जब खगेन्द्र संग्रौलाले आमाको काजकिरिया गरेनन्
श्रीमती जमुना गुरुङसहित खगेन्द्र संग्रौला पहिलोपटक छोरी काखमा बोकेर आमाको हातको टीका थाप्न गए, मोरङको रञ्जनीमा । त्यहाँ संग्रौलाका दाइ र भाइको घर थियो । परिवार र समाजको स्वीकृतिबिना अन्तर्जातीय विवाह गरेका संग्रौलालाई एउटै चिन्ता थियो– आफ्नो विवाहलाई लिएर आमाले कस्तो प्रतिक्रिया गर्ने हुन् ?
गोडा ढोग्ने चलन अनुसार खगेन्द्रपछि जमुनाले आमालाई ढोगिन् । भावमुद्रा हेर्दा आमाले असहज मानेको देखिएन । खगेन्द्रको मनमा अझै सन्देह थियो– भान्सामा आमाले के पो गर्ने हुन् ! बुहारीलाई अलग्गै राखेर खान दिने हुन् कि ! आमाले त्यसो गरे जमुनाले के सोच्लिन् !
साँझको खाना खाँदा भान्सामा आमाले बुहारीलाई कुनै विभेद गरिनन् । बाहुन छोरो र गुरुङ बुहारीले सँगै बसेर आमाका अगाडि खाना खाए । सामान्य किसिमले दसैं बित्यो ।
पछि खगेन्द्रकी आमा छोरा–बुहारी र नाति–नातिनी भेट्न काठमाडौं आइन् । त्यतिबेला खगेन्द्र दम्पती काठमाडौंको हाँडीगाउँमा बहिनी पर्ने देवी ओलीको घरमा डेरा गरी बस्थे । आमा आउनेबित्तिकै खगेन्द्रको मनमा अनेक आँधी उर्लन थाले । बुहारीले पकाएको आमाले खाने हुन् कि होइनन् ! नखाने भए उनका लागि छुट्टै चुलो बनाइदिनुपर्ने हो कि, एउटै चुलोमा आफैँले पकाएर पो खाने हुन् कि ? सोध्ने कसरी ?
दसैंमा जाँदा जमुनाले भान्सामा खाना पकाएकी थिइनन्, आमाले दिएको खाना अन्य सदस्यसँग बसेर खाएकी मात्रै थिइन् । जमुनाले पकाएको खाना आमाले खान्छिन् वा खान्नन् भन्नेमा खगेन्द्र यकिन थिएनन् ।
असमञ्जसमै साँझ पर्यो । खगेन्द्रले यसो कुराको पोयो बाट्दै सोधे, ‘आमा ! भात कसो गर्ने हो ?’
कुरो नबुझेर आमाले सोधिन्, ‘तैँले के सोध्या ?’
‘होइन, भात आफैँ पकाउने हो कि ?’ उनले अप्ठेरो मान्दै सोधे ।
आमाले सहजै भनिन्, ‘आ... बुहारीले पकाएको खाने नि !’
परम्परावादी बाहुन परिवारका छोराछोरीले जात फरक पारेर विवाह गर्नु त्यो बेला कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यसमाथि खगेन्द्रका हजुरबुवा गाउँका मुखिया थिए । राणाकालीन सामन्ती परिवारकी बुहारी भई सारा परम्परागत शोषण र निषेधकारी नियम मानेर आफ्नो जवानी ढलाएकी थिइन् खगेन्द्रकी आमाले । जातीय विभेदमा आधारित जंगबहादुरको मुलुकी ऐनका कारण समाजमा जातीय छुवाछुत टड्कारो थियो । यही यथार्थ वस्तुस्थितिको आँखाबाट संग्रौलाले आमालाई बुझेका थिए, आमा भने नपत्याउँदो गरी क्रान्तिकारी निस्किन् । आमामा यस्तो बोध र बुझाइको विकास कसरी सम्भव भयो ? खगेन्द्र भन्छन्, ‘खै, त्यो म जान्दिनँ । आमा सोझी थिइन्, म यति मात्र जान्दछु ।’
खगेन्द्रको बुझाइमा आमाको परिभाषा के होला ? अलिकति जीवन भोगाइ र अलिकति दर्शन मिलाएर उनी आमाको परिभाषा गर्छन्, ‘यो तेरो बाउ हो भनेर वा अरुले चिनाइदिनुपर्छ । आमालाई चिनाउनुपर्दैन । आमामाथि कुनै दुविधा हुँदैन, आमा अकाट्य सत्य हुन् । बाउचाहिँ सामाजिक, प्राविधिक वा विश्वासका सत्य हुन् । आमा अन्तरंग सत्य हुन् ।
संग्रौलाको आजसम्मको जीवन सामाजिक न्याय र परिवर्तनका लागि लेखेर, बोलेर र देशदौडाहामा घुमेर बित्दो छ । उनको व्यावहारिक जीवन पनि उस्तै छ । शनिबार चावहिलस्थित आफ्नै घरको पिँढीमा आफ्नो ज्ञान, अनुभव र अध्ययनको आँखाबाट उनले आमालाई सम्झिए ।
नेपाली आख्यान र व्याख्यानको दुनियाँमा यमानको नाम बनाएका संग्रौलालाई जन्माउने आमा कस्ती थिइन् होला ! हामीलाई जान्ने जिज्ञासा थियो र आमाकै विषयमा कुरा गर्न हामीले उनको समय लिएका थियौँ ।
खगेन्द्रको बुझाइमा आमाको परिभाषा के होला ? अलिकति जीवन भोगाइ र अलिकति दर्शन मिलाएर उनी आमाको परिभाषा गर्छन्, ‘यो तेरो बाउ हो भनेर वा अरुले चिनाइदिनुपर्छ । आमालाई चिनाउनुपर्दैन । आमामाथि कुनै दुविधा हुँदैन, आमा अकाट्य सत्य हुन् । बाउचाहिँ सामाजिक, प्राविधिक वा विश्वासका सत्य हुन् । आमा अन्तरंग सत्य हुन् । आमाको शरीरभित्रको रगत विकसित भएर हाम्रो शरीर बन्छ । आमाको दूधबाट हामीमा प्राण सञ्चार हुन्छ । जगत्सँग सम्पर्क गर्ने भाषा सर्वप्रथम आमाबाटै सिकिन्छ । मानिसको मनोभावना र व्यक्तित्वको प्रारूप आमाको काखदेखि नै निर्माण हुन्छ । सृष्टिको मूल स्रोत भनेकै आमा हुन् ।’
चिठीको जवाफ आएन
स्नातकपछि, ०३०/३१ सालतिर, खगेन्द्र तनहुँको बन्दीपुरमा मास्टरी गर्थे । जमुना त्यहीँको अस्पतालमा स्टाफ नर्स थिइन् । यी दुवै प्रेममा परे, र प्रेमलाई सामाजिक रूपमा अनुमोदन गर्न दुवैले बिहेको निर्णय गरे । यो अन्तर्जातीय प्रेम विवाहलाई मागी विवाहमा परिणत गर्न सम्भव थिएन, तत्कालीन सामाजिक थितिका कारण । तैपनि उनले घरमा चिठी लेखे । चिठी विवाहको अनुमतिका लागि थिएन, केवल जानकारीका लागि थियो । उनको चिठीको जवाफ दिन परिवारले आवश्यक ठानेन, संग्रौलाले यसलाई मौन स्वीकृति अथवा मलुवा असन्तुष्टि सम्झे ।
यता जमुनाको परिवारबाट भने यो अन्तरजातीय नाताप्रति घोर आपत्ति प्रकट भयो । बाले जमुनालाई स्पष्ट भने– ‘बाहनुसँग बिहे गरिस् भने तैँले मलाई बाउ भन्नुपर्दैन, म तँलाई छोरी भन्दिनँ ।’ भारतीय सेनाका हवल्दार जमुनाको बुवाको समाजमा एक खालको प्रतिष्ठा थियो । फरक जातको केटासँग विवाह गर्न आँटेर छोरीले आफ्नो इज्जतमा दाग लगाउने भई भन्ने उनलाई चिन्ता थियो ।
परिवारको स्वीकृतिबिनै खगेन्द्र र जमुनाले मन्दिरमा विवाह गरे । पछि उनीहरूकी छोरी जन्मिइन्– डेजी । अब भने जमुनाका बाबुआमालाई नातिनीको मुख हेर्ने इच्छा हुन थाल्यो । पहिले जमुनाकी आमा आइन्, त्यसपछि बाबु आए । खगेन्द्र भन्छन्, ‘पछि त म उहाँहरूको प्रिय ज्वाइँ भएँ । हाम्रो सम्बन्ध यति सुमधुर बन्यो कि ससुराबा मेरै घरमा बिते ।’
खगेन्द्रले प्रतिकूल अवस्थामा विवाह गरेका थिए । उनलाई अहिले लाग्छ– ‘मेरी आमा साक्षर भएकी भए मेरो चिठीको जवाफमा केही त लेख्थिन् होला । उनको सल्लाह–सुझाव, विरोध वा समर्थन कस्तो हुन्थ्यो होला ?’
महिनावारी हुँदाका तीन दिन फुर्सद
खगेन्द्रको जन्म पाँचथर, सुभाङको गुरुङछापका मुखिया खान्दानमा भएको हो । उनका ७ भाइ बाजेहरूमध्ये जन्तरे (छैटौँ भाइ) चाहिँ गाउँका नामी मुखिया थिए । समाजमा जन्तरे मुखियाको प्रभाव र रवाफ चर्को थियो । कतै जाँदा खगेन्द्रलाई सोधिन्थ्यो– ‘जन्तरे मुखियाको के पर्ने हौ ?’
‘नाति पर्ने हुँ’ भनेपछि उनले मेजमान, सम्मान सबै पाउँथे । खगेन्द्रका बाहरू दश भाइ थिए । दश भाइमा अंशबन्डा हुँदा उनका बाको भागमा उति धेरै जायजेथो परेन ।
खगेन्द्रकी आमाले पनि १० सन्तानलाई जन्म दिइन्– पाँच भाइ छोरा, पाँच बहिनी छोरी । खगेन्द्र आमा–बाका पाँचौँ सन्तान हुन् । एकपछि अर्को सन्तान जन्माउन, त्यसलाई हुर्काउनमै खगेन्द्रकी आमाको पूरै जवानी खर्च भयो । ‘दश सन्तानलाई गर्भमा बोकेरै मेरी आमाका आठ–नौ वर्ष बिते । उनको जीवनका बाँकी वर्षहरू पनि जन्मेका बच्चाको स्याहार र घरधन्दामै बिते,’ खगेन्द्र आफ्नी आमाका दुःख सम्झन्छन्, ‘मेरी आमा एक प्रकारले परिवारकी दासी र घरको चारसुरभित्रकी कैदीजस्ती थिइन् ।’
एउटा रोचक कुरा के छ भने खगेन्द्रका बाकी एक विधवा सम्धिनी थिइन्, तिनको नाम थियो घारे । खगेन्द्रका बा तिनलाई घारे सम्धिनी भन्थे । सधैँ सेता लुगा लाउने घारे–सम्धिनीको रवाफ र आत्मविश्वास अलि कडै थियो । उनी मात्रै खगेन्द्रका बाको खाटमा बस्ने आँट गर्थिन् ।
खगेन्द्रले थाहा पाउँदा नै आमाका काखमा प्रायः तीन बच्चा हुन्थे– एउटा ६ महिना वर्ष दिनको, एउटा दुई–तीन वर्षको र अर्को ५–६ वर्षको । तीनैजना बच्चाले आमाको काखमा बस्न मन गर्थे, त्यसका लागि झगडा गर्थे । आमाले सबै सन्तानको मन बुझाएर घरधन्दा सम्हाल्थिन् । घरमा कहिलेकाहीँ अलिकता मासु ल्याउँदा आमा सबै सन्तानको चित्त बुझाउँथिन् । खगेन्द्रलाई अहिले लाग्छ– आमाले एक बिसौली मासु पकाएर हामी सबैलाई कसरी पुर्याउँथिन् होला !
खगेन्द्रका बा ज्योतिषी थिए । उनी काला बाटुला ढुंगाको औतारमा पाञ्चायन देवीदेवताको नित्य पूजा गर्थे । हरेक दिन खगेन्द्रकी आमाको पहिलो काम हुन्थ्यो, पँधेराबाट पानी ल्याएर ती देवीदेवताका औतारहरुलाई नुहाइदिनु । घर लिपपोत गर्न, थालबटुका चोख्याउन, पखाल्न, पानी ओसार्न, खाना पकाउन, भाँडा माझ्न लगायतका काम सिध्याउन उनका लागि दिन छोटो हुन्थ्यो । ‘मेरी आमालाई महिनाको तीन दिन मात्र फुर्सद हुन्थ्यो, हरेक महिना महिनावारी भएका बेला,’ खगेन्द्र भन्छन्, ‘अहिले यसो सम्झँदा लाग्छ– ती दिन आमाका लागि उत्सव जस्तै हुन्थे । महिनामा तीन दिन भए पनि आमा दैनिक सुसेधन्दाबाट विश्राम पाउँथिन् । पर सरेपछि आमा अछुत मानिन्थिन्– चुलो टेक्न नमिल्ने, पानी छुन नमिल्ने, कथित कर्म चलेकाहरुलाई छुन नमिल्ने । त्यो ‘अछूत’ अवस्थामा आमालाई पलपलको श्रमको बोझबाट क्षणिकै भए पनि मुक्ति मिल्थ्यो, चैनले सास फेर्न पाउने मुक्ति ।’
यस्तो बेला साना छोरीहरू र व्रतबन्ध नभएका छोराहरुलाई आमाको वरिपरि बस्ने मौका मिल्थ्योे । आमा घर छाडेर कहीँ गएको खगेन्द्रलाई ज्यादै कम थाहा छ । गाउँमा आफन्तकहाँ कतै पुराण लगाउँदा पुराण सुन्नका लागि आमाले एकाध घन्टा घर छाड्न पाउँथिन् । गाउँमा कोही आफन्त सिकिस्त भए अन्तिमपटक मुख हेर्न आमा पुग्थिन् । तीन–चार वर्षमा आमा एकपटक दुई दिनको बाटो हिँडेर माइत जान पाउँथिन् । खगेन्द्र भन्छन्, ‘त्योबाहेक घरबाट आमा कहिल्यै कहीँ जान पाउँदिनथिन् । गाउँका महिलाहरू बारी र खेतमा काम गर्न जान्छन् । यसो फुर्सद हुँदा सास फेर्न हाट भर्न जान्छन् । तर घरधन्दाकी कैदी मेरी आमालाई फुर्सदै हुँदैनथ्यो ।’
आफूलाई चित्त नबुझेका कुरामा आमा चर्को स्वरमा बोलेको, आमाले आफ्ना इच्छा प्रकट गरेको वा कुनै कुरामा गुनासो गरेको खगेन्द्रका कानले कहिल्यै सुनेनन् । उनले आमामा सधैँ धैर्य, सहनशीलता र घरधन्दाप्रतिको लगनशीलता मात्रै देखे । यसको कारणमा खगेन्द्र भन्छन्, ‘मुखिया खलक भनेको सामन्ती परिवार हो । सामन्ती परिवारमा घरमूली पुरुष राजा हुन्छ । यस्तो परिवारका लागि सबैभन्दा ठूलो हुन्छ भगवान्, भगवानमुनि राजा, त्यसपछि बाउ । हाम्रो घरमा बाउ मात्रै बोल्थे । हामी सबै चुपचाप । बाउसँग आँखा जुधाएर हेर्न पनि डर लाग्थ्यो । राज्यका लागि राजा जस्तो हो, परिवारका लागि बाउ त्यस्तै ।’
बा घरबाट कतै निस्केका बेला खगेन्द्रकी आमाको बोली फुट्थ्यो । आगो ताप्न अँगेनाछेउमा र भात खान चुलामा बाका लागि छुट्टै ठाउँ थिए । बा बस्ने पिरा छुट्टै, बाले भात खाने थाल छुट्टै, यी दुवै ठुल्ठूला थिए । बाहिर पिँढीमा बाका लागि खाट थियो । खाटमा खगेन्द्रका बा वा ठुलाबडा पुरुषहरु मात्रै बस्थे । महिलाहरू त्यो खाटमा बस्दैनथे ।
एउटा रोचक कुरा के छ भने खगेन्द्रका बाकी एक विधवा सम्धिनी थिइन्, तिनको नाम थियो घारे । खगेन्द्रका बा तिनलाई घारे सम्धिनी भन्थे । सधैँ सेता लुगा लाउने घारे–सम्धिनीको रवाफ र आत्मविश्वास अलि कडै थियो । उनी मात्रै खगेन्द्रका बाको खाटमा बस्ने आँट गर्थिन् ।
यस्तो आँट महिला महलकी घारे सम्धिनीमा कसरी आयो होला ? खगेन्द्र भन्छन्, ‘विधवा भएपछि घरको सारा कारोबार उनैले हेर्नुपर्‍यो । परिवारको सगर उनैले थाम्नुपर्‍यो । घरमूली पुरुषले झैँ उनले अनेक काममा गाउँ घुम्नुपर्‍यो । खेत धाउनुपर्‍यो । हाटबजार जान उकालो लाग्नुपर्‍यो । नाना किसिमका समस्यासँग जुध्नुपर्‍यो । व्यक्तिसँग, समाजसँग, प्रकृतिसँग जुध्नुपर्‍यो । मलाई लाग्छ, घारे सम्धिनीको रवाफ र आत्मविश्वासको मुहान उनले झेलेका यी अनेकओली झैझमेला र उनले वहन गरेको पारिवारिक जिम्मेवारी हो । सिंगो परिवारको सत्ता थाम्न चाहियो नि आँट र ठाडो शिर !’
बा घरमा नभएका बेला कहिलेकाहीँ खगेन्द्रकी आमा त्यो खाटमा बस्न पुग्थिन् । बस्नुअघि चनाखा दृष्टिले यताउता हेर्थिन् । मानौँ, त्यो खाटमा बसेर उनले ठूलै अपराध गर्दै छन् ।
आमाले बोल्ने, हाँस्ने र दुःख परेका बेला रुने हक र फुर्सद पाएको खगेन्द्रले कहिल्यै देखेनन् । एकपटक आमाका दाइ अर्थात् उनका मामा बितेको खबर आयो । यो खबर उनका बाले ल्याएका थिए । त्यतिबेला उनकी आमा जाँतो पिस्दै थिइन् । खबर सुन्नेबित्तिकै आमा जाँतो घुमाउँदै रोइन्, खगेन्द्र पनि कुरै नबुझी आमासँगै रोए । आमा रोएपछि पक्कै केही नराम्रो भयो भन्ने उनलाई परेछ ।
०१५ सालको चुनावको दिन आयो । बा र दाइहरु भोट हाल्न गए । यता घरमा खगेन्द्रकी नौ महिनाकी कान्छी बहिनीलाई बिमारले चाप्यो । आमाले उनलाई अह्राइन्, ‘कान्छा, ऊ... पर गएर त्यो जडिबुटी लिएर आइज त ।’ छोरी काखमा हुनाले आमाले खगेन्द्रलाई अह्राएकी थिइन् । बाह्र वर्षका अटेरी खगेन्द्रले आमालाई टेरेनन् । आमाको पालो उनलाई गालामा प्याट्ट हिर्काइन्, उनी हुँक्कहुँक्क रोए ।
१ फागुन ०५२ मा माओवादीले जनयुद्धको उद्घोष गर्यो । पत्रपत्रिकामा दरबारविरुद्ध लेख्ने भएकाले फागुन ६ गते खगेन्द्रलाई चावहिल चोकबाट अपहरणको शैलीमा पक्राउ गरियो । ‘पक्राउपछि मलाई बेपत्ता पारेर मार्ने अवस्था थियो,’ खगेन्द्र तत्कालीन परिस्थिति सम्झन्छन्, ‘कान्तिपुर दैनिक, अनेक साप्ताहिक अखबार र विभिन्न मानव अधिकार संस्थाले ठूलो स्वरमा हल्ला मच्चाएकाले म जिउँदै बाहिर निस्केँ ।’
सिकिस्त बहिनीलाई रोगले झन्झन् चाप्दै लग्यो । घाँटी घ्याघ्र्यार भयो, उनका आँखा पर्लक्क पल्टिए र उनको सास गयो । आमा कोकोहोलो मच्चाउँदै रुन थालिन्, खगेन्द्र पनि आमासँगै रोए । बहिनी बितेपछि उनको मनमा लाग्यो– मैले त्यो जडिबुटी ल्याएको भए बहिनी बाँच्थिन् कि ! अहिले पनि यदाकदा यो घटनाको सम्झना हुँदा उनलाई भित्र कतै पिरोल्छ ।
लोग्ने मान्छेले जुठो भाँडो छुन नहुने, गाग्री छुन नहुने, भान्साको काम गर्न नहुने रुढ सामाजिक मान्यता थियो । यस्ता काम गर्दा उसको नाक काटिन्थ्यो । के आमालाई घरको कामधन्दा नसघाएकोमा खगेन्द्रलाई खेद छ ? उनी भन्छन्, ‘समाज अलि उदार भएको भए, संस्कृति अलि मानवीय भएको भए, र नारी र पुरुषको बीचमा आधारभूत समानताको नाता भएको भए, छोराहरूले पनि घरधन्दमा हात बढाउँथे होलान् । म पनि आमालाई सघाउँथे हुँला । के गर्ने, त्यो जमाना त्यस्तै थियो !’
आमाका अर्ति र खगेन्द्रको अध्ययन
१ फागुन ०५२ मा माओवादीले जनयुद्धको उद्घोष गर्यो । पत्रपत्रिकामा दरबारविरुद्ध लेख्ने भएकाले फागुन ६ गते खगेन्द्रलाई चावहिल चोकबाट अपहरणको शैलीमा पक्राउ गरियो । ‘पक्राउपछि मलाई बेपत्ता पारेर मार्ने अवस्था थियो,’ खगेन्द्र तत्कालीन परिस्थिति सम्झन्छन्, ‘कान्तिपुर दैनिक, अनेक साप्ताहिक अखबार र विभिन्न मानव अधिकार संस्थाले ठूलो स्वरमा हल्ला मच्चाएकाले म जिउँदै बाहिर निस्केँ ।’
त्यसपछि खगेन्द्र काँकडभिट्टा गए, जहाँ जेठा दाइको घरमा उनकी आमा बस्थिन् । छोराको तीलचामले कपाल मुसार्दै उदेकको लबजमा आमाले भनिन्, ‘तँलाई त मारे होला भन्थे, ज्युँदै आइछस् त !’ साँघुरो घरमा खगेन्द्र र आमा सुत्ने कोठा एउटै भयो । राति अबेलासम्म पढ्ने उनको बानी थियो । आमाले सोधिन्, ‘कान्छा, तँ सुत्या छैनस् ? हैन, तेरो अझै जाँच दिन बाँकी छ र ?’
उनकी निरक्षर आमालाई लाग्दो हो— पढ्नु भनेको अक्षर चिन्नु, जाँच दिनु, पास हुनु, जागिर खानु र पैसा कमाउनु मात्र हो । जाँच पास भइसक्या भए छोरो आँखा बिगार्न किन रातभरि पढ्थ्यो ?
०००
खगेन्द्रका ज्योतिषी बा समेतले गाउँमा गुरुकुल शैलीको स्कुल खोलेका थिए । बा धुलौटोबाट छोराछोरीलाई कखरा चिनाउँथे । २०१३ सालमा गाउँमा आधुनिक काइदाको मिडिल स्कुल खुल्यो, र खगेन्द्र त्यसमा भर्ना भए । उनको भेगका मानिसले हाइस्कुल पढ्न तमोर नदीपारि तेह्रथुमको आठराई पुग्नुपथ्र्यो । पारि चुहानडाँडाको भानु हाइस्कुलबाट उनले एसएसली गरे । र त्यहीँको वीरेन्द्र इन्टर कलेजबाट आईए गरे । त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए ।
अँ, पहिलोपटक धेरै दिनका लागि आमालाई छाडेर खगेन्द्र गएको त्यही तमोर नदीपारि हो, हाइस्कुल पढ्न । आमाले अलिकति पुवा पकाइन् । र छोरो हिँड्ने बेलामा पुवाको पोको दिँदै भनिन्, ‘बाटामा भोक लागेपछि यो खानू । नाउ (डुंगा) चढ्नुपर्छ, नदीमा ठूलो भेल हुन्छ, नडराउनू, नबग्नू, फर्केर आउने गरी जानू । तँ अर्काको घरमा जाँदै छस्, त्यहाँ घुर्की लाउन पाइँदैन, धाक लाउन पाइँदैन, रोइकराइ गर्न पाइँदैन, भलादमी भएर बस्नू । जे दिन्छन्, त्यो खानू । झगडा नगर्नू, ठूलो मान्छे हुने गरी पढ्नू ।’
आमाबाट खगेन्द्रले के सिके त ? उनी उत्तर दिन्छन्, ‘मैले अघि पनि भनेँ– मेरी आमाको सबैभन्दा ठूलो गुण धैर्य, सहनशीलता र पारिवारिक जिम्मेवादीप्रतिको लगनशीलता थियो । त्यो धैर्य र सहनशीलता कति मेरी आमाको नैसर्गिक गुण थियो, कति बाहिरी परिस्थितिबाट थोपरिएको बाध्यता थियो । मैले आमाबाट सिक्नुपर्ने धैर्य र लगनशीलता सिकिनँ ।
आमाको अर्ति मानेर खगेन्द्र भलादमी भएर बसेनन्, विद्रोही भएर उठे । उनले पाठ्यक्रमका पुस्तक मात्रै पढेनन्, बाहिरी पुस्तक पनि पढे, समाज पढे । समाजका विभेद र विकृतिविरुद्ध उनी बोल्न थाले, शासकका शोषण र समाजको अज्ञानतालाई औँल्याउन थाले ।
उनले आठराईमा हाइस्कुल पढ्दा त्यहाँ कोही सुटुक्क कांग्रेस भनेर चिनिन्थे, कोही सुटुक्क कम्युनिस्ट भनेर चिनिन्थे । त्यहाँ साहित्यिक गोष्ठीहरू र वादविवाद प्रतियोगिताहरु हुन्थे । विद्यालय र कलेजका वार्षिकोत्सवमा नाटक–प्रहसन देखाइन्थे । जाग्दो जनचेतनासँगै बालविवाह लगायत कुप्रथाको विरोध हुन थाल्यो । अन्याय, अत्याचार गर्ने मुखियाविरुद्ध आवाज उठ्न थाल्यो ।
यस्ता गतिविधिले खगेन्द्रको चेतनाको आयाम बढाउँदै लग्यो । संयोगले उनलाई पढाउने एक शिक्षक भानुभक्त पोखरेल, जो वाम झुकावका रहेछन् । यो कुरा खगेन्द्रलाई पछि थाहा भयो । यिनै गुरुहरुको संगतबाट प्रेरित भई उनले साहित्यका पुस्तक पढ्न थाले । समाज सुधार, सामाजिक आन्दोलन, परिवर्तन इत्यादिमा उनको रुचि बढ्दै गयो । पछि ०२३ सालमा आईएको जाँच दिन उनी काठमाडौं आए । उनको भाषामा त्यतिबेला काठमाडौं एक किसिमले लाल भएको थियो । चीनमा माओको नेतृत्वमा लालक्रान्ति सम्पन्न भई सांस्कृतिक क्रान्ति चलिरहेको थियो ।
सूचना, विचार, कला, प्रविधि आदि फैलाउने चिनियाँ सामग्रीहरू काठमाडौंमा प्रशस्त आउँथे । ती सामग्री कतिपय सित्तैमा पाइन्थे, मोल तिर्नै परे पनि ती निकै सस्ता थिए । काठमाडौंँ आएपछि उनको संगत लाल विद्यार्थीसँग हुन थाल्यो । उनी भन्छन्, ‘अनि आफू पनि लाल भइयो, अथवा हुन खोजियो ।’
पत्रपत्रिकामा खगेन्द्रका कविता–कथा छापिए । पछि पुस्तकहरू प्रकाशित भए । तर, उनकी आमालाई यसबारे कुनै पत्तो भएन । कसैले आमालाई तिम्रो छोरो लेखक भएछ त भने होलान् । आमाले अमिनीको लेखन्दास भन्ने त सुनेकी हुँदी हुन्, उनलाई लेखक भनेको के थाहा ? खगेन्द्रको मनमा खट्किरहन्छ– मेरी आमा साक्षर भएकी भए मेरा लेख–रचना पढ्थिन् होला । हामीबीच कुरा गर्ने विविध विषय बन्थे होला । ‘आमा र मबीच त्यति धेरै बातचित हुँदैनथ्यो । बात मार्ने विषय भनेकै त्यही घर–व्यवहार, वरपर, नातागोता, इष्टमित्र, तलमाथि, सुखदुःख, सहकाल, अनिकाल आदि हुन्थ्यो । देश दुनियाँ, समाज, राजनीति, दर्शन, कला, क्रान्ति जीवन, मृत्यु इत्यादिबारे लामो बातचित हुने कुरै थिएन । कुरा गर्नलाई कुरा सकिएर हामीबीच सन्नाटा छाउँथ्यो । र, मलाई आमा निरक्षर र अशिक्षित भएकोमा बडो नरमाइलो लाग्थ्यो ।
आमाबाट खगेन्द्रले के सिके त ? उनी उत्तर दिन्छन्, ‘मैले अघि पनि भनेँ– मेरी आमाको सबैभन्दा ठूलो गुण धैर्य, सहनशीलता र पारिवारिक जिम्मेवादीप्रतिको लगनशीलता थियो । त्यो धैर्य र सहनशीलता कति मेरी आमाको नैसर्गिक गुण थियो, कति बाहिरी परिस्थितिबाट थोपरिएको बाध्यता थियो । मैले आमाबाट सिक्नुपर्ने धैर्य र लगनशीलता सिकिनँ । सिक्न खोजेको भए म योभन्दा धेरै राम्रो लेखक बन्दो हुँ । मेरा आदर्श त बाबु थिए । बाबु घर खर्चको जोहो गर्थे । मैले बाबुबाट केही अहंकार सिके हुँला, केही तामस सिके हुँला, केही मुखियापन सिके हुँला ।’
‘आमाको नामै गलत लेखेँछु’
जीवनको उत्तरार्द्धतिर बिरामी परेपछि आमा चावहिलस्थित खगेन्द्रको घरमा आइन् । त्यहीँ ८३ वर्षको उमेरमा उनले संसार छाडिन् । आमाको मृत्यु हुँदा खगेन्द्रले आधा शताब्दी उमेर काटिसकेका थिए । भौतिकवादमा विश्वास गर्ने उनलाई आमाको काजकिरियामाथि विश्वास थिएन । यसमा उनको भनाइ साधारण थियो– ‘आमालाई हेर्ने भनेको बाँचुञ्जेल हो । आमा मरेपछि कोरामा बसेर, पिण्डपानी दिएर, गौदान गरेर हुनेवाला केही छैन । यो संस्कारमा मेरो विश्वासै नभएकाले आफ्नो विश्वास विरुद्ध म आमाको काजकिरिया किन गरुँ ?’
खगेन्द्रका दाजुहरुले आमाको काजकिरिया गरे । उनी दाजुहरूलाई सघाएर कोराबाहिरै बसे । ०२१ सालमा बुवाको निधन हुँदा उनको व्रतबन्ध भएको थिएन र काजकिरिया गर्नुपरेन । उनी आमाको किरिया नबस्दा एकाघरका दाजुभाइ र दिदीबहिनीको त्यति आपत्ति भएन । फुपूहरू लगायत आफन्त र समाजका परम्परावादी विचारका मानिसले भने भयङ्कर विरोध गरे । खगेन्द्र भन्छन्, ‘म त यस्तो घेराउमा परेँ कि मेरो सानो सार्वजनिक नाम र प्रतिष्ठा नहुँदो त मलाई लुछेर थला पार्थे । मेरो मौनव्रतले गजप काम गर्यो । कराउनेहरु आफैँ थाकेर धारेहात लाउँदै बाटो लागे ।’
यस कुराले खगेन्द्रलाई शान्त रहन दिएन । काजकिरिया माथिको मिथ्या विश्वास र यसका माध्यमबाट शोकाकूल जनमाथि थोपरिने थप पीडा र ठगीबारे केही लेख्न उनले जरुरी ठाने । खगेन्द्र भन्छन्, ‘शुरुमा मैले काजकिरिया किन गरिनँ’ भनी एउटा सानो चिठी पठाएँ ऊबेलाको हिमालय दैनिक पत्रिकामा । त्यो पत्रिकामा मेरो स्तम्भ थियो— आजाद चौतारी । अखबारका रचना–सम्पादक थिए मित्र गोविन्द अधिकारी, जो अहिले बाह्रखरी अनलाइनमा छन् । ‘प्रिय गोविन्द’ भनी सम्बोधनमा लेखिएको चिठीमा मैले आमाको काजकिरिया नगर्नुको कारण उल्लेख गरेको थिएँ ।’
त्यो चिठीमा खगेन्द्रले आमाको नाम नर्वदादेवी लेखेछन् । चिठी छापिएर झापा पुग्यो । खगेन्द्रका दिदी–बहिनीहरू चिठी पढेर रोए । किन ? आमाको नामै गलत छापिँदा उनीहरूको मन दुखेछ । ‘मलाई त आमाको नामै थाहा रहेनछ । आमाको नाम थाहा पाउनुपर्ने कुनै कारण नै थिएन,’ खगेन्द्र भन्छन्, ‘सन्तानको न्वारनमा आमाको नाम नचाहिने । कुनै पनि कर्मकाण्डमा आमाको नाम नचाहिने । नाम चाहिने नै रहेछ भने पनि त्यसको हेक्का राख्नुपर्ने कुनै कारण नहुने । तमसुक, लेनदेन कारोबारमा आमाको नाम नचाहिने । अनि मलाई आमाको नाम थाहा होस् कसरी ? पढेको भए शिक्षाको माध्यमले नाम चिनिन्छ । त्यहाँ नाम लेखिन्छ, नाम बोलइन्छ, हाजिरी हुन्छ । प्रमाणपत्रमा नाम लेखिन्छ । तर मेरी आमाले स्कुल जान पाएकी भए पो !’
खगेन्द्रकी आमाको नाम भागिरथा रहेछ । नर्वदा भनेको नदीको नाम हो, भागिरथा भनेको पनि नदीकै नाम हो । खगेन्द्रको मनमा आमाको नाममा नदीको विम्ब बनेछ र सम्झेछन्– नर्वदादेवी । नवप्रतिभा मासिकले छापेको समवेदनामा पनि नर्वदादेवी संग्रौला नै लेखिएछ ।
त्यसपछि खगेन्द्रले ‘आमा र यमदूत’ किताब लेखे । यो किताब हिन्दु कर्मकाण्डको हतियाररुपी गरुड पुराणको आलोचनात्मक चिरफार हो । उनको बुझाइमा गरुड पुराण मानव मस्तिष्कद्वारा रचित सबैभन्दा विभेदकारी र अमानवीय किताब हो । यसले यसै पनि प्रियजनको मृत्युबाट मनमा ठूलो चोट लागेकाहरुलाई झनै आहत तुल्याउँछ र तिनको आहत एवं दमित मनोदशालाई अझ धुजाधुजा पार्दैै दान–दक्षिणाका नाउँमा तिनलाई ठग्छ । आमा र यमदूतहरुमा खगेन्द्रले गरुड पुराणको निर्मम चिरफारसँगै आफूले आमाको काजकिरिया नगर्नुको स्पष्टीकरण र काजकिरिया नगर्दा झेल्नुपरेको हुर्मतको शब्दचित्र उतारेका छन् ।
०००
शनिबार एकाध घन्टाको बसाइमा खगेन्द्रले आमाको विचार र व्यवहारको एउटा कारुणिक विम्ब हाम्रा सामु प्रस्तुत गरे । सुन्दै जाँदा हामीलाई भने यस्तो लाग्दै थियो– संग्रौलाभन्दा कतै उनकी आमा त क्रान्तिकारी होइनन् ? समाजले बनाएको विधि र परम्पराको सुरुङ र साङ्लोमा उनकी आमा बाँचेकी थिइन्, र उनले त्यहीँबाट संसारलाई नियालेकी थिइन् । तैपनि जातभेद नगर्ने उनको त्यो अद्भुत समझ र आँट आफैँमा एउटा क्रान्ति होइन र ?