आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अलमलमै बित्यो लोसपाको एक वर्ष

बिहीबार, ०९ भदौ २०७९, १५ : २३
बिहीबार, ०९ भदौ २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) छुट्टै दलको रुपमा क्रियाशील भएको एक वर्ष पुरा भएको छ । तर, एक वर्षको अवधिमा दलीय गतिविधि अलमलमै बितेको छ । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग भएर लोसपा २०८७ भदौ ९ गते निर्वाचन आयोगमा लोसपा दर्ता गराएको थियो । राजनीतिक दल दर्ता सम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशको बलमा ठाकुरले दल दर्ताका लागि निवेदन दिएका थिए । 

लोसपा दर्ताका लागि तत्कालीन जसपामा रहेका सांसदमध्येबाट १४ जना र कार्यकारिणी समिति सदस्यमध्येबाट १६ जनाले हस्ताक्षर गरेका थिए । दल दर्ताका लागि लोसपाले ३१ जना कार्यकारिणी सदस्यको नाम आयोगमा बुझाएको थियो । 
दल दर्ता भएपछि भदौ ११ गते एक विज्ञप्ति जारी गरी लोसपाले भनेको थियो, ‘लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मुस्लिम, शिल्पी (दलित) पछाडि पारिएका खस लगायत सीमान्तिकरणमा पािरएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्‍ठाका साथ प्रतिवद्ध रहने छ ।’

लोसपाले पार्टी गठन गरेपछि उसले गरेको प्रतिवद्धता कति पुरा भयो कति भएन, त्यो विश्लेषण हुँदै गर्ला तर संगठन निर्माणमा लोसपा अलमलमा परेको देखिन्छ ।  पार्टी गठन भएको एक वर्ष पुरा भएको छ । तर हालसम्म पार्टी केन्द्रीय समिति पनि गठन गर्न सकेको छैन । लोसपाको संसदीय दल छ तर हालसम्म दलको नेता चयन गरिएको छैन । प्रमुख सचेतक भने उमाशंकर अरगरियालाई बनाइएको छ । 

पार्टीको कार्यकारिणी समितिबाहेक अरु कुनै पनि संरचना बनेको छैन । भ्रातृ संगठनहरु निर्माण भएपनि त्यसको समितिलाई पूर्णता दिइएको छैन ।  लोसपाका नेता मनिष मिश्र पार्टी अन्य मुद्दामा पनि लाग्नुपरेकाले संगठन निर्माणमा ध्यान दिन नसकिएको बताए । उनले भने, ‘एउटा पार्टी निर्माणका लागि एक वर्ष धेरै होइन ।’

पार्टी गठन हुने वित्तिकै स्थानीय तहको चुनावको तयारीमा लाग्नुपर्यो । चुनाव सकेपछि नागरिकता विधेयकलगायत अन्य मागहरु पुरा गराउन संघर्षमा गर्नपर्यो । फेरि अहिले संघ तथा प्रदेशको चुनावको मिति घोषणा भएकाले पार्टीको ध्यान संगठन निर्माणमा हुन हुन पुग्यो ।’ 

भदौमा गठन भएको लोसपाले वैशाखको स्थानीय तहको चुनावमा भाग लिएको थियो । त्यसमा लोसपाले १६ वटा पालिका जितेको छ । नयाँ पार्टी भएर पनि यतिका सीट ल्याउनुमा लोसपा सन्तुष्ट नै देखिएको छ ।  लोसपाले हाल नागरिकता विधेयक पारित गराउन सरकारलाई दवाव दिँदै आएको छ । त्यसका साथै पाँच दलीय गठबन्धनमा  सहभागी हुनका लागि पनि सो पार्टी गृहकार्यमा लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप