शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

तीन दिने तामाङ ज्ञान महोत्सव सम्पन्न

बुधबार, ०८ भदौ २०७९, १५ : ३३
बुधबार, ०८ भदौ २०७९

सातौं तामाङ ज्ञान महोत्सव तथा ९० औं पहिचान दिवस विविध कार्यपत्र प्रस्तुतिकरण, स्मृति वाचन तथा प्यानल छलफल गरी सोमबार सम्पन्न भएको छ । कार्यक्रममा ‘तामाङ मातृभाषा र प्रविधि’ शीर्षकको सत्रमा डा.लोक बहादुर लोप्चनले मन्डनदेउपुरमा प्रअहरुका विद्यालयमा शिक्षण माध्यमको दृष्टिकोण, प्रताप बलले भारतमा तामाङ भाषा, धन बहादुर तामाङले राष्ट्रिय परिदृश्यमा तामाङ भाषाः ज्ञान, इतिहास, संस्कृति र समाज विकासको संवाहक र विशेषताबारे प्रस्तुति दिए ।

त्यस्तै, डा.बालकृष्ण बलले, भाषा र प्रविधिको सम्बन्ध, कुमारी लामाले तामाङको पेन्टिङमा अनुहारविहीनहरुका अनुहारः पहिचानको दावी, राजु स्याङतानले तामाङ जातिको मधेस बसाईं : सीमान्तदेखि सीमान्तसम्म, सञ्जीला मोक्तानले संरचनागत बहिष्करण, तामाङ र मृगौला बेचविखन : ‘हिमला’ गाउँको कथा, साङमो योन्जनले जातीय विभेदको तामाङहरुका जीवनभोगाइ विषयमा प्रस्तुति दिए ।

तेस्रो सत्रको ‘तामाङ विविध’ शीर्षककोसत्रमा प्रताप बलले भारतमा तामाङ गुम्बाहरु, टेकराज स्याङतानले सरकारी सेवामा तामाङ जातिको वर्तमान चित्र, अमन मोक्तानले एउटा सैद्धान्तिक खगोलशास्त्रीय अध्ययन, निरा लोप्चनले तामाङ संस्कृति र विकास बोडका गतिविधि, धनम तामाङले दीसाङ थामा ज्युङमा शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । 

त्यसैगरी, तीनवटा विषयमा प्यानल छलफल पनि गरिएको कार्यक्रमका संयोजक निष्णु थिङले जानकारी दिए । जसमा ‘सरकारी कामकाजमा तामाङ भाषा’विषयमा अमृत योन्जन–तामाङ, अधिवक्ता शंकर लिम्बु र डा.लोक बहादुर लोप्चन वक्ता थिए । ‘तामाङ लोकसाहित्यः एउटा विमर्श’रविन्द्र ग्याबक, खोजराज गोले र निष्णु थिङ तथा ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो’मा परशुराम तामाङ, डा.गणेश योन्जन, जय गोले, जगत दोङ र बुद्धछिरिङ मोक्तान वक्ता थिए । 

तामाङहरुले प्रत्येक वर्षको भदौ ६ गतेलाई पहिचान दिवसको रुपमा मनाउँदै आएका छन् । जङ्गवीर तामाङको नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेर राणासमक्ष आफूहरुलाई ‘तामाङ’ भनियोस् भनी माग–पत्र राखेकोमा उक्त माग स्वीकार गरी प्रधानमन्त्री राणाले वि.स.१९८९ भाद्र ६ गतेका दिन नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनद–पत्र जारी भएकोले सोही दिनलाई पहिचान दिवस मानिएको हो । यसै अवसरमा विगत ७ वर्षदेखि ज्ञान महोत्सव पनि आयोजना गर्न थालिएको छ । 

महोत्सवको उद्घाटन सत्रको प्रमुख अतिथि पश्चिम बंगाल सरकारद्वारा गठित तामाङ संस्कृति तथा विकास बोर्डका अध्यक्ष संजय मोक्तान र समापन समारोहका प्रमुख अतिथि नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल थिए । महोत्सवमा भारत, अमेरिकाबाट पनि सहभागिता थियो । तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय गरी तीनवटा संस्थाको संयुक्त आयोजनामा ज्ञान महोत्सवको आयोजना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप