बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विकासमा फड्को मार्दै माडी

बुधबार, ०८ भदौ २०७९, ०९ : ५०
बुधबार, ०८ भदौ २०७९

चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।

माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । ढकालका अनुसार रु १० करोड बजेटसहित शिक्षालय स्थापना भएको हो । अहिले यहाँ कृषि, स्वास्थ्य र इञ्जिनियरिङ विषयको पढाइ हुँदै छ । 

विसं २०७४ साउन २७, २८ र २९ गते गएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि सङ्घीय सरकारमार्फत रु सात करोड विनियोजन भएपछि माडी नगरपालिका–४, ५, ६ र ७ वडाका बासिन्दा लाभान्वित भएका छन् । माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि रु ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार सात दशमलव आठ किलोमिटर लम्बाइ तथा सात दशमलव पाँच मिटर चौडाइको सडक बनाइँदै छ ।  

विसं २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल निर्माण अन्तिम चरणमा छन् । रतनीखोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्र बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि रु २० करोडको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास आजै गरिँदै छ ।

गत वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट रु २५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदै छ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नं वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार रु २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयवासीले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम सुरु भएको छ ।

“हुलाकी सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण गरिँदै छ”, उनले भने । ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुल निर्माण अघि बढाउन विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न रु  दुई अर्बभन्दा बढी लागत लाग्ने ढकाल बताउछन् । 

यस्तै माडी–७ मा कालोपत्र गर्न रु दुई करोड, बाँदरझुला विद्युतीकरणका लागि रु दुई करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि रु दुई करोड ४३ लाख, बघौडा अस्पतालका लागि रु दुई करोड, दिवाकर स्मृति माविका लागि रु एक करोड ५० लाख, जनकल्याण माविका लागि रु एक करोड सङ्घीय सरकारबाट बजेट प्राप्त भएको छ । 

चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत रु २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धका लागि रु २० करोड विनियोजन भएको उहाँले जानकारी दिनुभयो । यसै वर्ष पाँच डिपबोरिङ र १८ स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् । 

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै सङ्घीय बजेट परेको उल्लेख गर्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताए । विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ । स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । सङ्घीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसङ्ख्या रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप