बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

के कतार वर्ल्डकप पछि नेपाली कामदार फर्किनुपर्छ ?

बुधबार, ०८ भदौ २०७९, ११ : ४०
बुधबार, ०८ भदौ २०७९

कतार वर्ल्डकप आउन ८८ दिन बाँकी छ । कतार वर्ल्डकप नजिकिँदै जाँदा नेपाली कामदारहरुमा भने एकखालको त्रास पैदा भइरहेको छ । वर्ल्डकप सकिएपछि स्वदेश फर्किनुपर्ने हो कि भन्ने त्रास त्यहाँ कार्यरत कामदारमा परेको हो । कतारमा चार लाख भन्दा बढी नेपाली कामदार रहेको बताइन्छ ।

 वर्ल्डकपपछि कतारमा आर्थिक संकट आउने र धेरै नेपाली घर फर्किनुपर्ने भन्दै धेरैलाई चिन्तित बनाइरहेको छ । तर, कतार सरकारले भने कुनै समस्या नआउने र कसैले पनि फर्किनुनपर्ने भन्दै नेपाललाई आश्वस्त पारेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले कुनै पनि कामदारले नेपाल फर्किनुनपर्ने बताए । ‘कतारले सन् २०३० सम्मको लागि पाइलट प्रोजेक्ट मार्फत भौतिक पूर्वाधारको विकास गरिरहेको छ । त्यही अनुसार नेपाली कामदारले समेत काम गर्दै आएका छन् । वर्ल्डकपपछि कसैले पनि नेपाल फर्किनु पर्दैन,’ सहायक प्रवक्ता डा. भुसालले भने । 
वर्ल्डकपको लागि रंगशाला निर्माणको काम धेरै समय अगाडि नै सकिएको थियो । रंगशाला निर्माणको लागि गएका नेपाली कामदारहरू अहलिे अन्यत्र सिफ्ट भइसकेका छन् । 

कतारको श्रम कानूनले रोजगारी परिवर्तन गर्ने अनुमति दिइसकेको छ । सोही आधारमा धेरै नेपाली कामदारले रोजगारी परिवर्तन गर्दै आएका छन् । रोजगारी परिवर्तन गर्न नसकिने अवस्था भएको नेपाल फर्किनुपर्ने समस्या हुनसक्थ्यो । तर, अहिले रंगशालाको काम सकिएपनि अन्य काम भने निरन्तर चलिरहेको सहायक प्रवक्ता डा. भुसालले बताए । 

कतारले भौतिक निर्माणलाई सन् २०३० सम्मको पाइलट प्रोजेक्ट अन्तर्गत विकास गर्दै आएको छ । सोही आधारमा लाखौं विदेशी कामदारलाई काममा लगाइरहेको छ । 
आर्थिक वर्ष २०७७/०७८ मा २२ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि कतार गएका थिए । गत आर्थिक वर्षमा भने ३० हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि कतार पुगेको श्रम विभागको तथ्यांकले देखाएको छ । 

कोरोना महामारीको समयमा कतार जाने भन्दा नेपाल फर्किने कामदारको संख्या बढी थियो । तर, अहिले महामारीको अवस्था सामान्य भएसँगै जानेको संख्या बढ्दै गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप