बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘ऐना झ्यालको पुतली’ : बालापन सम्झाउने हरेक परिवारको कथा

बुधबार, ०८ भदौ २०७९, १३ : १८
बुधबार, ०८ भदौ २०७९

फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो अनुभवजन्य भोगाइको परिणाम भएको निर्देशक सुजित बिडारीले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथालाई साथीहरूले ‘मेरो जस्तै’ भने पछि फिल्ममा उतारेको सुनाए ।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’ उनले भने– ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’

भदौ २४ लाई प्रदर्शन मिति तोकेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । फिल्ममा सिरु विष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन् । निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् । 

निर्देशक सुजित बिडारीले सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको बताए । तर उनले नन–एक्टरबाट काम गराउन भने सजिलो अनुभव नरहेको खुलाए ।

फिल्म अभिनयको थुप्रै अनुभव संगालेकी सिरु विष्टले स्क्रिप्ट पढ्नुअघि आफू फिल्म गर्ने कुरामा विश्वस्त नभए पनि स्क्रिप्ट पढेसँगै आफू फिल्म गर्न तयार रहेको अनुभव सुनाइन् ।  ‘निर्देशकले भन्दा मात्रै म गर्न सक्दिन होला जस्तो लागेको थियो तर स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रैछ नी भने जस्तो भयो । त्यसैले मैले नाइँनास्ती गरिन्,’ उनले थपिन्  ‘मलाई घाँस काटेको, दुध दुहेका, गुन्द्री बुनेको, डोको नाम्लो आदि गरेको अनुभव थिएन । यस्ता धेरै कुरा मैले सिके ।’

आइसफल प्रोडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मलाई प्रबिन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।  दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए ।

त्यो बाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो । स्वीजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्विट्जरल्यान्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए । 

उनले पछिल्लो समय हलमा रिलिज नेपाली फिल्मले अपेक्षित व्यापार गरिरहेको तथ्यसँग आफूहरू परिचित भए पनि आफूहरूले व्यापार भन्दा पनि आफ्नो र आफू अघिको पुस्ताले जीवन जिउन गरेको संघर्षलाई ‘ट्रिब्युट’ गर्न फिल्म प्रदर्शन गर्न लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप