथे रे । 

तसर्थ उनले जे जति काम गरे, नेपाली साहित्यकै विकासका लागि, नेपाली भाषाकै विकासका लागि गरे । धेरै मानिसहरू आफ्ना नामका लागि गर्छन् । उनले नेपाली भाषा–साहित्यको अभिवृद्धिका लागि काम गरेका हामी पाउँछौँ । त्यसले गर्दा मोतीराम भट्ट नेपाली भाषा साहित्यका लागि अत्यन्त विशेष, अत्यन्त श्रद्धेय, अत्यन्त सम्मानित छन् । 

–शकुन्तला, प्रियदर्शिका, पद्मावती जस्ता नाटक पनि लेखेका छन्, यो नाट्य क्षेत्रमा चाहिँ कसरी प्रवेश गरे ? 

दरबारमा देखाउनका लागि उनले नाटक लेखेका थिए । खासमा त्यतिबेला हिन्दी, उर्दूका नाटकहरू दरबारमा हेर्ने प्रचलन थियो । हिन्दी, उर्दूका गीत गजल चल्ने प्रचलन थियो । त्यसैले मोतीराम भट्टलाई के लाग्यो भने नेपाली भाषालाई माया गर्नुपर्छ । । देव शमशेरसँग पनि मोतीराम भट्ट नजिक थिए रे । उनलाई विश्वास दिलाउन नेपाली चलाउनुपर्छ भनेर नेपाली भाषामा नाटक लेखे । गीत, गजलहरू पनि नेपाली लेखे । बालकृष्ण समले ‘मोतीराम’ भन्ने नाटकमा यी चाहिँ देव शमशेर नै हुनुपर्छ भन्ने अनुमान गरेका छन् । यसबाट दरबारभित्र पनि नेपाली नाटक देखाउने काम, नेपाली भाषालाई चलाउने काम, नेपाली गजल, नाटक चलाउने काम मोतीराम भट्टले गरे भनिन्छ । 

मोतीराम भट्ट ३० वर्षकै उमेरमा बित्ते । तर नाटकको सुरुवात गर्ने, जीवनी लेखनको सुरुवात गर्ने, समालोचना सुरुवात गर्ने, खोज अनुसन्धान गर्ने, कविता लेख्ने, गजल लेख्ने काम गरे । उनका थुप्रै खण्डकाव्यहरू छन्, तीमध्ये पिकदूत निकै चर्चित छ । यस्तो श्रेय अरू साहित्यकारहरूलाई कम छ । 

–शृङ्गारिक क्षेत्रमा चाहिँ विशेष योगदान दिएका छन् भनिन्छ, कस्तो योगदान गरे ? 

हे, सुरुवातकर्ता उनै हुन् । उनीभन्दा पहिला पटक्कै थिएन भन्ने होइन । वसन्त शर्माले कृष्ण चरित्र लेख्दा शृङ्गार आउने नै भयो अलिअलि, त्यो भक्तिभित्र थियो । तर शृङ्गार नै मूल धारका रूपमा ल्याउने काम चाहिँ मोतीरामले गरे । साहित्यमा पहिला वीरहरूको स्तुति थियो, वीरधारामार्फत, त्यसमा पनि कहिले राजाको तारिफ हुन्थ्यो, त्यसपछि प्रधानमन्त्रीको तारिफ गरेर पनि कविता लेखिए । कृष्ण र रामको तारिफ गरेर लेखियो । ज्ञान दिल दासले पनि व्यावहारिक कुराहरूलाई समेत हालेर सन्त धाराअन्तर्गत भक्तिमा लेखे । तर त्यो धाराबाट फ्याट्टै अलग भएर शृङ्गारिक धारालाई मोतीरामले अगाडि बढाए । 

उनलाई भारतीय रीतिकालीन कविताको प्रभाव पर्‍यो पनि भनिन्छ । बनारसमा बस्दा अरबी, फारसी, हिन्दी, उर्दू भाषाका गीत गजलको प्रभाव पर्‍यो उनलाई । उनी आफैँ पनि गीत गजल गाउँथे । धेरै चाहिँ शृङ्गारिक हुन्थे । त्यसले गर्दा उनले चाहिँ शृङ्गारकै रूपमा धाराको विकास गरे । 

संस्कृत साहित्यमा पनि शृङ्गार नै रसको राजा हो भनेको पाइन्छ । उनलाई लाग्यो शृङ्गार रस साहित्यमा ल्याउन जरुरी छ, भक्ति मात्रै ठीक छैन । भक्तिका लागि त भानुभक्तको सवाइ नै दिए उनले । 

तपाईंलाई मोतीरामका केही गजल याद छन् ?

छ नि, केही शृङ्गारिक गजल सुनाउँछु, ल ।

यी सानै उमेरदेखि मन हर्न लागे

यिनैसँग ऐले जुलुम गर्न लागे ।।.... 

यो पङ्क्ति नै शृङ्गारिक हो । उनका प्रायः सबै गजलहरू शृङ्गारिक नै त छन् । 

यस बखतमा प्रिती गर्नु जालमा फस्नु न हो

आडमा पर्नु त चोखाका डाडमा पस्नु न हो 

हिँडिदैमा मन पनि हजार टुक्रा होइदिने

साना गर्नु त कथा है छापिउन् धस्नु न हो ।।

थाहा धसेर बादरा हजार लगाई 

विन्ती छ विन्ती सुन्दरी निस्किन लगाए..... यो पनि शृङ्गारिक छ । 

पर्ख तिनले आज मेरामाथि रनरन रन्कनु 

रिस गरी उस्तै पनि हेरेर फनफन फन्कनु...

दिनको पचास पटक त के हजार पटक सम्झाउनु

म गरिबको घरमा हरे तिमी यसरी नआउनू...

म तिम्रा अघि पर्न लायक कहाँ छु

यसैले अघिसर्न लागेँ काहाँ छु

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछु

विनामर्ज आँट गर्न लागेँ  कहाँ छु

अरूका उपर आँखीभौँ तानी हालेँ

म जाबो हरे मर्न लागेँ कहाँ छु...

दुई आँखीभौँ त तयार छन् तरबार पो किन चाहियो

तिमी आफू मालिक भइगयौ सरकार पो किन चाहियो...

यी सबै मोतीरामका शृङ्गारिक गजलहरू हुन् । त्यस्तै व्यङ्ग्यको गजल पनि छ । 

उनको चर्चित पिकदूत खण्डकाव्य पनि शृङ्गारिक नै हो ?

पिकदूत खण्डकाव्यमा विप्रलम्भ (वियोग भएको) शृङ्गार छ । त्यसमा कोइली चरामार्फत नायकलाई एउटी नायिकाले समाचार पठाएको कथा छ यसमा । ‘ए गएर भनिदे मेरो त्यो उसलाई यस्तो अवस्थामा पनि किन नआएको ? म यस्ती जवान छु, के हेरेर कहाँ बसेको ?’ भन्ने खालको छ । पिकदूतमा कालीदासको ‘मेघदूत’को प्रभाव पाइन्छ । त्यहाँ चाहिँ मेघलाई दूत बनाएको छ । यसमा कोइलीलाई दूत बनाएका छन् । यो पनि शृङ्गारिक छ । 

गजल, खण्डकाव्यमा मात्र होइन उनका थुप्रै कविता पनि शृङ्गारिक छन् । यसर्थ शृङ्गारमा उनले धेरै लेखे । आध्यात्मिक पनि उनले लेखेका छन् । भक्ति पनि लेखेका छन् । व्यङ्ग्यका कविता पनि लेखेका छन् । उनले सबैभन्दा बढी शृङ्गारमा लेखे । 

उनी आफूले मात्र लेखेनन्, आफूभन्दा अगाडिका र समकालीन साहित्यकारहरूलाई चिनाउने काम पनि गरे । त्यसले गर्दा यिनको अझ बढ्ता महत्त्व छ । 

–उनलाई राष्ट्रिय विभूति पनि घोषणा गरियो, यिनै सिर्जनाको कदरस्वरूप हो ?

राष्ट्रिय विभूति घोषणा नगरे पनि उनी ठूला मान्छे हुन् । नेपाली साहित्यमा गरे पनि नगरे पनि मैले यति भने । जुनबेला नेपाली कविता वीर धारा र भक्ति धारामा टक्सिएको थियो । त्यही मात्र लेखिन्थ्यो । धेरै व्यापकता थिएन । जीवनी खासै लेखिएको थिएन । समालोचना गर्ने परम्परा बसेकै थिएन । नाटकको लेखन सुरुवात भएकै थिएन । त्यस्तो बेलामा उनले धार परिवर्तन गराए, शृङ्गारलाई भित्र्याए । प्रकाशनको काम गरे । मोती मण्डली बनाएर सामूहिक रूपमा कविता लेख्न सुरु गरे । त्यसमा समस्या दिए, एउटा पङ्क्ति दिएर कविता पूरा गर भनेर कविता लेख्न सिकाए । त्यत्रो काम चाहिँ मोतीराम भट्टले गरेका छन् भने उनलाई त जतिसुकै सम्मान गरे पनि कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप