सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसमा दिए रुसलाई बदलाको चेतावनी

बुधबार, ०८ भदौ २०७९, १४ : १४
बुधबार, ०८ भदौ २०७९

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्भावित रुसी आक्रमणको चेतावनी दिएका छन् ।​ जेलेन्स्कीको चेतावनी यस्तो समयमा आएको हो जब युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । अबेर राती जारी गरिएको सन्देशमा, जेलेन्स्कीले ‘युक्रेन यस्ते समयमा आफ्नो स्वतन्त्रताको उत्सव मनाइरहेको हो जब उसले एक ठूलो खतरासँग पनि लड्नुपरिरहेको छ’ भनेका छन् ।

जेलेन्स्कीले किभ, खार्किभ जस्ता शहरहरूमा बस्ने मानिसहरूलाई सुरक्षा नियमहरू पालना गर्न विशेष अपील गरे । विशेष गरी कर्फ्यू र एयर स्ट्राइक साइरनहरूको । युक्रेनका राष्ट्रपतिले भने, ‘आज हामी सबैका लागि विशेष दिन हो । तर दुर्भाग्यवश यसै कारणले यो दिन हाम्रा शत्रुहरूका लागि पनि महत्त्वपूर्ण छ । हामी रूसको उत्तेजक र सम्भावित आक्रमणहरूबाट सावधान हुनुपर्छ ।’

उनले युक्रेनी सशस्त्र बल, गुप्तचर विभाग र विशेष सेवाका कर्मचारीले जनताको सुरक्षाका लागि सबै काम गर्ने स्पष्ट पारे ।​ जेलेन्स्कीले रुसले गरेको कुनै पनि आक्रमणको जवाफ दिने बताए । बुधवार युक्रेनमा रुसले आक्रमण गरेको पनि ६ महिना पुगेको छ ।

फेब्रुअरी २४ मा, रूसले युक्रेनमा आक्रमण सुरु गर्यो । बेलायतको रक्षा मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ देखि युक्रेनमा रुसको प्रभाव बढाउने प्रयास गरिरहेको बताएको छ । रक्षा मन्त्रालयले भन्यो, ‘छ महिनाअघि आक्रमण भएको थियो । तर युक्रेनको धेरैजसो भूभागलाई नियन्त्रण गर्ने उनको लक्ष्य असफल भएको छ ।’

बेलायतको रक्षा मन्त्रालयले रुसले धेरै मोर्चामा स्रोतसाधनको अभावमा संघर्ष गरिरहेको दाबी गरेको छ । योसँगै उसको कूटनीतिक शक्ति पनि समाप्त भएको छ । ६ महिनामा रुसको लडाइँ आफ्नै लागि भारी भएको पनि उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप