मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपका लेखक र पत्रकारले पनि सम्झिए प्रदीप गिरिलाई

बुधबार, ०८ भदौ २०७९, २० : ५२
बुधबार, ०८ भदौ २०७९

युरोपका लेखक र पत्रकारले काँग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुले एक श्रद्धाञ्जली कार्यक्रम गरी गिरिको स्मरण गरेका हुन् । बुधबार नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा भएको कार्यक्रममा गिरिको जीवनीलाई लिएर चर्चा गरियो ।

कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरि राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए। गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनी नेता मात्र नभई एक चिन्तक पनि रहेको बताए। 

गिरि  सरल, मिलनसार, गान्धीका अनुयायी गिरि  मार्क्‍सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाई थियो।  बेल्जियममा क्रियाशील  वामपन्थी बुद्धिजीवी बोधराज पौडेलले गिरि नेपाली कांग्रेसका नेता र सांसद भएपनि उनी नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको बताए। ‘उहाँ राजनीति गर्नेहरुका निम्ति  मार्गदर्शक बन्नुभयो। उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा   राजनीति गर्नुभयो,’ उनले भने। 

त्यसैगरी जनजाति नेता तथा  बुद्धिजीवी मनिस गुरुङले गिरिको जीवन शैली अनुसरण गर्न लायक भएको बताए। गिरिले जनजाति, दलित र उत्पीडित वर्गको लागि कलम चलाएको उनको बुझाई थियो।  एनआरएन बेल्जियम कोषाध्यक्ष पुष्प नेपालले गिरि कांग्रेसको राजनीतिमा एउटा सक्षम र सरल व्यक्ति भएको बताए।  

नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा स्तम्भकार दिल निसानी मगरले गिरि नेता मात्रै नभई लेखक र पत्रकार समेत रहेको बताए। माओवादी नेता जित लामाले गिरि  मार्क्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्यक्ति भएकाले इन्टरनेटको जमाना नहुँदा गिरिको भाषण सुन्न आफू कयौ समय पर्खिएको स्मरण गरे। 

युरोपमा रहेका दर्जनौ लेखक पत्रकारहरुले जुममार्फत सो कार्यक्रममा सहभागिता जनाएका थिए।   कार्यक्रम नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।  निमोनिया र क्यान्सरका कारण पीडित गिरिको शनिबार राति साढे ९ बजे निधन भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप