बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

भटमासको तेलको निर्यात घट्दा खस्कियो निकासी
बिहीबार, ०९ भदौ २०७९, ०९ : १५
बिहीबार, ०९ भदौ २०७९

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।

नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले जनाएको छ ।

यसका साथै, कूल वैदेशिक व्यापारमा निर्यात हिस्सा १६.२८ प्रतिशतले खुम्चिएको छ । यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा भने २.२४ प्रतिशतले बढेको छ । जुन, नेपालका लागि नकारात्मक विषय हो ।

किन घट्यो आयात ?

सरकारले विदेशी विनिमयको सञ्चिति घटेको भन्दै आयात व्यापारमा प्रतिबन्ध लगाएको छ । बढ्दो आयातका कारणले नेपालको विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विलासिताका वस्तुहरूको सूची निकालेर सरकारले आयातमा प्रतिबन्ध लगाएको थियो । जसमा सवारी साधनदेखि, महँगा रक्सी, सुनचाँदी लगायतका वस्तु समेत समेटिएका छन् ।

नेपालको कूल आयातमा सवारी साधनको ठूलो हिस्सा छ । सरकारले १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल र अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसले गर्दा चालू आर्थिक वर्षमा एक थान पनि ती वस्तुको आयात हुन सकेको छैन । यस्तै, सुनचाँदीको आयातमा गरिएको कडाइ कारणले समेत आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यसका साथै, विदेशी ब्रान्डका महँगा रक्सीको आयात रोकिँदा समेत नेपाली मुद्रा विदेश जानबाट रोकिएको तथ्याङ्कमा देखिन्छ । यस्तै, सरकारले कुरमुरे, कुरकुरे, हिरा, ३०० डलरभन्दा माथिका स्मार्टफोन, टेलिभिजन र सबै प्रकारका खेलौनाको आयात रोकेको छ । यी वस्तुको आयात पूर्णरूपमा रोकिएपछि आयात १२.९० प्रतिशतले खुम्चिएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनामा २०७८/७९ मा १ खर्ब ५० अर्ब ७३ करोडको आयात भएको थियो । जुन, चालू वर्षको सोही अवधिमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ । यो, गत वर्षको तुलनामा १९ अर्ब ४५ करोड रुपैयाँ कम हो ।

भटमास तेलले खस्कायो निर्यात

चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट २० अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको तुलनामा २८.६८ प्रतिशतले बढी हो । तर, गत आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो ।

चालू वर्षमा नेपालको निर्यात घट्नुमा मूख्य भूमिका भटमास तेलको निर्यात घट्नु हो । भारत सरकारले नेपाल र दक्षिण एसियाबाट हुने निर्यात रोक्ने लक्ष्यसहित कच्चा पदार्थको भन्सार दर घटाएपछि नेपालबाट हुने खानेतेलको निर्यात प्रभावित बनेको छ । गत वर्ष नेपालबाट साउन महिनामा ८ अर्ब ९८ करोडको भटमास तेल निर्यात भएको थियो । यो चालू वर्षको तुलनामा ६ अर्ब बढी हो ।

यो वर्षको साउन महिनामा नेपालबाट जम्मा १ अर्ब ५९ करोडको भटमास तेल निर्यात भएको छ । यद्यपी, पाम तेलको निर्यात भने डेढ अर्ब रुपैयाँले बढेर ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यसै गरी, नेपालबाट भारततर्फ हुने सूर्यमुखी तेलको निर्यात स्थिर छ । यस वर्षको साउन महिनामा नेपालबाट ७९ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ ।

यस्तै, नेपालको आयात निर्यात दुवै सूचक घटे पनि व्यापार घाटा र वैदेशिक व्यापार पनि घटेको छ । यस अवधिमा नेपालको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँमा आइपुगेको छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ थियो । यसै गरी, गत वर्ष १ खर्ब ७१ अर्ब रहेको वैदेशिक व्यापार यस वर्ष १ खर्ब ४६ अर्ब रुपैयाँमा आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप