आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण

बिहीबार, ०९ भदौ २०७९, २१ : ००
बिहीबार, ०९ भदौ २०७९

नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।  उनकाअनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ । 

त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ । 

केन्द्रीय सल्लाहकार परिषद र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेण्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेण्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्वन्धमा केही नियमहरु पारित गर्ने एजेण्डा तय गरेको छ । त्यसैगरी मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ । 

११ औं एजेण्डाका रुपमा समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने रहेको गुरुङले जानकारी दिए । बैठकमा खिमलाल भट्टराई सुमन प्याकुरेल, निरु पाल, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, अग्नि खरेल सहित १५ जनाले सुझाव अध्यक्ष ओलीको प्रतिवेदनमा समेट्नुपर्ने सुझावहरु राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप