केन्याद्वारा नेपाललाई १३१ रनको लक्ष्य
घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो ।
केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।
पाँच खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेल भदौ १० गते हुनेछ । नेपाल र केन्याबीच हालसम्म दुई खेल भएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका सन् २०१२ मा यूएईमा भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्या विरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।