बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

शुक्रबार, १० भदौ २०७९, ११ : २९
शुक्रबार, १० भदौ २०७९

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।

सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएको छ ।

यस्तै, जलविद्युत क्षेत्रमा सहकार्य गर्न प्रस्तावित सुनकोसी–३ जलविद्युत आयोजना (६८३ मेगावाट) को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशिघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरूमा बंगलादेश पक्षले छिट्टै धारणा दिने सहमति समेत भएको छ ।

यसका साथै, नेपाल–बंगलादेश डेडिकेटेड विद्युत प्रशारण लाइन निर्माण गर्न बंगलादेश–भारत–नेपालबीच त्रिपक्षीय सम्झौताका लागि पहल गर्न दुवै पक्ष सहमत बनेका छन् । यसका साथै, सोलार होम सिस्टम र बंगलादेशको सस्टेनेबल एण्ड रि–न्यूएबल इनर्जी डेभलपमेन्ट अथोरिटीबीच समझदारीको मस्यौदाले एक महिनाभित्र  नेपालको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रलाई उपलब्ध गराउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ ।

यसैगरी, बंगलादेश पावर म्यानेजमेन्ट इन्स्टिच्युटले दिने तालिम र जलविद्युत आयोजनाहरूमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत द्विपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने सहमति भएको जनाइएको छ ।

नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि बंगलादेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका थिए । जसमध्ये सह–सचिवस्तरीय र सचिवस्तरीय गरेर दुई दिन बैठक चलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप