शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रीनकार्ड देखाउँदै, यौन शोषण गर्दै

६ महिना श्रीमती बनाएर राखे, अमेरिका फर्किएपछि ‘सबै बिर्स’ भने
बुधबार, ०८ भदौ २०७९, ०९ : २४
बुधबार, ०८ भदौ २०७९

मनहरी मकवानपुरकी रमा तामाङ (परिवर्तित नाम) काठमाडौंमै सम्मानित काम गरेर बस्दै थिइन् । रमाको आम्दानी ठिकै थियो, कमाईले खान पुगेकै थियो । सामान्य परिवारमा हुर्किएकी उनलाई एक्लो जीवन पाल्न कुनै समस्या थिएन ।

गत वर्ष असोजको अन्तिमतिर एकाएक दिलीप गुरुङ नाम गरेका व्यक्तिले रमालाई फेसबुकमा दसैँको शुभकामना म्यासेज पठाए । उनले दिलीपलाई चिनेकी थिइनन् । नचिनेका व्यक्तिबाट म्यासेन्जरमा म्यासेज आएपछि रमाले दिलीपको फेसबुक प्रोफाइल हेरिन् । फेसबुकमा रमाकै केही आफन्त ‘म्युचअल फ्रेण्ड’ थिए । त्यसपछि रमाले फ्रेण्ड रिक्वेष्ट स्वीकार गर्दै दिलीपलाई ‘शुभकामना’को जवाफमा शुभकामना नै पठाइन् ।

त्यसपछि रमा र दिलीपको दोहोरो कुराकानी हुन थाल्यो । दसैँ मनाएलगत्तै रमा काठमाडौं आउनुपर्ने भयो । सवारीसाधन पाउन मुस्किल नै थियो भने हवाईजहाजको टिकट पाउन अझै कठिन थियो । त्यही समयमा रमाले दिलीपलाई भरतपुरबाट काठमाडौं आउने फ्लाइटको टिकट पाइन्छ कि भनेर बुझ्न आग्रह गरिन् । काठमाडौंमा रहेका दिलीपले भोलिपल्टको टिकट काटेर रमालाई पठाइदिए । त्यसपछि रमा काठमाडौं आइन् ।

केही दिनपछि रमाले टिकटको रकम फिर्ता दिन दिलीपलाई म्यासेज गरिन् । दिलीपले कुनै जवाफ दिएनन् । त्यसको दुई दिनपछि दिलीप आफैले रमालाई सम्पर्क गरेर भेटघाटको कुरा गरे । रमाले आफू दरबारमार्गमा रहेको बताइन् । दिलीपले आफू पनि दरबारमार्गमै रहेको भन्दै कफीका लागि आग्रह गरे । रमाले दिलीपको प्रस्ताव स्वीकार्दै दरबारमार्गमा भेट गरिन् ।

भोलिपल्टदेखि दिलीपले रमालाई दिनमै चारपाँच पटक फोन गर्न थाले र दैनिकजसो लञ्च र खाजा खाउँ भन्दै आग्रह गर्न थाले । सोही अनुसार भेट भइरह्यो । त्यही बीचमा दिलीपले आफू अमेरिकी कार्ड होल्डर भएको र करिब एक महिनापछि अमेरिका फर्किन लागेको बताए । आफ्नो जन्मघर नुवाकोट भएको र विगत करिब २० वर्षदेखि जरङ्खुमा घर बनाएर बसेको कुरा दिलीपले रमालाई बताए ।

उनले आफू विवाहित रहेको तर श्रीमतीसँगको सम्बन्ध राम्रो नभएकाले अमेरिकामै पनि छुट्टै बसिरहेको सुनाए । आफ्नो एउटी छोरीसमेत रहेको र पत्नीसँग कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धविच्छेद गर्न लागेको भन्दै उनले एक सुशील महिला खोजेर विवाह गर्ने तयारी गरिरहेको रमालाई बताए ।

रमाले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘उनले विवाहका लागि आफू एक सुशील महिलाको खोजीमा रहेको र त्यो गुण तपाइँमा रहेछ, के मसँग विवाह गर्नुहुन्छ भनेर सोधे । मैले सुरुमै उसको प्रस्ताव अस्वीकार गरेँ ।’

तर विवाहको प्रस्ताव अस्वीकार गरे पनि दिलीपले रमाको पिछा गर्न छाडेनन् । बरु रमालाई विवाहका लागि विश्वास दिलाउन थाले । श्रीमतीसँगको सम्बन्ध राम्रो नरहेको देखाउन उनले भाञ्जा, बहिनी लगायत आफन्त परिचालन गरेर श्रीमतीसँग छुट्टै बसिरहेको विश्वास रमालाई दिलाए । अनि आफू ५–६ महिनापछि पुनः नेपाल फर्कने, विधिवतरुपमा विवाह गर्ने र रमालाई पनि अमेरिका लैजाने भन्दै फेरि विवाहको प्रस्ताव गरे ।

आफन्तबाटै विश्वास दिलाएपछि रमाले पनि प्रस्ताव स्वीकार गरिन् । सुरुवाती चरणमा रमा दिलीपले भाडामा लिएको स्वयम्भु रिट्रिट अपार्टमेण्टको फ्ल्याटमै  बस्न थालिन् । दिलीपले रमालाई पूर्णरुपमा माया र प्रेम देखाउन थाले अनि भेटघाट भएका साथीहरूलाई पनि श्रीमतीकै रुपमा चिनाउन थाले ।

मंसिरको पहिलो साता दिलीप अमेरिका फर्किए । करिब ५–६ महिनापछि अमेरिकाबाट फर्किएर विवाह गर्ने र सन्तान जन्माउने कुराकानी भयो । रमाले दिलीपको सबै कुरा मान्दै गइन् । रमा र दिलीप प्रत्येक दिन मोबाइलमा करिब ७–८ घण्टासम्म भिडियो च्याट गरेर बस्थे । अमेरिका पुगेपछि दिलीपले रमालाई आफ्नी श्रीमती ७ महिनाको गर्भवती रहेको कुरा बताए । यौनसम्बन्ध अमेरिकामा सामान्य कुरा रहेको भन्दै यो बच्चा जन्मिएपछि सम्बन्धविच्छेद गर्ने कुरा बताए ।

पहिलो बच्चा जन्मिएपछि सम्बन्ध बिग्रिएको बताएका दिलीपले श्रीमती पुनः ७ महिनाको गर्भवती भएको कुरा सुनाएपछि रमाको मन खल्लो भयो । त्यसपछि रमाले ‘हामीबीच जे भयो भयो, अब आ–आफ्नो बाटो लागौं’ भनिन् । किनभने दोस्रो सन्तान पनि गर्भमा रहेको बताएपछि रमालाई दिलीपप्रति शंका लाग्न थालेको थियो । तर दिलीप उक्त सम्बन्ध टुटाउन तयार भएनन् । बरु अमेरिकामा यौन सम्बन्ध सामान्य कुरा रहेको, छुट्टिए पनि एउटै घरमा रहेको र नेपाल आएर सम्बन्धविच्छेद गर्न लागेको बताए ।

रमाका अनुसार ७ महिनाकी गर्भवती श्रीमतीसँग दिलीप कहिल्यै एउटै बेडमा देखिएनन् । राति सुत्न जाँदा पनि रमासँगै भिडियो च्याटमा उनी गफ गरिरहेका हुन्थे र रातभरि कुरा गर्दा पनि दिलीपकी श्रीमती कहिल्यै उनीसँग एउटै ओछ्यानमा देखिइनन् ।

‘कहिलेकाहीँ फोनमै कुरा भइरहेको समयमा पनि श्रीमतीसँग कुरा भएको सुनिन्थ्यो तर त्यो सामान्य औपचारिकताको मात्रै कुरा हुन्थ्यो,’ उनले भनिन्, ‘यति भएपछि सम्बन्ध राम्रो रहेनछ कि भन्ने पनि लाग्यो ।’ तर पनि पछि गाह्रो हुने भन्दै रमाले सम्बन्ध अगाडि बढाउन अस्वीकार गरिन् । दिलीपले रमासँगको सम्बन्ध अन्त्य गर्न चाहेनन्, बरु आफू प्रेममा चुर्लुम्म डुबिसकेको भन्दै आफूसँगको सम्बन्ध तोडे समुद्रमा गाडी हालेर आत्महत्या गर्नेसम्मको म्यासेज पठाए ।

यता दिलीपको भाञ्जाले मामा डिप्रेसनमा गइसकेको भन्दै रमालाई त्यसो नगर्न आग्रह गरे । मामाले नेपाल आएर तपाइँसँग औपचारिकरुपमा विवाह गर्छ भन्दै विश्वाससमेत दिलाउन थाले ।

त्यसपछि रमाले फेरि दिलीपको विश्वास गर्न थालिन् । टोखारोडमा सामान्य फ्ल्याटमा बस्ने रमालाई दिलीपले अपार्टमेण्टमै बस्न भने । फर्किएपछि आफू पनि त्यहीँ बस्ने उनले बताए । रमाले सुरुमा अस्वीकार गरिन् । तर दिलीपले फ्ल्याटमा नबस्न, अपार्टमेण्टमै बस्न कर गरेपछि सुरुमा रमा अपार्टमेण्टको फ्ल्याट भाडामा लिन भन्दै स्वयम्भु रिट्रिट अपार्टमेण्टमै पुगिन् । तर त्यहाँ तत्कालीन समयमा अपार्टमेण्ट भाडामा पाइएन ।

त्यसपछि दिलीपले नै काठमाडौंकै एक अपार्टमेण्टमा फ्ल्याट भाडामा लिन पठाए । रमाले गएर फ्ल्याट बुझिन् । मासिक ४५ हजार रुपैयाँ तिर्नेगरी अपार्टमेण्टको फ्ल्याट भाडामा पाइयो ।

त्यसपछि रमा उक्त अपार्टमेण्टमा बस्न तयार भइन् र सुरुमा तीन महिनाको भाडा तिर्न र सामान किन्नका लागि दिलीपले करिब ५ लाख रुपैयाँ पठाए । पछि पनि विभिन्न शीर्षकमा खर्च गर्न करिब थप ५ लाख गरी कुल १० लाख रुपैयाँ पठाए । उक्त फ्ल्याट भाडामा लिँदा पनि दिलीप र रमा श्रीमान श्रीमती रहेको भनेर एग्रिमेण्ट तयार पारियो ।

त्यसपछि दैनिक उनीहरूबीच घण्टौं कुराकानी भइरह्यो । यही बीचमा दिलीपले अमेरिकामै रहेका आफ्ना माइला दाइमार्फत् रमाका लागि आइफोन १३ प्रो पनि पठाइदिए । कहिलेकाहीँ रमा बिरामी पर्दा नेपालमै रहेका भाञ्जा असिम (नाम परिवर्तित)ले रमालाई अस्पताल लैजाने लगायत हेरचाहका काम पनि गर्थे । दिलीपकी बहिनीले पनि रमालाई भाउजू भन्थिन् भने भाञ्जाले माइजु भनेर सम्बोधन गर्थे ।

रमा र दिलीपको बीचमा यति धेरै घनिष्ठता भइसकेको थियो कि एकअर्काको फेसबुक, इन्स्टाग्राम र टिकटक पनि साटेर चलाउन थालिसकेका थिए ।

यही बीचमा दिलीप अमेरिकाबाट नेपाल फर्कने भए । अमेरिकामा रहेका दिलीपका साथी विजय अधिकारी (परिवर्तित नाम) पनि सँगै आउन लागेको र उनकी गर्लफ्रेण्ड पनि त्यही अपार्टमेण्टमा आउने कुरा दिलीपले रमालाई बताए ।

सोही समयमा दिलीपको बच्चासमेत जन्मिसकेको थियो । दिलीपले श्रीमतीलाई पनि सँगै लिएर आएका थिए र रमालाई अब उनी उनकै माइतीमा बस्ने कुरा बताएका थिए । रमा पनि उक्त कुरामा विश्वस्त थिइन् ।

दिलीप र उनका साथी विजय जेठ १ गते राति १० बजेतिर नेपाल उत्रिए । पहिले भनिएझैँ दिलीपकी श्रीमती उनकै माइतमा गइन् भने दिलीप र उनका साथी सुरुमा ठमेलस्थित होटल रमादा गए । उनीहरूले त्यही होटलको रुम बुक गरेर राखेका थिए । होटलबाट राति १२ बजेतिर दिलीप र उनका साथी रमा बस्ने गरेको अपार्टमेण्टमा आए र त्यहीँ खाना खाए । अनि रमा र रमासँगै रहेकी अर्की युवतीलाई पनि सँगै लिएर उनीहरू ठमेलको होटल रमादामै गएर बास बसे ।

जेठको ६ गते दिलीपको छोरीको पास्नी सोही होटलमा राखिएको कारण दिलीपले आफ्नो धेरै काम रहेको भन्दै रमालाई दैनिक भेट्न आउने बाचासहित अपार्टमेण्टमै पठाए । रमालाई पनि दिलीपले पास्नीमा निम्तो गरे । रमा उक्त पास्नीमा पनि गइन्, जहाँ दिलीपकी श्रीमतीसमेत थिइन् ।

पास्नी सकिएपछि दिलीपको बास रमासँगै अपार्टमेण्टमै हुन थाल्यो । यही बीचमा दिलीपका साथीहरू पनि दिलीपसँग जोडिए । साथीहरूसँग पनि दिलीपले रमालाई श्रीमती भनेर चिनाए ।

फेसबुकको पासवर्ड नै दिएर एक अर्काले चलाइरहेकै समयमा दिलीपको फेसबुकमा केटीहरूको शंकास्पद म्यासेजहरू आएको रमाले देखिन् । दिलीप नेपाल आएको थाहा पाएपछि केटीहरूले म्यासेज पठाएर सोधखोज गर्न थाले । यस विषयमा रमाले दिलीपसँग कुरा गर्दा त्यो सबै आफ्नो विगत भएको बताए । कसैले त्यस्तो म्यासेज पठाए ‘ब्लक गरिदेउ’ सम्म भने ।

एक दिन दिलीप, रमा, उसको भाञ्जा, दिलीपका केही साथी र केही महिला पनि ठमेलको एलओडी क्लबमा गएका थिए । त्यही समयमा क्लबका डिजेले रमालाई हेरेको र रमाले पनि डिजेलाई हेरेको भन्दै दिलीपले रमालाई क्लबबाट निकालेर बाहिर लगे । अनि गाडीमा पुर्‍याएपछि मोबाइलले आक्रमण गरे । मोबाइल प्रहारबाट रमाको गोडामा चोट लाग्यो । त्यसपछि गाडीमै झगडा गर्दै दिलीप र रमा त्यहाँबाट हिँडे ।

बाटोमा उनीहरू झगडा गर्दै हिँडे । दिलीपले एक्सीडेण्ट गराएर आफू पनि मर्ने र रमालाई पनि मारिदिने धम्की दिए । बल्लतल्ल रमाले गाडीको स्टेरिङ घुमाएर दुर्घटना हुनबाट बचाइन् । त्यसपछि पनि दिलीपको रिस मरेन । फेरि पनि दिलीपले रमाको घाँटी थिच्न थाले । त्यसपछि रमाले पनि प्रतिकार गरिन् र दिलीपले लगाइरहेको टिसर्ट च्यातिदिँदै गाडीबाट निस्कन खोजिन् । तर गाडीको ढोका ‘लक’ भएका कारण उनी निस्कन पाइनन् । जब रमा ‘भ्वाइलेण्ट’ भइन्, त्यसपछि मात्रै दिलीप केही ‘साइलेन्ट’ भए ।

अनि दिलीपले माफी माग्दै अब त्यसो नगर्ने प्रतिवद्धता जनाए । त्यसपछि दुवै अपार्टमेण्टमै गए । अपार्टमेण्टमा करिब २ घण्टा बसेपछि बिहान ३ बजेतिर दिलीप बाहिरिए ।

तर यो बीचमा पनि दिलीपलाई महिलाहरूले बस्नका लागि प्रस्ताव गर्दै म्यासेज पठाउने काम भइरह्यो । यही विषयमा कहिलेकाहीँ दिलीप र रमाको झगडासमेत हुन थाल्यो । यही विषयको कुरा निकाल्दा दिलीपले अपार्टमेण्टको भित्तामा मुक्का हान्दा दिलीपको हातमा घाउसमेत भएको र भित्तामा हातको छालासमेत टाँसिएको रमाले सुनाइन् ।

रमासँग बस्न थालेको करिब २० दिनपछि दिलीपको संगत अन्य केटीहरूसँग पनि हुन थाल्यो । सामान्य अवस्थामा दिलीपले फोन उठाउने र कुराकानी गर्ने तर केटीसँग भएपछि वास्तै गर्न छाडे । रमाले उक्त कुरा अन्य केही युवतीसँग कुराकानी गरेपछि मात्रै थाहा पाइन् । उनका अनुसार दिलीपले अन्य युवतीलाई पनि आफ्नो ग्रीनकार्ड देखाएर यौनशोषण गर्ने गरेका रहेछन् ।

रमाले यो विषयमा दिलीपसँग कुरा गर्दा उनी झनै आक्रामक हुँदै रमालाई हातपात गर्ने गर्थे । दिलीप करिब ढेड महिना नेपाल बसेर गत असार २२ गते अमेरिका फर्किए । तर अमेरिका फर्किनुभन्दा तीन दिन अगाडि दिलीप फेरि रमाको सम्पर्कबाट टाढा गए ।

रमाले रातोपाटीसँग भनिन्, ‘अमेरिका जानुभन्दा तीन दिन अगाडिबाट उनी मसँग टाढिन थाले । किन टाढिएको भनेको त पहिलेदेखि कुराकानी हुने केटी पोखराबाट आएकी रहिछ । त्यही केटीसँग दिलीप दुई दिन होटल रमादा मै बसेको रहेछ । यो कुरा मैले दिलीप फर्किएको एक सातापछि मात्रै थाहा पाएँ ।’

असार २२ मा अमेरिका फर्किने दिन भने रमा र दिलीपको भेट भयो । अब तीन महिनापछि पुनः फर्किने र श्रीमतीसँग डिभोर्स गरी अमेरिका लैजाने बताए । अनि एअरपोर्ट पुगेर पनि दिलीपले रमालाई फोन गरे ।

तर नेपालमा डिभोर्स गर्न आएका भनिएका दिलीपले सोही समयमा विवाह दर्ता गरे, जुन कुरा रमाले पनि थाहा पाइन् । दिलीपले डिभोर्सकै लागि पनि पहिला विवाह दर्ता गर्नुपरेको तर्क गरे ।

तर जब दिलीप अमेरिका पुगे, त्यसपछि रमालाई सम्पर्क गर्न छाडे । किन यस्तो गरेको भनेर रमाले सोध्दा ‘अब तिमी तिम्रो बाटो, म मेरो बाटो । मेरो परिवार नबिगार’ भनेर जवाफ दिए ।

त्यसपछि रमालाई सबैतिरबाट उनले ‘ब्लक’ गरिदिए र अमेरिका फर्किनुभन्दा तीन दिन अगाडि भेट भएकी युवतीसँग निकटता बढाए ।

... अनि आत्महत्याको प्रयास गरेँ, आमाको भिडियो देखेपछि रोकिएँ

त्यसपछि रमा डिप्रेसनमा पुगिन् । करिब एक साता फ्ल्याटबाट बाहिरै निस्किन नसकेकी उनलाई आफू कसैको यौन प्यास मेटाउने साधन मात्रै भएको र आफैलाई बेचिएको जस्तो अनुभूति हुन थाल्यो । अनि यसरी बाँच्नुभन्दा मर्नु नै ठिक भन्ने लाग्यो र अपार्टमेण्टकै तेह्रौं तलाबाट फाल हानेर मर्ने निधो गरिन् ।

साँझ ५ बजे रमा आफ्नो फ्ल्याटबाट तेह्रौं तलामा पुगिन् । त्यहाँबाट पनि माथि पानीको ट्याङ्की भएको स्थानमा उक्लिनै लाग्दा अपार्टमेण्टकै कर्मचारी आइपुगे र त्यहाँबाट माथि जान मिल्दैन भन्दै कराए । पानी परिरहेको समयमा उनी केही समय पानी मै रुझिन् । अनि कर्मचारी त्यहीँ भएको कारण माथि गएर फाल हान्न पनि पाइनन् ।

त्यहीँ बसेर मोबाइल चलाउँदै गर्दा उनले आफ्नी आमाको भिडियो देखिन् । आमाको भिडियो देखेपछि उनको आँखाबाट अनायासै आँसु आयो र आत्महत्या गर्ने उनको सोच पनि एकाएक रोकियो । त्यसपछि अब लडाइँ लड्छु भन्ने अठोट गरिन् ।

त्यसलगत्तै उनी काउन्सेलिङका लागि डाक्टरकोमा पुगिन् । डाक्टरले डिप्रेसनको औषधि दिँदै रमालाई संघर्ष गर्न प्रेरित गरे । मरेर होइन, बाँचेर नै केही गर्न सकिन्छ भनेर हौसला दिए । करिब १५ दिन डिप्रेसनको औषधि खाएपछि रमालाई पहिले दिलीपसँग कुराकानी गर्ने महिलाहरूसँग पनि कुराकानी गर्न मन लाग्यो । त्यसपछि पहिले नै स्क्रिनसट गरिएका युवतीहरूलाई सम्पर्क गर्दै आफू दिलीपबाट पीडित बनेको र तपाईसँगको सम्बन्ध के हो भन्दै सोध्न थालिन् ।

अमेरिकाको कार्ड देखाएर धेरै युवतीको यौनशोषण

जब रमाले अन्य युवतीहरूसँग पनि कुराकानी गर्न थालिन्, तब दिलीपको पोल खुल्न थाल्यो । अन्तिमपटक नेपाल आउँदा पनि केही युवतीसँग यौनसम्बन्ध राखेको र उनले सबैलाई श्रीमती बनाएर अमेरिका लैजान्छु भनेको रमाले थाहा पाइन् ।

त्यसपछि दिलीपविरुद्ध एकीकृत भएर न्यायका लागि लडाइँ लड्ने अठोट गरिन् । रातोपाटीसँग कुरा गर्दै रमाले भनिन्, ‘अहिले मसँग सम्पर्कमा आएका तीन जना युवतीले आफूलाई पनि त्यसैगरी यौनशोषण गरेको र पछि बिचल्ली बनाएको बताएका छन् ।’

उनीहरूले दिलीपविरुद्ध कानुनी लडाइँ सुरु गरेका छन् । दिलीपविरुद्ध उनीहरूले महिला आयोगमा उजुरीसमेत दिएका छन् ।

दिलीपको प्रतिक्रिया : ‘कुनै एग्रिमेण्ट छैन, मैले सहयोगमात्रै गरेको हो’

रमासँगको सम्बन्ध र आपराधिक विश्वासघातका सम्बन्धमा अमेरिकामा रहेका दिलीप गुरुङसँग फेसबुकको म्यासेन्जरमा सम्पर्क गर्दा दिलीपले रमासँग कुनै एग्रिमेण्ट नभएको बताए । सुरुमा रमालाई नचिन्ने बताएका दिलीपले पछि रमालाई चिनेको तर रमासँगको सबै सम्बन्ध सकिएको बताए । रमाले सहयोगको याचना गरेको कारण आफूले सहयोग गरेको बताउँदै उनले अन्य कुनै विषयमा एग्रिमेण्ट नभएको बताए ।

रातोपाटीसँग दिलीपले भने, ‘म यो विषयमा कुनै कुरा गर्न चाहन्न । रमासँग मेरो कुनै एग्रिमेण्ट भएको छैन । उनले सहयोग मागेकी कारण मैले सहयोग गरेको हुँ । के के भयो मैले बिर्सिएँ, यस विषयमा मलाई कुनै कुरा गर्नु छैन ।’

रमाले आफू पीडित भएको भन्दै यो विषय समाचारमा ल्याउन लागेकी छन्, त्यसैका लागि सम्पर्क गरेको हो, तपाइँको प्रतिक्रिया के छ भन्ने रातोपाटीको प्रश्नमा दिलीपले एकतर्फीरुपमा समाचार नबनाउन आग्रह गरे । उनले भने, ‘एकतर्फीरुपमा समाचार बनाउन मिल्दैन भन्ने कुरा त तपाइँलाई पनि थाहा होला । कुरा त दुवैतर्फको सुन्नु पर्‍यो नि ।’

तपाइँको भनाइ के छ, भन्नुस् न त भन्ने प्रश्नमा दिलीपले पुनः ‘यस विषयमा मलाई केही भन्नु छैन’ भन्दै कुराकानी अन्त्य गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप