आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !

बिहीबार, ०९ भदौ २०७९, २२ : ००
बिहीबार, ०९ भदौ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ । यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् । 

बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि कड्किँदै बालेनले भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’

बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन  निर्देशन दिएर फर्किएका छन् । 

तर, हट्ने छाँटकाँट नदेखिएपछि डोजर लगाएर भत्काइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप