शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

शुक्रबार, १० भदौ २०७९, २० : ५९
शुक्रबार, १० भदौ २०७९

बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताए ।

गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउँछन् । “गत जेठमा पनि विद्यालयमा दुई विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन”, प्रअ पौडेलले भने, “अहिले फेरि समस्या देखियो ।”

सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबार नै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् । 

बिहीबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउँछन् । “हिजो पढाउँदै गर्दै पाँच विद्यार्थी बेहोस भए, आज पनि दुई विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई शिक्षिका सहित उनीहरू स्वास्थ्य चौकी पठाएका छौँ”, उनले भने, “यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।”

बिहीबार बिरामी परेका छात्राको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताइन् । अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ । विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउँछिन् ।

“दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तीज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकले निर्णय गरेको छ”, उनले भने, ‘१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग परामर्श लिएर थप निर्णय गर्ने छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप