बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ अघि बढ्छ : योगेश भट्टराई

शुक्रबार, १० भदौ २०७९, १४ : १६
शुक्रबार, १० भदौ २०७९

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्प सहितको सन्देश दिने दावी समेत गरे ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजि भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रिय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे ।

सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले  नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहोर्याए ।

उनले भने, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाहिं नेपालको मामिलामा एकअर्का बीचमा भनाभन गरिराखेका छन् । नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समुदायसँग एउटा मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो ।’ 

उनले भने, ‘अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसैले देशभित्रको आवश्यकताले नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले) को नेतृत्व खोजिराखेको छ । यिनै कुराहरूका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रिय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तर्घात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए । उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीहरूलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गरे । उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे । संवैधानिक व्यवस्थाअनुसार चुनावमा दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर निर्वाचनमा जाने उनको तर्क थियो । सचिव भट्टराईले स्थानीय तह निर्वाचनमा भएको नकारात्मक सन्देशहरूबाट सिकेर आगामी निर्वाचनमा आफ्नो पार्टीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताए ।

उनले भने– ‘नेकपा (एमाले) को मुख्य प्राथमिकता गठबन्धन होइन । चुनावी तालमेल होइन । नेकपा (एमाले) आफ्नो तागतमा आफ्नो सामर्थ्यमा, आफ्नो घोषणा पत्रको आधारमा, आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा जान्छ । र, पार्टीलाई सम्पूर्ण ढंगले यो निर्वाचनमा परिचालन गर्छ । गएको स्थानीय तह निर्वाचनमा हाम्रा केही नकारात्मक सन्देशहरू पनि छन । पार्टीभित्र कहीँ कहीँ उम्मेदवार छनोट नमिलेको, पारदर्शिता नभएको, पार्टीभित्र अन्तर्घात भएको, मतहरु अदलबदल गरेको यस्ता केही घटनाहरु पनि प्रतिनिधिमूलक ढंगले विभिन्न ठाउँमा छन् । त्यसो भएको हुनाले आउने चुनावमा त्यस्तो नहोस् भन्नका लागि उम्मेदवार छनौटमै व्यापक पारदर्शिता गर्ने । जसले जित्न सक्छ, जो इमान्दार छ । त्यो साथीले टिकट पाओस् भन्ने ध्यान दिने । टिकट पाइसकेपछि उसलाई जिताउनका लागि सिंगो पार्टी पंक्ति खर्लप्पै लाग्ने । यो स्पिरिटमा साथ यो केन्द्रिय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्देश गर्छ ।’ सचिव भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीले इमान्दार र जित्न सक्ने नेताहरुलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप