शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नाकामा पटक-पटक चिनियाँ अवरोध : सहज बनाउन के पहल गर्दैछ सरकार ?

शुक्रबार, १० भदौ २०७९, ०६ : ५९
शुक्रबार, १० भदौ २०७९

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा तातोपानी र रसुवागढी नाकाबाट चीनतर्फको निर्यात शून्य छ । यही समयमा तातोपानी नाकाबाट १ अर्ब १८ करोड रुपैयाँ र रसुवागढी नाकाबाट २ अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ ।  यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा समेत नेपालबाट चीनतर्फको निर्यात शून्य थियो । सोही अवधिमा तातोपानी नाकाबाट १४ अर्ब २ करोड र रसुवा नाकाबाट २४ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । गत वर्ष अर्बौंको आयात भएपनि चिनियाँ पक्षले पटक–पटक यी नाकामा अवरोध खडा गर्यो ।

नेपालबाट चीनतर्फको निर्यात ठप्प मात्रै छैन, आयातमा पनि पटक पटक अवरोधको सामना गर्नु परेको छ । यस्तै अवस्थामा पनि गत वर्ष चिनियाँ नाकाबाट अर्बौको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । २०७२ सालको भूकम्पपछि बन्दप्राय रहेको चिनियाँ नाका २०७७ पुसपछि पुनः सञ्चालनमा आएको थियो । तर, २०७७ सालको अन्तिममा सुरू भएको कोभिड–१९ महामारी यता भने चिनियाँ नाका निरन्तर बन्द छन् ।

कोरोना महामारीलाई कारण देखाउँदै आयात–निर्यातलाई नै लामो समयदेखि रोकेको चीनले फेरि नाकामा अवरोध सिर्जना गरेको छ । चीनले तिब्बतमा कोरोना बढेको बताउँदै नेपालतर्फका व्यापारिक नाका पूर्णरूपमा बन्द गरेको हो । चीनले विगत १० दिनदेखि नेपाल–चीन व्यापारिक नाका तातोपानी र रसुवा बन्द गरेको हो ।

एकतर्फीरूपमा नाका बन्द गर्दा चीनबाट नेपालतर्फ आइरहेका सयौं कन्टेनर अलपत्र परेका छन् । तातोपानी नाकाबाट पछिल्लो समय चीनले दैनिक १० वटा कन्टेनर पठाइरहेको थियो । चीनले नाकामा पूर्ण नियन्त्रण गर्दै कोटा तोकेर उक्त संख्यामा कन्टेनर पठाइरहेको थियो । तर, एक्कासी नाका बन्द भएको घोषणा गर्दा नेपाल आइरहेका करोडौं रुपैयाँको सामान बोकेका कन्टेनर चीनमै फसेका छन् ।

तातोपानी नाकातर्फ आइरहेका करिब १०० वटा कन्टेनर चीनमै फसेको हुन सक्ने भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । उनले लसुन र स्याउ जस्ता बिग्रने वस्तु बोकेका कन्टेनर नै अड्किँदा नेपाली व्यवसायीले करोडौं रुपैयाँको घाटा व्यहोर्नुपर्ने बताएका छन् । 

‘व्यवसायीहरूसँग कुरा गर्दा सामुन्द्रिक मार्ग हुँदै सामान ल्याउन थालेको बताउन थालेका छन्, यताबाट आयात नमिल्ने भएपछि समुन्द्रीमार्ग रोज्न थालेका छन्,’ गौतमले भने । यद्यपि, तातोपानी नाकातर्फ आएका ठ्याक्कै कति कन्टेनर रोकिएका छन् भन्ने एकिन तथ्यांक नभएको उनको भनाइ छ । दैनिक १० वटा कन्टेनरका दरले नेपाल प्रवेश गरिरहेकाले त्यसैले अनुमान मान्दा १० दिनको अवधिमा १०० कन्टेनर सामान रोकिएको हुन सक्ने गौतमको भनाइ छ ।

यसैगरी, रसुवा नाकातर्फ पनि सयौं कन्टेनर अलपत्र परेका छन् । तातोपानी नाकाको तुलनामा चलायमान रहेको रसुवा नाकाबाट दैनिक १५–२० कन्टेनर सामान नेपाल आउँथ्यो । जुन, अहिले रोकिएको भन्सार विभागले जानकारी दिएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपाल–चीन व्यापार २०७२ सालको भूकम्पदेखि नै समस्यामा रहेको बताए । उनले यो समस्या व्यवसायिक तहबाट समाधान गर्न नसकिने भएकाले सरकारले उच्चस्तरीय कुटनीति प्रयोग गरेर नाका खुलाउनु पर्ने बताए ।

‘सरकारले नै समाधान गर्नुपर्छ तर, विगत ८ वर्षदेखि निरन्तर अवरोध भइरहँदा सरकारले समेत समाधान गर्न नसक्ने हो कि भन्ने देखिएको छ, चीनतर्फ सामान रोकिँदा दशैं र तिहार लक्षित सामाग्रीको आयात रोकिएको छ । जसले बजारमा मँहगीदेखि अभाव सिर्जना गर्छ,’ अध्यक्ष मल्लले भने ।

नाका खुलाउन पहल गर्दै दूतावास

चीनले विगत १० दिनदेखि नाका बन्द गरेपछि चीनस्थित नेपाली दूतावास भने अवरोध खुलाउन सक्रिय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नाकाको अवरोध खुलाउन निरन्तर प्रयास भइरहेको बताए । 

यस्तै, श्रेष्ठले ल्हासामा रहेको महावाणिज्य दूतावासमा समेत निरन्तर छलफलमा रहेको बताए । चीनले चाडपर्वअघि नाका बन्द गर्दा तातोपानी र रसुवा नाका गरी २ अर्ब रुपैयाँभन्दा बढीको सामान फसेको व्यवसायीहरूले बताएका छन् । सो सामान खुलाउनका लागि दूतावास निरन्तर पहल गरिरहेको राजदूत श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप