शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !

बिहीबार, ०९ भदौ २०७९, २२ : ५६
बिहीबार, ०९ भदौ २०७९

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले भदौ २ मा ललितपुरका ३८ वर्षीय नविन श्रेष्ठलाई नियन्त्रणमा लिए । बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेपछि नवीनलाई प्रहरीले सोधे–‘यो सामान कहाँबाट ल्याएको ?’​ नवीनले जवाफ दिए–‘कालोपुलमा बस्ने एकजना इन्जिनियरबाट किन्छु ।’ प्रहरीले नवीनलाई इन्जिनियरलाई फोन गरेर सामान (लागुऔषध) मगाउन भन्यो । नवीनले फोन गरे–‘मलाई सामान चाहियो छ कि छैन ?’

उताबाट जवाफ आयो–‘सामान लिन कालोपुलमा आउनु ।’ भदौ ३ मा लागुऔषध बेच्न आउँदा पक्राउ परे, ४३ वर्षीय ध्रुव लिम्बु । सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएका ध्रुव पेशाले सिभिल इन्जिनियर हुन् ।​ ध्रुव काठमाडौं महानगरपालिका–३० कालोपुलस्थित मनिष कोइरालाले संचालन गरेको होस्टलमा बस्दै आएका थिए । ध्रुवको साथबाट प्रहरीले ५६० एम्पुल बुप्रेनोर्फिन, ५८४ एम्पुल फेनारगन र ७३७ एम्पुल डाइजेपाम बरामद गरेको छ ।

लामो समय अध्यापन गरेका ध्रुवले सो काम छाडेर ३ वर्षदेखि लागुऔषध कारोबार गरिरहेको अनुसन्धानबाट खुलेको ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए ।  खनालले भने–‘उनी सेवनकर्ता पनि हुन्, कारोबारी पनि हुन् ।’

ध्रुवले भारतबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका हुन् । भारतको आन्द्र प्रदेशस्थित विवेकानन्द जुनियर कलेजबाट प्लस टु गरेका उनले २००१ मा कर्नाटकस्थित श्री जगतगुरु मुरुङ राजेन्द्र क्याम्पसबाट  इन्जिनियरिङ पास गरेका थिए ।

उनले २००२ देखि २००४ सम्म ललितपुरको जावलाखेलमा चाइना नेशनल वाटर एण्ड हाइड्रोपावरमा काम गरे । धरानका विभिन्न कलेजमा पढाए । धरानस्थित ‘एफ टेक’मा पनि उनले पढाएका थिए । ललितपुरस्थित सेन्ट मेरिजको ‘एचटीएम एल वेभ डिजाइन’ सम्बन्धी पाठ्यक्रम आफैंले डिजाइन गरेको ध्रुवले दाबी गरेका छन् । उनले प्रहरीलाई बताएअनुसार २०११ सम्म सेन्टमेरिज स्कुलमा त्यही पाठ्यक्रम पढाइ हुन्थ्यो । २०१३ बाट उनले पढाउन छाडेका थिए ।

पछिल्लो समय उनी अध्यापन छाडेर कालोपुलको होस्टलमा सफ्टवेयर एसेम्बल, मोबाइल मर्मत र कम्युटर मर्मतको काम गर्दै आएका छन् । देखाउने पेशा कम्प्युटर र मोवाइल मर्मत भएपनि भएपनि उनी लागुऔषध कारोबारमा सक्रिय भएको देखिएको एसएसपी खनालले जानकारी दिए ।

कलेज पढ्दा गाँजाको लत

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार ध्रुवले आफू क्याम्पस पढ्दा गाँजा तान्ने गरेको बताएका छन् । गाँजा तानेर सुरु भएको उनको लागुऔषध सेवनको लत बढेर गएको छ। ​ध्रुव अविवाहित हुन् ।

ध्रुवलाई पर्सा घर भएका ४० वर्षीय जमुना साहले भारतबाट लागुऔषध ल्याइदिने गरेको खुलेको छ। मोटरसाइकलको ट्यांकीमा फल्स बटन ल्याएर शाहले रक्सौलबाट लागुऔषध ल्याउने गरेको एसएसपी खनालले बताए । उनले भने, ‘मोटरसाइकलको ट्यांकीमा विशेष तरिकाले लुकाएर ल्याउने गरेको भेटिएको छ ।’

साहलाई पनि प्रहरीले ध्रुव बस्ने कोठाबाट पक्राउ गरेको छ । साहको साथबाट बरामद गरिएको ना.४३ प ६६९३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । जमुना साह बस्दै आएको बाफलस्थित डेरामा ९८ एम्पुल बुप्रेनोर्फिन र १०२ एम्पुल डाइजेपाम प्रहरीले बरामद गरेको छ । ३ जनाको साथबाट प्रहरीले २८ सय १० एम्पुल बरामद गरेको छ ।

आरोपीहरुबारे थप अनुसन्धान भइरहेको एसएसपी खनालले बताएका छन् । नवीन श्रेष्ठ अपहरण र ज्यान मुद्दामा जेल बसेर निस्केपछि लागुऔषध कारोबारमा संलग्न रहेको थाहा भएको छ । २०६४ असोज १७ मा ८ वर्षीय बालक धीरज अधिकारीलाई अपहरणपछि हत्या गरेको मुद्दामा उनी ८ वर्ष चार महिना जेल बसेर छुटेका हुन् । नवीन श्रेष्ठसहितका अभियुक्तहरूले बच्चा अपहरण गरेर हत्यापछि बागमतीमा फालेको प्रहरीको सीआरएस (क्राइम रेकर्ड सिस्टम)मा रेकर्ड भएको छ ।

नवीन झम्सिखेलमा पत्नी र आमासँग बस्छन् । इन्जिनियर ध्रुव र नविन मिलेर विगत ३ वर्षदेखि लागुऔषध कारोबार गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप