सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बैतडीका मतदानस्थलमा अनुगमन सुरु

बिहीबार, ०९ भदौ २०७९, १५ : २३
बिहीबार, ०९ भदौ २०७९

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन सुरु गरिएको छ ।  निर्वाचनलाई मध्यनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितिका विषयमा जानकारी लिनका लागि अनुगमन सुरु गरिएको हो । डिलाशैनीको वडा नं २ र ३, दोगडाकेदारका वडा नं ४, ५, ७ र दशरथचन्दका ४ र ६ नम्बर वडाका मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्य, स्वास्थ्य कार्यालयका प्रमुख सहितको टोलीले मतदानस्थल, मतदान केन्द्र र स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा हालै पुनरवलोकन गरिएका मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको हो । 

पुनरावलोकन गरिएका निर्वाचन मतदानस्थल तथा केन्द्र चुस्त रहेको पाइएको जनाएको छ । यसका साथै सोही क्रममा विभिन्न स्वास्थ्य संस्थामा पनि अनुगमन गरिएको छ । उनले भने,“ अनुगमनका क्रममा केही स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि नभएको, कार्यालय व्यवस्थापनमा ध्यान नदिएको र खानेपानीको उचित प्रबन्ध नभएको समस्या देखिको छ, समस्या समाधानका लागि सम्बन्धित पालिका र समन्वयका लागि स्वास्थ्य कार्यालयलाई पनि आग्रह गरेका छौँ ।”

जिल्लाका अन्य मतदानस्थल र मतदानकेन्द्रको पनि अनुगमन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । बैतडीमा एक सय २९ ओटा मतदानस्थल र दुई सय पाँच मतदान केन्द्र रहेका छन् । यहाँ एक लाख ५१ हजार मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप