सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘कम्युनिकेसन’ को अभावले स्वास्थ्यकर्मीमाथि आक्रमण बढ्दो

चिकित्सा शास्त्रको पाठ्यक्रममा पुरानो भइसक्यो :  डा. मरासिनी
बिहीबार, ०९ भदौ २०७९, १० : ५५
बिहीबार, ०९ भदौ २०७९

वीर अस्पतालमा पित्त थैलीको अप्रेसन गर्दा दाँत निकालियो भनेर सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत निकै आलोचना भइरहेको छ । यद्यपि अस्पतालले भने वास्तविक कुरै नबुझी स्वास्थ्यकर्मीहरू माथि टीकाटिप्पणी भइरहेको जनाएको छ । साउन ३१ गते एक महिलाको पित्त थैलीको अप्रेसन गर्ने क्रममा अगाडिका ३ तीनवटा दाँत चिकित्सकको लापरबाहीका कारण झरेको बिरामी पक्षको आरोप छ । 

अस्पतालले भने उपचारका क्रममा कुनै लापरबाही नगरेको बताउँदै आएको छ । अस्पतालका अनुसार बिरामीलाई अप्रेसन गर्नुभन्दा पहिले बेहोस बनाउनुपर्ने हुन्छ । यसका लागि अप्रेसन गर्नुभन्दा अगाडि जेनेरल एस्थेसिया तथा बेहोस गर्ने प्रक्रियामा इन्टुबेशन सेट मुखबाट श्वास नलीमा पाइप राख्नुपर्छ । श्वास नलीमा पाइप राख्ने क्रममा इन्टुबेशनको एरियाले दाँतलाई ड्यामेज गर्न सक्ने तथा दाँत भाँचिएर घाटीमा अड्कियो भने अर्को छुट्टै समस्या हुन सक्छ । त्यस्तो अवस्थामा जोखिम कम गर्न र दुर्घटनाबाट जोगिनका लागि दाँतहरू निकाल्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालको तर्क छ । 

उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले उपचारको क्रममा यस्ता समस्या बेलाबेलामा आइरहने बताउँछन् । उनका अनुसार सो अप्रेसन गर्नुभन्दा शरीरमा इन्जेक्सन लगाएको २० सेकेन्डको अवधिमा प्यारालाइज हुने भएकाले तत्काल मुख, घाँटी हुँदै इन्टुबेशन फोक्सोमा तत्काल पुर्‍याएर भेन्टिलेटरमा जोडिएन भने बिरामीको मृत्यु समेत हुन सक्छ । उनी भन्छन्, ‘त्यस्तो अवस्थामा बिरामीको मुख उप्केन खण्डमा स्वास्थ्यकर्मीले हडबड गर्दा दाँत खस्न सक्ने वा निकाल्ने परिस्थिति पनि सृजना हुन्छ ।’ 

सही ‘कम्युनिकेसन’ हुँदैन

नेपालमा बिरामी, बिरामीका आफन्त र चिकित्सकबीच उपयुक्त कम्युनिकेसन नहुने भएकाले बेलाबेला स्वास्थ्य क्षेत्र आलोचित हुने गरेको पूर्व निर्देशक डा. मरासिनी बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मीले बिरामी र तीनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न नसक्दा वीर अस्पतालले पछिल्लो समय आलोचना खेप्नुपरेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘बिरामीसँग व्यवहार कसरी गर्ने, बिरामीलाई केके कुरा जानकारी दिने र  बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने बारे कसै ध्यान दिएका छैनन् । बिरामीको ल्याप्रोसकोपी अप्रेसन गर्छौँ । कुनै कारणले सो अप्रेसन सफल भएन कम्पिलिकेसन देखियो भने, चिरेर पनि अप्रेसन गर्नुपर्छ । कहिलेकाहीँ गरिएका अप्रेसन मध्ये एक प्रतिशत असफल हुने सम्भावना रहन सक्छ । ती बाहेक यस्ता यस्ता समस्या पनि आउन सक्छन् भनेर पहिलै बिरामीका सम्बन्धित परिवार जानकारी दिइँदैन । स्वास्थ्यकर्मी र बिरामीका आफन्तबीचमा सही कम्युनिकेसन नहुँदा बेलाबेला यस्तो आलोचना खेप्नुपर्छ  ।’ 

यस्तै  जबसम्म चिकित्सा शास्त्रको पाठ्यक्रममा ‘कम्युनिकेसन इन म्यानेजिङ कोर्स’ लामो अनि अनिवार्य बनाइँदैनन् तबसम्म नेपालमा बेलाबेलामा यस्तो खालका आलोचना स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले खेप्नुपर्ने बाध्यता कायम रहने उनको जिकिर छ ।  चिकित्सा शास्त्रको पाठ्यक्रममा पुरानो भइसकेको भन्दै उनले एमबीबीएसको पढाइ दोषपूर्ण रहेको उनी सुनाउँछन् ।

‘अमेरिकामा चिकित्सा शास्त्र अध्ययन गर्नेहरूलाई कम्युनिकेसन इन म्यानेजिङ कोर्स अनिवार्य रूपमा पढाइन्छ,’ उनले भने, ‘नेपालमा डाक्टर, नर्सहरूलाई पर्याप्त मात्रा कम्युनिकेसनसम्बन्धी कोर्स अध्यापन नगराउँदा यस्ता समस्याहरू उत्पन्न भएको हो ।’

नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । चिकित्साशास्त्र  कम्युनिकेसनसहितको ६ वर्षको कोर्स पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ । 

नेपालमा एकतिर स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न सक्दैनन् अर्को तिर बिरामी तिनका परिवारले कुरा नबुझीकन आवेशमा आउँदा केहीलेकाहीँ स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि आक्रमण हुने गर्छ । 

 डा. मरासिनीले पुरानो घटना स्मरण गर्दै भने, ‘२१ वर्षीया युवतीलाई तल्लो पेट दुखेर उपचारका लागि दाइले अस्पताल ल्याए । डाक्टरले जाँच गरेपछि अल्टासाउन्ड र प्रेगनेन्सी युरिन टेस्ट सुझाव दिए त्यसलगत्तै युवतीका दाइले अविवाहित बहिनीलाई गर्भ परीक्षण गर्न लगाइस् भनेर उल्टै झगडा गरेर डाक्टरलाई हातपात गरे ।’  

पछि अर्को ठाउँमा उपचारका लागि लैजाँदा उनी गर्भवती भएको पुष्टि भयो । उनको पाठेघरभन्दा बाहिरपट्टि बच्चा बसेको हुँदा पेट दुखेको प्रमाणित भएको उनले सुनाए ।  उनले त्यस घटनामा पनि डाक्टरले राम्रोसँग बिरामी र उनका दाइलाई सही तरिकाले काउन्सिलिङ गर्न नसक्दा सो घटना भएको जिकिर गरे ।

यस्तै, मान्छेको मुटु चलिराखेको छ तर, श्वासप्रश्वास बन्द हुँदा पुन श्वास फर्कन्छ कि भनेर छातीमा दबाब दिने गरिन्छ । अर्थात् श्वास फेरेझैँ हावा फोक्सो आउन दिने र फोक्सोमा भएको हावालाई बाहिर जान दिँदा कसै कसैको श्वास फर्किने गर्छ । 

त्यस्तो हुँदा तत्काल भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । तर, सबै ठाउँमा त्यो सुविधा नहुन पनि सक्छ साथै समय पनि हुँदैन । त्यस्तो विधि अपनाउँदा मेरो बिरामी सन्चै थियो । यहाँ ल्याएर छाती पिटेर मारे भनेर स्वास्थ्यकर्मीमाथि जाइलाग्ने गरेको समेत उनले सुनाए ।

यस्तै, अस्पतालमा भर्ना गरेर राखेका बिरामीलाई समयमै डाक्टरले नहेरिदिँदा पनि आफन्तहरु रिसाएर आवेश आउने गरेको उनले सुनाए  । यस्तोमा बिरामीको रोग पत्ता लागे नलागेको, बिरामी कस्तो अवस्थामा छन्, कस्तो औषधि प्रयोग भइरहेको छ, अस्पतालमा कति समय राख्नुपर्छ भनेर पूर्ण रूपमा जानकारी दिन अति आवश्यक रहेको उनले बताए । भर्ना गरेका बिरामीको अवस्था बारे कन्सल्ट्यान्ट डाक्टरले रामोसँग बिरामी वा परिवारका सदस्यलाई जानकारी दिएको खण्डमा त्यस्ता घटनाहरू नहुने उनले बताए । 

उता जनस्वास्थ्य विद् शरद वन्तले पेसागत दायित्व स्वास्थ्यकर्मीले पालना गर्नुपर्ने बताउँछन् । स्वास्थ्यकर्मीले प्राविधिक तथा पेसागत दायित्व बिर्सेर गलत उपचार र व्यवहार गरे उनीहरूलाई प्रक्रियागत रूपमा कारबाही गर्नुपर्ने डा. वन्त बताउँछन् । यद्यपि, केहीलेकाहीँ सही आशयबाट उपचार गर्दा पनि उपचार असफल  हुन्छ । त्यसैले कुन मनसायबाट समस्या उत्पन्न भएको त्यसबारे प्रमाण संकलन गरेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् । गल्ती, लापरबाही र प्राविधिक गल्ती हुन सक्छ सोही अनुरूप कारबाहीको दायरामा ल्याउनुपर्छ । 

‘स्वास्थ्यकर्मीले उपचारको क्रममा गल्ती गरेका छन् भने गल्ती स्थापित गरेर सजाएको भागिदार बनाउनुपर्छ । गलत कुरालाई प्रमाणित गरेर कारबाही गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्वास्थ्यकर्मीबाट भएका गल्तीहरूलाई कसैले पनि ढाकछोप गर्न हुँदैन ।’

स्वास्थ्यकर्मीमाथि मात्रै नभएर कसैमाथि आक्रमण तथा कुटपिट गर्नु दण्डनीय कार्य हुने उनी बताउँछन् । स्वास्थ्यकर्मीको गलत मनसायबाट बिरामी मार परेको प्रमाणित भए नियमअनुसार कारबाही गर्न उनको सुझाव छ । तर, आवेशमा आई स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा क्षति पुर्‍याउनेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको जिकिर छ । 

स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारमा लापरबाही गरेको खण्डमा प्रमाण संकलन गरेर बिरामी र तीनका आफन्तले कारबाहीको माग गर्नुको साटो स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको घटनाहरू सार्वजनिक भइरहन्छन् । हालै मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभागमा कार्यरत डाक्टर करण शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै निजी तथा चिकित्सकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षण अस्पताल जुम्लामा कार्यरत डा. साहमाथि भदौ २ गते प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटेका थिए । 

चिकित्सकहरूले स्वास्थ्यकर्मीमा माथि हातपात गर्दा हुने कारबाही स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ अनुसार कारबाहीको माग गर्दै आएका छन् ।

आक्रमण गर्दा यस्तो कारबाही हुन्छ

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दफा ३ अनुसार स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय दिइने उल्लेख गरिएको छ । 

यस्तै  स्वास्थ्य संस्थामा तोडफोड  वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने, र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याउनेलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । 

यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न घेराउ गर्ने,स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउनेलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय उल्लेख गरिएको छ । 

र  स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात  गर्न कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म  कैद वा एक लाख रुपैयाँसम्म जरिवाना  वा दुवै सजाय उल्लेख गरिएको छ । 

क्षतिपूर्ति भराउँदा स्वास्थ्य संस्थाको सम्पत्ति तोडफोड आगजनी वा हानि नोक्सानी गरी क्षति पुर्‍याएकोमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप