बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बालेनको एक्सन : एकैदिन काठमाडौंमा ४ ठाउँका संरचना भत्काइए

बुधबार, ०८ भदौ २०७९, १६ : ४२
बुधबार, ०८ भदौ २०७९

काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । 

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् । 

संरचना भत्काउनुअघि सम्बन्धित् पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ ।  बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्यूरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । 

यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउण्डमा आशंका गरेको हो । 

नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राउण्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डर ग्राउन्डबारे महानगरको चासो बढेको हो ।  बुधबार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् ।

मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।  नक्सा पास विपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप